एयरपोर्टमा पूर्वाधार विकास

सम्पादकीय

दाङ एयरपोर्टको बारेमा अहिले दैनिकजसो छलफल, बहस हुँदै आएको छ । लामो समय स्थगन भएर एक वर्ष अघिदेखि नियमित रुपमा सञ्चालनमा आएको दाङ एयरपोर्टमा पूर्वाधारहरु थपिन थालेका छन् ।
एयरपोर्ट सञ्चालनसँगै इन्धन डिपोको कुरा चलेको भए पनि त्यो पूरा नहुँदै विषय नै नउठेको र महत्वमा नपरेको टर्मिनल भवन निर्माण पूरा भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा धावन मार्ग विस्तार गर्ने र एयरपोर्टको स्तरोन्नती गर्ने योजनासमेत सार्वजनिक भए पनि दाङ एयरपोर्टमा पूर्वाधारको विकास तिव्ररुपमा भइरहेको बन्न सक्ने आधार देखिन्छ ।
घाँसे मैदानबाट रनवे कालोपत्रे भएदेखि एयरपोर्ट क्षेत्रमा पूर्वाधार विकासले गति लिन थालेको छ । अहिलेकै वर्षमा ५८ लाखको लागतमा विमानस्थलमा नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) बन्नुले पनि पूर्वाधारमा राज्यको लगानी बढिरहेको प्रष्ट नै हुन्छ ।
विकास र स्थायित्वको महत्वपूर्ण आधार पूर्वाधार हो । पूर्वाधार बलियो भएन भने सेवाले स्थायीत्व नपाउन पनि सक्छ । त्यसकारण सबै क्षेत्रको सेवालाई दीर्घकालिन बनाउन पूर्वाधारको निर्माण अपरिहार्य र विशेषरुपमा हेरिनुपर्छ ।
अहिले त्यो दाङको टरिगाउँ विमानस्थलमा देखिन थालेको छ । त्यो देखिनु पनि सकारात्मक पक्ष हो । विमानस्थलमा सुस्त–सुस्त पूर्वाधार विकास र आवश्यक संरचनाको बृद्धि भइरहेको छ । एयरपोर्टको नियमितता र दीर्घकालिन सेवाका लागि यो महत्वपूर्ण विषय बन्नसक्छ ।
टरिगाउँ विमानस्थलमा राज्यको आधिकारिक हवाई सेवा कम्पनीले उडानलाई नियमित गरेपछि पूर्वाधारको विकासले पनि नियमितता पाउनुपर्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकाले विमानस्थलको पूर्वाधारको लागि चासो दिनुपर्छ ।
जसले गर्दा यो क्षेत्रको समग्र विकासलाई पनि टेवा पुग्ने छ । एक वर्ष नियमित गरेको हवाई सेवा अहिले दैनिक दुई उडानसम्म पुगेको छ । दुई उडानलाई व्यवस्थापन गर्न पूर्वाधार आवश्यक त हुने नै भयो । त्यो आवश्यकता विश्वास गरौं क्रमिक रुपमा पूरा हुनेछ ।
पूर्वाधार बढ्दै जाँदा नियमित हवाईसेवा पनि विश्वास बढ्नु स्वभाविक हो । त्यो विश्वासलाई सेवा र पूर्वाधारले पूर्णता दिलाउनु पर्छ । यसमा सबै सरोकारवाला पक्ष जिम्मेवार गम्मीर भएर लाग्न सक्नुपर्छ ।
२०११ सालमा स्थापना भएको दाङ एयरपोर्टमा स्थापनासँगै निर्माण भएका सबै पूर्वाधारहरु जीर्ण अवस्थामा छन् । पुराना र पहिले बनेका पूर्वाधार जीर्ण हुने, तर नयाँ पूर्वाधार नबन्ने अवस्था आउनु हुँदैन ।
जीर्ण पूर्वाधारलाई नियमित मर्मत सम्भार गर्ने र पूर्वाधार निर्माणका नयाँ योजनाहरु अघि सार्न सके मात्रै विमानस्थल पूर्ण पूर्वाधारमय हुने थियो । पूर्वाधार र प्राविधिक कारणले नै बेला–बेला समस्या भोगेको दाङ एयरपोर्टले अब त्यो समस्याबाट टाढै रहने गरी नयाँ योजनासमेत बनाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *