- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरकटान क्षेत्रमा चार हजार बाँस रोपियो

कटान क्षेत्रमा चार हजार बाँस रोपियो

- Advertisement -spot_img

घोराही, २९ असार । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ । बर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदी तटीय क्षेत्रका बिभिन्न पाँच ठाउँमा यो बर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
लगाइएका बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपण कार्य गरिएको डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए । उपभोक्ताहरुले बाँस रोपेर संरक्षण गरे वापत एक बिरुवा एक सय रुपैयाँसमेत दिइएको छ ।
जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आइतबार घोराहीमा भएको बैठकमा डिभिजनले वन अधिकृत ज्ञवालीले प्रत्येक बर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रवृत्तिलाई अन्त्य गर्नका लागि यो बर्षदेखि संरक्षणमुखी वृक्षारोपण कार्यक्रम गरिएको बताए ।
बर्षभर वन क्षेत्रमा भएका गतिविधिबारे प्रस्तुत प्रतिवदेनमा बगरलाई वन गराउने अभियान थालिएको उल्लेख गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत यो बर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करिब ६४ हजार विरुवा लगाइएको छ ।
स्थानीय वन समूहकै अगुवाईमा थालिएको बगरलाई वन बनाउने कार्यक्रममा स्थानीयलाई उक्त कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर एक लाख रुपैयाँसमेत कार्यालयले दिएको छ । दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा, हापुरलगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजालीसहित वृक्षारोपण गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिकासहितका सडकको छेऊमा शोभायमान प्रजातिका बिरुवा लगाउने काम पनि यो बर्ष गरिने बैठकमा समितिका सदस्य सचिव डिभिजन अधिकृत ज्ञवालीले जानकारी दिए ।
गोलमोर, करविन फूल, छतिवन, चाप, कपुर, क्रिसमस ट्रिलगायतका नयाँ प्रजातिका ३ हजार ५ सय बिरुवा रोपी तारबार गर्नेसमेत कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै, उत्तरतर्फको जंगलमा यो बर्ष मात्रै ५० हजार जडिबुटी लगाइने भएको छ । बंगलाचुली, बिजौरी, धर्नालगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ ।
पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करिव १० हजार हेक्टर वन क्षेत्र बढेको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नदीले कटान गरिएको वन क्षेत्रमा वृक्षारोपण गरी स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजन अधिकृत ज्ञवालीको भनाई छ ।
जिल्ला वन क्षेत्र समन्वय समिति दाङका सभापति जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सर्वपक्षीय सहभागितामा वन गुरुयोजना तयार गरी सोहि आधारमा जिल्लाको वन क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ब्यवस्थित बस्ती विकास कार्यक्रम र भू–उपयोगको नयाँ नीति बनाइ वनको बिकासमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बबई गाउँपालिकाका प्रमुख भूवनेश्वर पौडेलले वनसँग जोडेर पर्यटन विकासको कार्य थालिएको भएपनि वनमा के–के गर्ने भन्ने स्पष्ट नीति बन्न जरुरी रहेको बताए ।
सहायक वन अधिकृत संयोग बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले गरेका थिए । कार्यक्रममा कार्यालयले बर्षभर गरेका कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here