अमिलिया, १९ जेठ । हातमा गैँती, कुटो र फरुवा लिएका महिलाहरु जसले पिउने पानीको समस्या समाधानका लागि गाउँमा महिला नेतृत्व गर्दै सार्वजनिक कुवा निर्माण गरेका छन् । समाजमा पुरुषसरह महिलाले पनि केही गर्न सक्छन् भन्ने कुरालाई अमिलियाका थारु महिलाहरुले उदाहरणसहित प्रमाणित गरेका छन् ।
बढ्दो गर्मीसँगै पिउने पानीका मुहानहरु सुक्दै गएपछि लमही नगरपालिका–९ गायत्री टोलका थारु महिलाहरुले आफ्नै सक्रियतामा कुवा निर्माण गरेका हुन् । गाउँमा ३० घरका उपभोक्ताका लागि एउटै कुवा रहेको छ ।
लमही नगरपालिका वडा नं. ९ गायत्री टोलकी बाँधी चौधरीले भनिन् ‘एक थो कुवक पानी ३० घरक मनै पिना बर्खाम भल, घाम छ्याँक सुक्खा ।’ अर्थात् गाउँमा एउटै कुवा छ, बर्षातको समयमा त्यहि कुवामा पनि भल पस्दा धमिलो पानी पिउने पर्ने बाध्यता छ ।
वर्षातको समयमा धमिलो पानी पिउनु पर्ने, गर्मीयाममा पिउने पानीका लागि मध्यरातको १२ बजेदेखि अन्य कुवा धाउनुपर्ने समस्या दशकौँ पहिलेदेखि यथावत रहेको सोही टोलका जेष्ठ नागरिक लालबहादुर चौधरीको भनाइ छ । उनले भने ‘हाम्रो जीवनमा राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्र व्यवस्था आयो तर हाम्रो लागि शुद्ध पिउने पानी आएन ?’
लमही नगरपालिका ९ अमिलियाका स्थानीयबासीहरुका लागि दीर्घकालीन शुद्ध पिउने पानी व्यवस्थापन गर्नका लागि जगदीश प्रसाद द्विवेदीको अध्यक्षतामा अमिलिया पम्पिङ खानेपानी उपभोक्ता समितिको पहलमा बोर्डिङ सम्पन्न भैसकेको छ ।
बोर्डिङ सम्पन्न भएपनि बजेट अभावको कारण टंकी निर्माण नहुँदा ‘आकाशको फल आँखा तरि मर’ भएको जस्तै भएको स्थानीय धनवीर वलीको भनाइ छ ।
उपभोक्ता समितिका अध्यक्ष द्विवेदीले भने ‘तीनतहको सरकार छ आश्वासन सबैबाट पाइन्छ, काम अपेक्षित हुन नसक्दा एक वर्षभित्र अमिलियाबासीको घर–घरमा शुद्ध पिउने पानी पु¥याउने लक्ष्य पूरा गर्न सकिएको छैन ।’
चालु आर्थिक वर्ष ०७४÷७५ मा पानी व्यवस्थापन तथा कुवा निर्माणका लागि लमही नगरपालिका वडा नं. ९ ले ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर वडा कार्यालयबाट विनियोजित रकम नपुग्ने भएपछि गायत्री टोलका महिलाहरु आफैले कुवा निर्माण गर्न थालेका हुन् । टोलका थारु महिलाहरु प्रभा दहित, आशा चौधरी, कमला चौधरी, सावित्रा दहित, रीता दहित,
हिरा दहित, अनिता चौधरी लगायतले सक्रिय भएर गाउँमा मात्र नभई सबैका लागि उदाहरणीय काम गरेका छन् । कुवा निर्माण उपभोक्ता समिति उपभोक्ता अध्यक्ष पार्वती चौधरीले भनिन् ‘४० डिग्री गर्मीमा चिसो शुद्ध पानी सम्झिदै कुवा खन्न थालेका छौँँ ।’
यस्तै गायत्री टोलकै अनिता चौधरीले भनिन् ‘थारु मनै घरे नै हुइता के कोर्दे कुँवा ?’ अर्थात् रकम थोरै भए पनि कुवा खन्नु पर्नेछ घरमा पुरुष मान्छे छैनन् सक्ने काम महिलाले गर्दा के हुन्छ ?
महिला पुरुषमा कामको विभेद अन्त्यसँगै खानेपानीको तत्कालको समस्या समाधान हुने कुवा खन्ने सहभागी एवं शिक्षक रीता दहितले भनिन् ।
गाउँका काकी, भाउजू, बहिनीहरुको सहकार्यमा कुवा निर्माण हुने भएपछि स्थानीय टोलबासीहरु खुशी भएको सोही टोलका गायत्री टोलका प्रदिप दहितले बताए ।
उनले भने ‘निर्माणसँगै सामाजिक दायित्वबोध गराउँदै गृहिणी महिलाहरुलाई हरेक स्थानमा सक्रिय गराउनुपर्छ ।’ सरकारले बाटो देखाए । हरेक नागरिक सहकार्य गर्न तयार रहेको स्थानीयबासीहरुको भनाइ छ ।
कुवा खन्नुपरेमा गायत्री टोल अमिलिया दाङका थारु महिलाहरुसँग सहकार्य सकिने पनि उनीहरुले बताए ।
