किसानलाई प्लाष्टिक टनेल

मुख्य खबर समाज

दंगीशरण, ३ असार । दंगीशरण गाउँपालिकाअन्तर्गत कृषि शाखाले किसानहरुलाई थोपा सिंचाईसहित प्लाष्टिक टनेल वितरण गरेको छ । कृषि शाखाले सोमबार एक कार्यक्रमका बीच थोपा सिंचाईसहित प्लाष्टिक टनेल वितरण गरिएको हो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाभित्रका लगनशील कृषक समूह, शुभ बिहानी कृषक समूह, महंगु स्मृती महिला कृषक समूह, पशुपती कृषक समूह,
हरियाली टोल नमुना कृषक समूह, रानीवन कृषि सहकारी सस्ंथा, मनिषा कृषि सहकारी समूह, बुलबुलैया कृषक समूह गरी आठवटा कृषक समूहलाई वितरण गरिएको हो ।
सामग्री गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बोल्दै अध्यक्ष चौधरीले सामाग्रीहरुको सहि तरिकाले सदुपयोग गर्न किसानहरुलाई आग्रह गरे ।
अध्यक्ष चौधरीले किसानहरुको माग र समस्यालाई मध्यनजर गरेर गाउँपालिकाले यस्तो खालको कार्यक्रमको आयोजना गरेको भन्दै किसानहरुले राम्रो उपलब्धि गरेमा अबका दिनमा पनि कृषि क्षेत्रमा अझ धेरै लगानी गर्न सकिने बताए ।
उनले भने ‘म दंगीशरणका कृषकहरुको राम्रो आम्दानी भएको हेर्न चाहन्छु यसका लागि तपाईहरु मेहनत गर्नुस् सहयोग गाउँपालिकाले गर्छ ।’
उक्त अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले कृषकहरुका लागि गाउँपालिकाले गरेको लगानी खेर नजाने कुरामा आफू ढुक्क रहेको भन्दै कृषि क्षेत्रलाई बलियो बनाउनुतर्फ लाग्नुपर्ने बताईन् ।
थोपा सिंचाईसहित प्लाष्टिक टनेललगायतका सामाग्री गाउँपालिकाले उपलब्ध गराएको भन्दै किसानहरु खुसी भएका छन् । उनीहरुले समयमै कृषकहरुका लागि आवश्यक बिउबिजनदेखि कृषि सामाग्री प्रदान गरीदिन उनीहरुले आग्रह गरे ।
०७५/०७६ को स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो । कृषि शाखा प्रमूख सरु भुसालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण कृषि शाखाकी उपप्रमुख दिलमाया कँवर पौडेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *