करणीका कैदी बढी

फिचर मुख्य खबर

घोराही, २१ भदौ । दाङमा जबरजस्ती करणीका आरोपीहरु बढी पक्राउ परेका छन् । समाजमा हुने अन्य अपराधिक घटनाहरुको तुलनामा जबरजस्ती करणीका अभियुक्तहरु बढी पक्राउ पर्ने गरेको देखिएको हो । कारागारमा पनि तिनै बढी छन् ।
जिल्ला कारागार कार्यालय घोराहीमा सबैभन्दा बढी जबरजस्ती करणीका अभियुक्तहरु थुनामा छन् । दाङ देउखुरी जिल्ला अदालत दाङले दोषी ठहर गरेर सजायको फैसला सुनाइएको सबैभन्दा जबर जस्ती करणीका कैदीहरु जिल्ला कारागार घोराहीमा थुनामा रहेका छन् ।
जिल्ला कारागार कार्यालय घोराहीका प्रमुख विष्णुप्रसाद पाण्डेले कारागार घोराहीमा एक सयजना जबरजस्ती करणीका कैदी थुनामा रहेको बताए । त्यसपछि ७१ जना कर्तव्य ज्यानका अभियुक्तहरु थुनामा रहेको उनले बताए ।
कारागारमा ४१ जना चोरीका कैदीहरु छन् भने ३१ जना लागूऔषध उद्योग तथा ओसारपसारका कैदीहरु कारागारमा रहेको उनले बताए । त्यसैगरी कारागारमा २१ जना सामान्य झै–झगडा, कुटपिटलगायतका कैदीहरु रहेको उनले बताए ।
‘अहिलेसम्म कारागारमा रहेका कैदीहरुको घटनाको प्रकृतिलाई हेर्ने हो भने जबरजस्ती करणीका घटनाका कैदीहरु बढी छन्’ कारागार प्रमुख पाण्डेले भने ‘अधिकांश दाङका धेरै छन्, बाँकी थोरै ब्यक्तिहरु मात्र जिल्ला बाहिरका छन् ।’ कारागारमा २० देखि ५० उमेर समूहका बढी संख्यामा कैदी भएको पाण्डेले बताए ।
घोराहीमा ५० जनाको मात्रै कैदीको क्षमता रहेको कारागारमा ३ सय १८ जना रहेको कारागार घोराहीले जनाएको छ । कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदी–कैदीबीच झगडा तथा विवादसमेत हुने गरेको छ ।
धेरैजसो कैदीहरु त्रिपाल टाँगेर बस्ने गरेको कारागारले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बलात्कारका घटनाहरु बढ्दै गएका छन् । त्यसकारण पनि बलात्कारका घटनाका अभियुक्तहरु बढी थुनामा रहेको कारागारले जनाएको छ ।
अझै १ हजार ४ सय ७१ जना कैदीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतबाट सजायको फैसला सुनाइएको ति कैदीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले जानकारी दिए ।
‘जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरीलगायतका विभिन्न अभियुक्तहरु फरार छन्’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गौतमले भने ‘हामी ति अभियुक्तहरुको खोजी जारी राखेका छाँै ।’
दाङ देउखुरी जिल्ला अदालतबाट सजायको लागि फैसला सुनाइएका अभियुक्तहरुलाई कानूनको दायरामा ल्याउने उनले बताए । विभिन्न मुद्दाका अभियुक्तहरु १० वर्षदेखि फरार रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दाङमा आर्थिक वर्ष ०७५/७६ मा ६२ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणीको उजुरीको आधारमा ६१ जनालाई पक्राउ गरेको र एकजनाको मुद्दामा प्रतिवादी नखुलेको र तीनवटा मुद्दामा प्रतिवादी फरार रहेको र बाँकी ५८ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी २२ वटा जबरजस्ती करणीमा मुद्दा दर्ताको भएको छ । उजुरीको आधारमा २२ जनालाई पक्राउ गरेर सबै मुद्दा फछ्र्यौट गरिएको छ । त्यसैगरी आठवटा बाल यौन दुरुपयोगमा घटना घटेका छन् ।
आर्थिक वर्ष ०७५÷७६ मा १२ वटा कर्तव्य ज्यानका मुद्दा दातृ भएकामध्ये १० वटा फछ्र्यौट भएको जिल्ला प्रहरी कार्यालय दाङले वार्षिक प्रगति प्रतिवेदनमा सार्वजनिक गरेको थियो ।
त्यसैगरी ९७ वटा भवितव्य कर्तव्य ज्यानको मुद्दा दर्ता भएको मध्ये ५७ वटा फछ्र्यौट भएको ४० वटा मुद्दा बाँकी रहेको छ । त्यसैगरी ४५ वटा फुटकर ज्यानसम्बन्धी मुद्दा दर्ता भएको मध्ये १६ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी २३ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा परेकामध्ये २० वटा मुद्दा फछ्र्यौट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *