काँग्रेसको आन्दोलन

सम्पादकीय

नेपाली काँग्रेसले केही दिन ससंद अवरुद्ध गरेर सदनको आन्दोलन सुरु गरेसँगै काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आक्रामक रुपमा आन्दोलनमा उत्रिएको छ । संसद अवरुद्ध गर्दै गर्दा काँग्रेस सभापतिले सरकारका विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने उद्घोष गरे पनि नेविसंघले जिल्ला– जिल्लामा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । पाटीकै निर्देशनका जिल्ला पार्टीहरु पनि सरकारको विरोधमा जिल्लास्तरीय विरोध कार्यक्रम गर्ने घोषणा गरिरहेका रहेका छन् । दाङ काँग्रेसले सोमबार जिल्ला सदरमुकाममा विरोध सभा गर्दैछ । दुई तिहाइ बहुमतको सरकाले जनताको हितमा काम नगरेको आरोप लगाउँदै काँग्रेस आन्दोलनको बढी नै सक्रिय हुन थालेको छ ।
सफल प्रतिपक्ष हुन नसकेको आरोप खेपेको काँग्रेस पछिल्लो समय सदन र सडकमा आक्रामक देखिएको छ । सत्ता कै फेरी–फेरीमा रहदै आएको काँग्रेस ७४ सालको निर्वाचनपछि पूर्णरुपमा प्रतिपक्षहरुमा रहेको छ । नेपालको दोस्रो ठूलो राजनीतिक दलको रुपमा रहेको काँग्रेसका केहि गतिविधिले र निगरानीमा ध्यान दिन नसक्दा कमजोर प्रतिपक्षको भूमिकाको आरोप खेप्नुले काँग्रेसलाई आक्रामक बनाउनु स्वभाविक छ । आन्तरिक गुटका कारण कमजोर बनेको काँग्रेसको आन्दोलनभन्दा पहिले गुट ब्यवस्थापन गरेर सक्रिय हुनसकेमा त्यसले प्रभावकारिता देखाउने थियो । गुटकै कारण गएको निर्वाचनमा कमजोर बनेको काँग्रेसले आफ्नो निर्वाचनको समीक्षासमेत राम्रोसँग गर्न नसकेर आफूलाई सरकारविरुद्ध आक्रामक बनाउँदै जानुले पार्टी चलाएमान बनाउन सक्छ तर गुटको भने अन्त्य नहुने देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओली दुई तिहाईका साथ सरकारमा हुँदा काँग्रेसले आन्तरिक ब्यवस्थापन गर्न सक्नुपर्छ । सदाबहार गुटका कारण काँग्रेसलाई हरेक निर्वाचनले असफलतातर्फ गराउँदै गएको तीतो यथार्थ काँग्रेसले बुझ्न सक्नुपर्छ । पार्टीभित्रकै गुट हावी हुँदा जनसरोकारका विषयमा प्रतिपक्षले निभाउनुपर्ने भूमिका अहिले काँग्रेसले निभाउन सकेको छैन । यति मात्रै हैन पार्टीलाई चलाएमान पनि बनाउन नसक्नु पनि काँग्रेसको कमजोरी देखिएको छ । माउपार्टी सदनमा आन्दोलनरत हुँदै गर्दा भातृ संगठनहरु आन्दोलनमा आक्रामक देखिएका छन् । सरकारलाई तारो बनाएर थालिएको आन्दोलनमा प्रधानमन्त्रीको पुत्ला दहनदेखि मसाल जुलुस र सरकारका गाडी नियन्त्रण, आगजनीसम्मका अवस्था अहिले सडकमा देखिएको छ । आन्दोलन हुनु नराम्रो हैन । तर आन्दोलनलाई उग्र बनाइनु हुँदैन । कोहि नीति प्रक्रियाभन्दा बाहिर जान्छ भने त्यसलाई नीतिमा ल्याउन शान्तिपूर्ण विरोध र आन्दोलनको आवश्यकता पर्नु स्वभाविक नै हो । तर आगजनीसम्मको अवस्था आन्दोलनका नाममा सिर्जना गर्नुहुँदैन । मुद्दामा आन्दोलन गर्नुपर्छ विचारमा आन्दोलन गर्ने हैन । त्यसले कसैको पनि भलो गर्ने छैन । आन्दोलन–आन्दोलनका लागि मात्रै भन्दा पनि परिणामका लागि गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *