एयरपोर्टमा बन्यो टर्मिनल भवन

फिचर मुख्य खबर

तुलसीपुर, २८ साउन । दाङको टरिगाउँ विमानस्थलमा नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) निर्माण भएको छ । दाङ एयरपोर्टमा नियमित हवाई सेवा सुरु भएपछि नागरिक उडड्यन प्राधिकरणको ५८ लाख रुपैयाँको लगानीमा नयाँ यात्रु प्रतिक्षालय भवन निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामा सम्पन्न भएको र केही दिनमै भवन हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।
निर्माणको जिम्मा पाएको टर्मिनलको काम ६ महिनामा सकिएको निर्माण व्यवसायी न्यू अष्ट्रिना निर्माण सेवा प्रालि दाङका सञ्चालनक सुरेश कुमार आचार्यले बताए । उनले ५१ लाख ६० हजारमा पूर्वाधार निर्माण गरिएको र भ्याटसहित ५८ लाख रुपैयाँ खर्च भएको बताए ।
दाङका दैनिक हवाई सेवा सञ्चालन भइरहे पनि पूर्वाधारको अभावले यात्रुहरुले सास्ती भोग्नु परिरहेका वेला नयाँ भवन निर्माणले सहजता ल्याएको छ । भवन आधुनिक र सुविधा सम्पन्न भएको आचार्यले बताए । प्राधिकरणले गरेको डिजाइन अनुसार नयाँ भवन बनेको छ,उनले भने, यसले एरपोर्टको सौन्दर्यसमेत थप गरेको छ ।
२०११ सालमा स्थापना भएको दाङ विमानस्थलमा निर्माण भएका सबै पूर्वाधारहरु जीर्ण अवस्थामा छन् । पूर्वाधार जीर्ण हुँदा यात्रु प्रतिक्षालयको समेत समस्या रहदै आएको थियो ।
दैनिक नियमित रुपमा हवाई सेवा सुरु भएपछि प्राधिकरणले दाङमा नयाँ पूर्वाधारहरु निर्माण गर्न सुरु गरेको जनाएको छ । यात्रुको चाप बढिरहेको र उडान पनि नियमित भएकाले यसको ब्यवस्थान गर्न पूर्वाधारहरु निर्माणमा जुटेको प्राधिकरणले भनाई छ ।
प्राधिकरणमा दाङ प्रमुख विशाल घिमिरेले टर्मिनल निर्माण भएको भन्दै यसले धेरै नै सहजता ल्याउने बताए । भवनमा ४० जना यात्रुहरु अटाउने गरी चमेना गृह, टिकट काउन्टर, यात्रु प्रतिक्षालय, जाँचपास, बाथरुमलगायतका संरचना र सुविधा भवनमा रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा विमान नियमित भएसँगै सेवा सुविधा र पूर्वाधारहरु पनि बढाउँदै लैजाने बताए । विभिन्न चरणमा विमानस्थलको सुधार गर्दै लगिएको भन्दै रनवे विस्तारका लागि पनि पहल भइरहेको बताए ।
प्रदेश सरकारले तुलसीपुर विमानस्थल सञ्चालनलाई पञ्चबर्षिय योजनामा राखेर काम अगाडि बढाउन लागेको भन्दै रनवे विस्तारको काम पनि छिट्टै सुरु हुने जानकारी दिए । अस्थायी इन्धन डिपोको काम अन्तिम चरणमा पुगेको भएपनि केही प्राविधिक कमजोरीका कारण समयमै आउन नसकेको बताउँदै पाण्डेले तत्काल ल्याउनका लागि पहल भइरहेको जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामा सम्पन्न भएको र केही दिनमै भवन हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि बढाउने बताए । आन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफूले योजनासमेत बनाएको बताए ।
विमानस्थलको स्तरोन्नतीका साथै इन्धन डिपोको काम अगाडि बढाउन आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने समेत उनले बताए । ‘तुलसीपुर विमानस्थलका बारेमा म पूरै जानकार छु जनतालाई न्याय दिनेछु’ मन्त्री भट्टराईले भने, आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार हुन्छ ।
विमानस्थल र पर्यटन विकासका विषयमा मन्त्री भट्टराईलाई भेट्न गएको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्नका लागि काम अगाडि बढाएको समेत उनले बताए ।
‘नेपालभित्र तालिम केन्द्र नहुँदा महंगो पैसा तिरेर बाहिर जानुपर्ने अवस्था छ यसको लागि टरिगाउँ विमानस्थललाई हामीले उपयुक्त स्थानका रुपमा छनोट गरिएको छ ।’ मन्त्री भट्टराईले भने । उनले यसका लागि एकसाता भित्र विभिन्न निकायसँग सहकार्य गरेर अध्ययन समितिसमेत बनाउने जानकारी दिए ।
‘टरिगाउँ विमानस्थलको धावनमार्ग सानो हुँदा सानाखाले जहाज मात्रै बस्ने गरेका छन् यसलाई विस्तार गरिनेछ’ उनले भने । मन्त्री भट्टराईले ७ सय ५० मिटर रहेको धावन मार्ग १२ सय मिटरसम्म विस्तारका लागि यो वर्ष नै बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरको तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । तुलसीपुर विमानस्थलका साथै पर्यटकीय स्थलको विकास र उन्नतिका लागि मन्त्रीको ध्यानाकर्षण गराउनका लागि पत्र हस्तान्तरण गरिएको नगरप्रमुख पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *