दाङ, ४ असोज । नेपालको संविधान निर्माण भएको चार वर्ष पूरा भएको छ । दाङसहित देशभर विभिन्न कार्यक्रम गरी चौथो संविधान दिवस मनाइरहँदा नागरिकले भने संविधान कार्यान्वयनको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।
संविधान निर्माण भएको चार वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा घोराहीमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले संविधान कार्यान्वयन भएको अवस्थामा संघीय,
प्रदेश तथा स्थानीय कानूनका पूर्वाधार निर्माण गर्दा केही ढिलाई भएपनि यसले गति लिएको बताए । उनले नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको भन्दै यसको कार्यान्वयनतर्फ सबै जिम्मेवार हुनुपर्ने बताएका थिए ।
संविधान नेपाली जनताको साझा उपलब्धि भएको भन्दै कार्यान्वयनका लागि सबैको प्रयास आवश्यक रहेको बताएका थिए । संविधान साझा उपलब्धि भएकाले प्राप्त उपलब्धिलाई रचनात्मक ढंगबाट आफ्ना असन्तुष्टि भए राखेर अघि बढ्न असन्तुष्ट पक्षलाई आग्रह गरे ।
संविधानलाई सबैले अपनत्व गर्ने परिपाटीको विकास गरी सबैको साझा संविधान बनाएर अघि बढ्न सक्नुपर्नेमा जोड दिए । संविधान परिवर्तनीय दस्तावेज भएकाले कुनै पनि दल विशेषको असन्तुष्टि भए रचनात्मक तथा अग्रगामी निकास दिनेगरी सुझाव दिन अनुरोध गरे ।
तर कुनै व्यक्तिगत ईच्छा आकांक्षालाई लिएर संविधानमाथि नै धावा बोल्ने चेष्टा कसैले गरेमा नेपाली नागरिकलाई सह्य नहुने तर्क गरे ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले नागरिकको हक अधिकार स्थापितका लागि संविधान निर्माण गरिएको बताए । तर अहिले हक अधिकार खोज्ने नाममा कर्तव्य भुलेको देखिएकाले अधिकार लिदा कर्तव्य पनि पालना गर्नुपर्नेमा सुझाव दिए । सार्वभौम स्वतन्त्र नागरिकका रुपमा सबैलाई स्थापित गर्न संविधानको पूर्ण कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाई थियो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकको शासन व्यवस्था नै संविधानको मूल्यमान्यता हो भन्ने भावना जगाउन सबै लाग्नुपर्ने बताए । संविधानले निर्दिष्ट गरेको आधारमा अहिले स्थानीय सरकार नागरिकको सेवामा खटिएकाले नागरिकको सकारात्मक भूमिका देखिनुपर्ने धारणा राखे ।
नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले अहिलेको सरकारको कार्यशैलीमा केही असामान्य गतिविधि देखिन थालेकाले नागरिकले खबरदारी गर्नुपर्ने र आफ्ना हक र अधिकार खोसिनबाट बचाउन जुर्मुराउनु पर्ने बेला आएको धारणा राखे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका सचिवालय सदस्य मनोहर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला रक्षक सञ्जालकी सचिव लक्ष्मी आचार्यलगायतले विचार राखेका थिए ।
दिवसको अवसरमा दाङका दश स्थानीय तहसहित विभिन्न संघसंस्थाले प्रभातफेरीलगायतका विभिन्न कार्यक्रम गरेका थिए । त्यस अवसरमा संविधान कार्यान्वयनका लागि सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने सहभागी वक्ताहरुले जोड दिएका छन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले दिवसको अवसरमा प्रभातफेरी गरेको छ । कार्यक्रममा सहभागीहरुले संविधान राम्रो र उत्कृष्ट भएपनि कार्यान्वयनमा फितलो हुँदा नागरिकले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो गरे ।
उनीहरुले संविधानको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार बढी जिम्मेवार रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगीको अध्यक्षतामा भएको सभामा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतलगायतले बोलेका थिए ।