कुमालको मादल व्यवसाय

फिचर मुख्य खबर समाज

देउखुरी, ९ कात्तिक । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवाका ६४ बर्षिय टंक बहादुर कुमाललाई यतिबेला मादल बनाउन भ्याई नभ्याई छ । मादल बनाउने उनको पेशा नयाँ भने होइन । बाबु बाजेको पालादेखि शुरु गरेको यो काम अहिले जीवन चलाउने गतिलो माध्यम बनेको छ । १२ बर्षको सानै उमेरमा आफ्नो बाबुले गरेको देखेर उनले पनि यो पेशा सिकेका हुन् । ज्याला मजदुरीका लागि अन्यत्र नगएर बाबुले मादल बनाएको देखेर सिको गरे आज त्यहि सीप बेचेर दैनिकी चलाई रहेको छु कुमालले भने, एउटा मादल बनाउन कम्तिमा पनि दुई दिन लाग्ने गरेको छ । मादल बनाउन चाहिने सामाग्री पहिलेको तुलनामा अहिले पाउन सजिलो छैन, तर पनि ब्यवसाय फस्टाउँदो छ, कुमालले भने ।
हाम्रो सामुदायिक वनमा छैन अन्य सामुदायिक वनबाट ल्याउँदा एउटा मादल बनाउने घमको एक हजार पर्दछ । त्यसलाई प्वाल पार्नको लागि गाउँमै एकजना छन् उनले ७ देखि ८ सयसम्म ज्याला लिएर बनाउने गर्दछन कुमाले भने । मादल बनाउन किट (गोटी), छाला काठको आवश्यकता पर्दछ । कुमालका अनुसार गाउँघरमा हुने विवाह, पूजा, मेला, चाडपर्वमा बजाईने मादल अहिले साउण्ड सिस्टम बजाएर लोप गराइएको छ । विशेषगरेर मादलको घम बनाउन प्रयोग गरिने काठ खमारी जातको अति उत्तम मानिन्छ तर, यो काठ नभए पनि अन्य कलम, विजयसाल, करी, गुलमोहरजस्ता काठबाट पनि बनाउन सकिने हुँदा केही सहज हुने गरेको कुमालले बताए । दुई दिन लगाएर तयार बनाएको एकवटा मादल ३ देखि ८ हजारसम्ममा बिक्री हुन्छ । साइज हेरेर मुल्य निर्धारण हुन्छ कुमालले भने, पुरानो मादल मर्मत गर्दा भने सस्तोमा गर्ने गरेको छु । शुरु–शुरुमा तीजदेखि माघसम्म पहाडी र थारु समुदायको खुब माग हुन्थ्यो मादलको, अब डिजे साउण्ड सिष्टमले गर्दा मादलको माग घटेको छ । यसका साथसाथै कच्चा पदार्थको पनि अभाव रहेको उनले बताए । पुराना–पुराना मान्छेहरुले खसी बोका काट्दा पनि छाला निकाल्नु पर्छ मादल बनाउँदा काम लाग्छ भनेर भन्थे, निकाल्थे अबकाले त छालैसँग मासु खादा छाला पाउन पनि मुस्किल परेको छ । कुमालले बनाएका मादल दाङ लगायत काठमाडाँै, प्यूठान, बुटवलसम्म पुग्ने गरेका छन् । टाढा–टाढाबाट मादलको माग भएर आउँछ तर आफूसँग कच्चापदार्थ अभावका कारण माग पूरा गर्न नसकेको उनले बताए । ६ भाइ छोरा र ४ छोरीका बाबुसमेत भएका कुमालले यही पेशाबाट सबै सन्तानलाई ब्यवस्थित बनाउन पनि सफल भएका छन् । कुमालका तीन छोराहरु सरकारी जागिरे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *