किन बढ्दै छ स्वमरण

फिचर मुख्य खबर

तुलसीपुर, २२ साउन । पछिल्लो समय दाङलगायत देशभरी आत्महत्या (स्वमरण)का घटनाहरु दैनिक बढेको देखिएको छ । दाङमा पछिल्लो समय दैनिकजसो आत्महत्याका घटनाहरु बढ्दै गएका छन् ।
दाङमा साउन २० गते सोमबारमात्रै तीनजनाले आत्महत्या गरेका छन् । प्रहरीले साउन महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा आठजनाले आत्महत्या गरेको जनाएको छ । प्रहरीले दिएको पछिल्लो तथ्याङ्कमा बैशाखदेखि साउनको हालसम्ममा १४ जनाले स्वमरण (आत्महत्या) गरेका छन् । बैशाखमा १, असारमा ४ जनाले आत्महत्या गरेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा अधिकांश महिला रहेको प्रहरीको भनाई छ । २० देखि ५० वर्ष उमेर समूहकाले बढी मात्रामा आत्महत्या गर्ने गरेको प्रहरीले तथ्यांक राखेको छ । १० वर्षका बालबालिकाले पनि दाङमा आत्महत्या गरेको घटना रहेको दाङ प्रहरीले बताएको छ ।
आत्महत्याका घटना बढ्दै गएपनि आत्महत्याका कारण खासै खोज्ने गरिएको छैन । बढ्दै गएको मानसिक तनाव, पारिवारिक विचलन, गरिबी, बेरोजगार, वैदेशिक रोजगारलगायतका कारण आत्महत्याका घटना बढ्दै गएको अनुमान लगाइने गरेको छ ।
अधिकांश आत्महत्याका घटना चरण निराशाका कारण हुने गरेको प्रहरीको अनुमान छ । सामाजिक निराशाको कारण आत्महत्या बढी हुने गरेको मानसिक रोग विषेशज्ञ अजय रिसालले बताए । ‘आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको छ तर शिक्षा, स्वास्थ्य, बेरोजगारी,
चरम अभाव, गरिबीलगायतका कारण पनि मानिस आत्महत्या गर्न बाध्य भएजस्तो देखिन्छ’ उनले भने ‘आत्महत्याका कारणबारे हामीले बेलैमा समस्या पहिचान गर्न सकेनौँ भने यसले विकराल रुप लिने देखिन्छ, घरपरिवारदेखि समाज यसबारे बेलैमा चनाखो बन्न आवश्यक छ ।’

प्रहरीको तथ्याङ्कमा चालु आर्थिक वर्षको साउनमा मात्रै आठ जनाले आत्महत्या गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर आत्महत्या गर्ने मुलुकमध्ये नेपाल सातौँ स्थानमा छ । जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले दाङमा आत्महत्याको घटना बढ्दै गएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए । ‘आत्महत्या यस्तो अपराध हो, यसले समाजलाई नै नकारात्मक दिशातर्फ लैजान्छ’ उनले भने ‘यस्ता घटना हुनै नदिनका लागि कदमहरु चालिनुपर्छ ।’
कसरी रोक्ने ?
‘मानिसले जान–नजानी गर्ने आफूले आफैलाई गर्ने हत्याका घटना रोक्न सामाज र परिवारको महत्वपूर्ण दायित्व हुन्छ’ मानसिक रोग विशेषज्ञ डा. रिसालले भने ‘समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीका रुपमा लिने गरिए पनि तर यो सत्य होइन,
धेरैको आत्महत्या रोजाइ होइन, सामाजिक परिबन्द हो । आत्महत्या गर्नुभन्दा अगाडि समाज र परिवारबाट आवश्यक सहयोग खोजेका हुन्छन्, आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो तर बाँच्न पाउने अधिकारको बहसमा आत्महत्या नै छुटेको छ ।’
आत्महत्यालाई भावना र व्यक्तिगत वा पारिवारिक कमजोरीका रुपमा लिइनु हुँदैन । सामाजिक मुद्दाका रुपमा हेरी समाजलाई बुझाउन परिवारले सहयोगी भूमिका खेल्नुपर्छ ।
आत्महत्याको संख्या न्यूनीकरण गर्न नेपालमा प्रशस्त रोजगारीका अवसर आर्थिकरुपमा सक्षम बनाउनुपर्ने देखिन्छ । अझै त्योभन्दा बढी मानसिक अस्वस्थता सिर्जना गर्ने प्रमुख कारण गरिबी, सामाजिक असमानता, द्वन्द्व, बेरोजगारी, भौगोलिक विकटता, जातीय भेदभाव, लैंगीक विभेद, सामाजिक बहिष्करण, दण्डहीनतालाई सम्बोधन गरिनुपर्छ ।
‘आत्महत्या गर्नेहरुको मनोवैज्ञानिक पोस्टमार्टमबाट ९९ प्रतिशतले अघिल्लो साता कुनै न कुनै रुपमा आत्महत्या गर्ने विचार वा मर्ने कुरा गरेकै हुन्छ’ डाक्टर रिसालले भने ‘निराशाजनक कुरा तथा व्यवहार देखाएको हुन्छ, आफूलाई मनपर्ने चिज अन्यलाई बाँड्न थाल्छन् ।
आत्महत्या गर्न दृढ संकल्प गरेकालाई पनि समयमा उचित कदम, सजकता, ध्यान एवं उपचार पाएमा अधिकांश आत्महत्या जस्तो दुखान्त घटनाको प्रयास तथा घटना रोक्न सकिन्छ ।
आफन्त गुमाएकालाई पनि उचित परामर्श वा उपचारको खाँचो हुन्छ । उदासीपनलाई बेलैमा चिन्न र उपचार गर्न सकियो भने संसारको आत्महत्यालाई ७० प्रतिशत कम गर्न सकिने मनोरोग विशेषज्ञ डाक्टर रिसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *