काँग्रेसको बाटो कता ?

सम्पादकीय

नेपाली काँग्रेस अहिले घरभित्रकै ब्यवस्थापनको चटारोमा छ । पार्टीको महाधिवेशन भएको लामो समयसम्ममा पनि पार्टीलाई ब्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको काँग्रेसमा महासमिति सदस्यहरुको भेला आयोजना भएको छ । पार्टीलाई कसरी लैजाने र अबको कार्यदिशा के हुने अन्यौल भइरहेका समयमा काँग्रेसले शुरु गरेको महासमिति सदस्य भेलाले पार्टीको भावी दिशा तय गर्ने अपेक्षासमेत गरिएको छ । गएको निर्वाचनमा कमजोर बनेको काँग्रेसले आफ्नो निर्वाचनको समीक्षासमेत राम्रोसँग गर्न नसकिरहेको बेलाको यो विशेष सम्मेलनले पार्टीलाई अझ चलाएमान बनाउने, सशक्त रुपमा जान सक्ने र देशमा कडा प्रतिपक्षको रुपमा उभ्याउने तर्कसमेत हुन थालेको छ । निर्वाचनमा कमजोर भएको काँग्रेस अहिले पार्टीभित्र पनि गुट–उपगुटले ग्रसित देखिन्छ । जसका कारण संगठन नै अस्तब्यस्त अवस्थामा छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओली दुई तिहाईका साथ सरकारमा विराजमान छन् । तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकीकरणबाट बनेको नेकपा संसदमा अहिले बहुमत छ । काँग्रेस संसदमा कमजोर अवस्थामा छ । संसदको दोस्रो ठूलो दल भएपनि आफ्नो प्रभाव संसदमा जमाउन काँग्रेसले सकेको छैन । पार्टी भित्रकै गुट हावी हुँदा जनसरोकारका विषयमा प्रतिपक्षले निभाउनु पर्ने भूमिका अहिले काँग्रेसले निभाउन सकेको छैन । यति मात्रै हैन पार्टीलाई चलाएमान पनि बनाउन नसक्ने, महाधिवेशन भएको दुई वर्षसम्म पार्टीका पदाधिकारी र सदस्य पूर्णरुपमा मनोनयन गर्न नसक्ने अवस्था देखि नै राखेको छ । भातृ संगठनका गतिविधिहरु समेत अहिले सुस्ताएका छन् । माउपार्टीले बजार तताउन नसक्दा भातृ संगठनहरु पनि सुस्ताएको देखिन्छ । यो अवस्थालाई तत्काल काँग्रेसले सुधार गर्नुपर्छ । पार्टीदेखि संसदसम्मका गतिविधिहरुलाई बढाउन सके र पार्टीको भावी रणनीतिलाई आत्मसात गर्नसके काँगे्रसले आफ्नो बाटो पक्कै पनि तय गर्नेछ । तर नेताका कुरा ठूला हुने काम केही हुन नसक्ने अवस्था भइरहने हो भने काँग्रेस यही अवस्थामा खुम्चिएर रहन्न भन्न पनि सकिदैन । कम्युनिष्ट पार्टीको बहुमतको त्यो पनि शक्तिशाली सरकारका रुपमा बनेको अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कमजोर बन्दै जानु नै लोकतन्त्रमाथिको खतरा हो । लोकतन्त्र बचाउन सरकार र प्रतिपक्ष दुबै शक्तिशाली हुनसके मात्रै शक्ति सन्तुलन हुने र लोकतन्त्र कुशल हुन्सक्छ । यसतर्फ पनि काँग्रेसले ध्यान दिन सक्नुपर्छ । नेपाली काँग्रेसको महासमिति सदस्यहरुको भेलाले पार्टीको मार्गदर्शन कोर्न सकोस् । अबको बाटो कसरी काँग्रेसले तय गर्छ ? त्यसलाई नीतिगत रुपमा ब्यवस्थापन गरी पार्टीभित्रको गुट–उपगुटको अन्त्य र एकताको सन्देश दिन सकेमात्रै भेलाको सान्दर्भिकता हुनेछ । जुँगाको लडाईभन्दा पनि संगठन पार्टी र जनताको हितमा हुने गरी काम र निर्णय काँग्रेसले गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *