कर्तव्य ज्यानका ७४ अभियुक्त फरार

फिचर मुख्य खबर

तुलसीपुर, २६ साउन । प्रदेश नम्बर ५ मा कर्तव्य ज्यान मुद्दाका ७४ अभियुक्त फरार रहेका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ५ नम्बर प्रदेशमा कर्तव्य ज्यान मुद्दाका ५ महिला र ६९ जना पुरुष अभियुक्त फरार रहेका छन् ।
कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका प्रदेश नम्बर ५ मा सबैभन्दा बढी पाल्पाका ५१ जना अभियुक्त अझै फरार रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले जानकारी दिए ।
त्यस्तै रुपन्देहीका १०, कपिलवस्तुका ९, रोल्पाका ३ र नवलपरासी पश्चिमका १ जना अभियुक्त फरार रहेका छन् । कर्तव्य ज्यानको अभियोग लागेका अभियुक्तको खोजी अभियान जारी रहेको प्रवक्ता पोखरेलले बताए ।
आर्थिक वर्ष ०७४/०७५ को तुलनामा फरार अभियुक्तको संख्या दोब्बरले बढेको छ । प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७४/.०७५ कर्तव्य ज्यान मुद्दाका ३० जना अभियुक्त फरार रहेका थिए । भने गतवर्ष २०७५/०७६ मा ७४ जना अभियुक्त फरा रहेका छन् ।
कर्तव्य ज्यान मुद्दाका आरोपी फरारको संख्या बढ्दै गएपछि आरोपीलाई पक्राउ गर्न प्रहरीलाई सकस देखिएको छ । आरोपी पक्राउ पर्न नसक्दा सुरक्षा चुनौतिसमेत बढेको देखिएको छ ।
प्रहरीले प्रदेशका १२ जिल्लाबाट १ सय ८७ अभियुक्त फरार रहेकोमा अरुलाई नियन्त्रणमा लिएको र ७४ जना अभियुक्त पक्राउ गर्न सकेको छैन् ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ५ नम्बर प्रदेशमा कर्तव्य ज्यान मुद्दाका ५ महिला र ६९ जना पुरुष अभियुक्त फरार रहेका छन् ।

कर्तव्य ज्यानको मुद्दामा बितेको आर्थिक वर्षमा प्रदेश नम्बर ५ मा १ सय ६९ पुरुष र १८ जना महिला पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दाङमा गत आर्थिक वर्षमा १२ वटा मुद्दा परेका छन् भने कर्तव्य ज्यानको मुद्दाको अभियोगमा तीनजना महिला र १९ जना महिला पक्राउ परेका छन् । कर्तव्य ज्यानको मुद्दामा दाङ चौथो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।
बितेको आर्थिक वर्षमा प्रदेशमा सबैभन्दा बढी कर्तव्य ज्यानको मुद्दा बाँकेमा परेका छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार बितेको आर्थिक वर्षमा बाँकेमा कर्तव्य ज्यान मुद्दाका २१ मुद्दा परेका छन् ।
बाँकेमा बितेको आर्थिक वर्षमा कर्तव्य ज्यानको मुद्दाका अभियुक्त ४ महिला र २६ पुरुष गरी ३० जना पक्राउ परेका छन् । त्यसैगरी कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दाका १७ वटा मुद्दा परेका छन् भने अभियुक्त १४ जना पक्राउ परेका छन् ।
त्यसैगरी बर्दियामा १० मुद्दा परेकोमा १८ जना अभियुक्त, पश्चिम नवलपरासीमा ९ मुद्दाका २६ जना अभियुक्त, गुल्मीमा ६ मुद्दा परेको ८ जना अभियुक्त, पाल्पामा ५ मुद्दा परेकोमा ७ अभियुक्त, अर्घाखाँचीमा ४ मुद्दा परेकोमा ५ अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार प्यूठानमा गत वर्षमा कर्तव्य ज्यान मुद्दाका ५ वटा मुद्दा परेकोमा ७ अभियुक्त पक्राउ परेका छन् । त्यसैगरी रोल्पामा ५ मुद्दा परेकोमा १० जना अभियुक्त पक्राउ परेका छन् भने प्रदेशको १२ जिल्लामध्ये सबैभन्दा कम रुकुम पूर्वमा २ वटा मुद्दा परेका छन् भने ३ जना अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी प्रवक्ता नवराज पोखरेलले बताए ।
प्रदेश नम्बर ५ मा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा बितेको आर्थिक वर्ष २०७५/०७६ मा भने कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कमि आएको छ ।
प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ नम्बर प्रदेशमा कर्तव्य ज्यानका १ सय १६ मुद्दा परेका थिए भने बितेको गत आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका १२ जिल्लामा कर्तव्य ज्यानसम्बन्धी १ सय १२ मुद्दा परेको थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४ वटा मुद्दामा कमि आएको देखिएको छ । कर्तव्य ज्यानका मुद्दामा कमि आएपनि हत्या जस्तो अपराधमा संलग्न दोषी फरारको संख्या भने बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी सुरेशविक्रम शाहले भने ‘दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास गरिरहेका छौँ, दोषी पहिचानमा प्रहरीको सक्रियता नभएको भन्ने होइन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *