ओली र डाँगीद्वारा सपथ्

फिचर मुख्य खबर राजनीति

दाङ, १८ मंसिर । यही मंसिर १४ गते दाङमा भएको उपनिर्वाचनमा प्रदेशसभा सदस्य र वडा अध्यक्षमा नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर ३
(ख) प्रदेशसभा सदस्यमा विजयी उम्मेदवार विमला कुमारी खत्री (ओली) र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्षमा निर्वाचित ताराबहादुर डाँगीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
ओलीले प्रदेशसभा सचिवालयमा एक समारोहका बीच सपथ ग्रहण गरेकी छन् भने डाँगीले घोराही उपमहानगरपालिकामा सपथ ग्रहण गरेका छन् । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य ओलीलाई सपथ ग्रहण गराएका थिए ।
ओलीले सपथ ग्रहणपश्चात् पत्रकारहरूसँग कुरा गर्दै अबको जीवन राजनीतिमा बिताउने बताइन् । श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्न लाग्ने बताउँदै सधैं जनतासँगै रहने बताइन् ।
यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले नवनिर्वाचित वडा अध्यक्ष डाँगीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।
वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबाहक प्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष एवं कार्य पालिकाका सदस्यहरुले टिका र माला लगाएर स्वागत एवं बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाएका थिए । सच्चा जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने भन्दै सबैबाट सहयोगको पनि अपेक्षा गरेको बताएका थिए ।
नगरका कार्यबाहक प्रमुख न्यौपानेले बधाई ज्ञापन गर्दै वडाबासीको मन जितेर विकासमा लाग्न र सहकार्यबाटै कार्य सम्पादनलाई अघि बढाउन आग्रह गरेकी थिईन् ।
कार्यक्रममा नगरका प्रवक्ता भरतमणि अर्यालले कार्य सम्पादनमा राजनीति आग्रह पूर्वाग्रह जनप्रतिनिधिहरुमा हुन नहुने भन्दै सहकार्य गरेर नगरको विकासका लाग्नेमा जोड दिएका थिए । गत बर्ष वडा अध्यक्ष लछिनप्रसाद बुढा मगरको बिरामीका कारण निधन भएपछि यही मंसिर १४ गते भएको उपनिर्वाचनबाट डाँगी अध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *