पछिल्लो समय सामाजिक सञ्जालहरु योजना नीति विचार सार्वजनिक गर्ने प्रभावकारी माध्यमको रुपमा देखिएको छ । आम नागरिकदेखि विशिष्ट व्यक्तिहरुको पनि सामाजिक सञ्जाल प्रयोग ह्वात्तै बढेको छ ।
प्रत्यक्षरुपमा राख्न नसकेका विषय र विचारहरु अहिले धमाधम सामाजिक सञ्चालको प्रयोगबाट सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल नहुने र योसँग नजोडिएको व्यक्ति कमै मात्र देखिन्छन् ।
पछिल्लो समयमा सामाजिक सञ्जाल विभिन्न पार्टीका राजनीतिकथलो बन्न थालेका छन् । पाटी भित्रको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्ने र बहस सिर्जना गर्ने गतिविधिहरु बढिरहेका बेला राजनीतिक दलहरुले कार्यकर्ताका गतिविधिहरु रोक्न र व्यवस्थापन गर्न ठूलै चुनौति सामना गर्नु परिरहेको छ ।
सामाजिक सञ्जालको प्रयोग गरेर गरिने विरोध र निर्णयहरुमा अहिलेका ठूला पार्टीहरु नेकपा र कांग्रेसको नेतृत्व चुकेको देखिन्छ । त्यस्ता नेता कार्यकर्ताहरुलाई अनुशासनको दायरामा अहिलेसम्म ल्याएको देखिदैन ।
कार्यकर्ता र केही नेताहरु नै सामाजिक सञ्जालमा सक्रिय भएर पार्टी विरोधी गतिविधि सञ्चालन गरेको भन्दै अनुशासनको कारवाहीको कुरा पनि राजनीतिक दलहरुले ल्याउने घोषणा गनुले पनि सामाजिक सञ्जालमा हुने पार्टी कार्यकर्ताका गतिविधिका अगुवाहरु आजित छन् भन्ने देखाएको छ ।
नेपाली कांग्रेस दाङले त सार्वजनिक रुपमा नै नेता कार्यकर्तालाई अनुशासनमा बस्न र सामाजिक सञ्जाललगायतका क्षेत्रमा उश्रृङ्खल गतिविधि रोक्न निर्देशन नै दिएको छ । पार्टी नेता कार्यकर्ता, भातृ संगठनहरुमा बढी उश्रृङ्खलता देखिएको भन्दै त्यो रोक्न पार्टी सभापतिले नै निर्देशन दिनुपर्ने अवस्था देखियो ।
आगामी दिनमा जिम्मेवार नेता, कार्यकर्ता एवं भातृभगेनी संघ संस्थामा आवद्ध ब्यक्तिहरुबाट उश्रृङ्खल गतिविधि नगर्न र नगराउनसमेत भनियो ।
सामाजिक सञ्जालमार्फत उश्रृङ्खल गतिविधि थप हुँदै गएमा अनुशासनको दायरामा ल्याउन नीति अनुसारको अनुशासन कारवाहीसमेत गरिने सार्वजनिक हुनुले सामाजिक सञ्जाल सदुपयोगभन्दा दुरुपयोग बढी भएको देखिएको छ ।
नीति, विधि प्रक्रिया सबै क्षेत्रमा हुन्छ । विभिन्न राजनीतिक दल सञ्जालको पनि यो प्रक्रिया हुनु स्वभाविक हो । तर यहाँ नीति विधि कार्यान्वयन भएको र त्यसमा बसेर गतिविधि सञ्चालन भएको देखिदैन ।
अहिले जिल्लामा नेकपाको जिल्ला नेतृत्व गठन र कांग्रेसका विभिन्न गतिविधिमा सामाजिक सञ्जालमार्फत उश्रृङ्खतला देखाउने नेता कार्यकर्ताहरु धेरै नै देखिएका छन् ।
यसर्थ पार्टीको नीतिमा कार्यकर्ताहरुलाई नेतृत्वले ल्याउन सक्नुपर्छ । कार्यकर्ताको गुनासोलाई पार्टीभित्रै सम्बोधन गर्ने परिपाटीको विकास पनि हुनुपर्छ ।
यदि यस्तो संस्कार र विधिको सुनिश्चितता भएमा सामाजिक सञ्चालनमार्फत हुने गतिविधि बन्द प्रायः हुनेछन् । यसमा पार्टी नेतृत्व गम्भीर बन्नुपर्छ । पार्टीका नाममा हुने सामाजिक सञ्जाल दुरुपयोग रोक्न सक्नुपर्छ ।
