घोराही, २३ भदौ । थारु कल्याणकारिणी सभा दाङले थारु समुदायको अट्वारी पर्वमा एक दिन सार्बजनिक बिदा दिन सरकारसँग माग गर्ने भएको छ । सभाको शनिबार घोराहीमा बसेको बैठकले यही भदौ ३१ गते हुने अट्वारी पर्वलाई मध्यनजर गरी यस्तो माग गर्ने निर्णय गरेको हो । हालै १६आँै अधिवेशनबाट निर्वाचित सभाका सभापति भुवन चौधरीको अध्यक्षतामा बसेको बैठकले अट्वारीको पर्वको विषयमा केन्द्रित रही आज आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउने, २५ गते सोमबार क्षेत्रीय सभापतिको नेतृत्वमा दाङका स्थानीय निकायमा र २६ गते मंगलबार प्रदेश सरकारमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । बैठकले थारु कल्याणकारिणी सभा दाङको १६औँ अधिवेशन सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।
