कपुरकोटमा ३० जना क्षयरोगी

मुख्य खबर समाज

सल्यान, ८ असोज । सल्यान कपुरकोटमा ३० जना क्षयरोगीका बिरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ । कपुरकोट गाउँपालिकास्तरीय क्षयरोग कोहर्ट विश्लेषण गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले ३० जना क्षयरोगीका बिरामी रहेको विवरण प्रस्तुत गरे ।
फेला परेका ८५ प्रतिशत बिरामीलाई निको पार्न सफल भएको पनि उनले बताए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत अमर ओलीको विशेष उपस्थितिमा क्षयरोगसम्बन्धी उपचार केन्द्रस्तरीय कोहर्ट विश्लेषण कार्यक्रम भएको हो ।
गाउँपालिकाभित्र रहेका क्षयरोगीहरुको अवस्था, पालिकाभित्र रहेका स्वास्थ्य चौकीबाट हुने उपचारको अवस्था, औषधिको पर्याप्तता, नियमित चेकजाँच तथा उपचारमा आइपर्ने समस्याका बारेमा गोष्ठीमा समीक्षा गरिएको स्वास्थ्य चौकी धनवाङका इन्चार्ज देवेन्द्र कुमार सेनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले क्षयरोगका बारेमा नागरिकहरुमाझ नियमित रुपमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका अमर ओलीले गोष्ठीमा उपस्थित पालिकाभित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाई इन्चार्जहरुलाई स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन गरे । सेवा प्रवाहको क्रममा कुनै पनि समस्या आएमा स्वास्थ्य शाखामार्फत गाउँपालिकामा जानकारी गराउन उनले आग्रह गरेका थिए ।

अनुगमनलाई प्रभावकारी बनाइने

यसैबीच सल्यानको कपुरकोट गाउँपालिका २ स्थित रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन निर्माण भएको छ । कक्षाकोठाको अभावमा पठनपाठन प्रभावित हुँदै आएकोमा अब केही सहज हुने विद्यालयले जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर बुढाले शिक्षा विभागअन्तर्गत गाउँपालिकाको दायीत्वमा आएको बजेटबाट भवन निर्माण गरिएको जनाए । ३६ लाख रुपैयाँको लागतमा चारकोठे विज्ञान भवन निर्माण भएको हो । उक्त भवनको मंगलबार कपुरकोट गाउँपालिकाले अनुगमन गरेको छ ।
अनुगमन समितिका संयोजक तिला बुढा मगरसहित प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओली, इन्जिनियर भूपेन्द्र यरीलगायतको टोलीले भवन अनुगमन गरेको हो ।
उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओलीले गाउँपालिकाले योजना तथा कार्यक्रम अनुगमनको पाटोलाई प्रभावकारी बनाउने बताए । कुनै पनि योजना दिगो, भरपर्दाे र पारदर्शी बनाउन आवश्यक रहेकोमा जोड दिदै उनले स्वयम् उपभोक्ताले पनि निगरानी बढाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *