तुलसीपुर, ६ फागुन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) दाङले सञ्चालन गरेको एन प्याब्सन वर्ष विद्यार्थी २०७५ मा ज्ञानज्योति सेकेन्डरी स्कुलका शिशिर खड्का वर्ष विद्यार्थी बनेका छन् । त्यसैगरेर छात्रातर्फ पि एण्ड के पाठशालाकी गीता न्यौपाने वर्ष विद्यार्थी बनेकी हुन् । एन प्याब्सनमा आवद्ध मावि विद्यालयहरुका विद्यार्थीहरुलाई सहभागी गराएर परीक्षामार्फत वर्ष विद्यार्थी छनोट गरिएको हो । आइतबार भएको परीक्षामा खड्काले ८० दशमलव ५ अंक प्राप्त गरेका छन् ।
एन प्याब्सन दाङको आयोजना एभरेष्ट एकाडेमी फर एडभान्स लर्निङ तुलसीपुरको मुख्य प्रायोजक तथा प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पाट्र्नरमा एन प्याब्सन बर्ष बिद्यार्थी २०७५ प्रतियोगिता कार्यक्रम भएको थियो । प्रतियोगितामा जनप्रिय बोर्डिङ स्कुलका मिनराज बोहरा दोस्रो, पब्लिक एजुकेशन एकाडेमीका प्रदिप जिसी तेस्रो भएका छन् । त्यस्तै चौथो राप्ती बाल एकाडेमीका विवेक उपाध्याय र पाँचौ पि एण्ड के पाठशालाका दिपेश भण्डारी र पिपुल्स ल्याण्ड एकाडेमी हापुरेका कुमार शर्मा भएको कार्यक्रम संयोजक भोजराज न्यौपानेले जानकारी दिए ।
त्यस्तै छात्रातर्फ प्रथम पि एण्ड के पाठशालाकी गीता न्यौपाने, दोस्रो राप्ती बाल एकाडेमीकी कृतिका डाँगी, तेस्रो डिभाईन टेम्पल एकेडेमीकी सपना लामिछाने, चौथो पब्लिक एजुकेशन एकाडेमीकी भावना घर्ती, पाचौँ ज्ञानज्योती पब्लिक स्कुलकी अश्मिता पार्धे भएका छन् । एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकीको अध्यक्षतामा तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गर्ने थलोको रुपमा यो प्रतियोगितालाई लिनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, एभरेष्ट ऐकाडेमीका प्रबन्ध निर्देशक नारायण भट्टराई, एन प्याब्सनका बरिष्ठ उपाध्यक्ष विमल गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक तथा एन प्याब्सन उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर डाँगीले गरेका थिए । प्रतियोगितामा २७ विद्यार्थीहरुको सहभागिता रहेको थियो । वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई फागुन १० गते हुने एन प्याब्सनको स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा सहभागी हुने र सहयोग गर्ने सबैप्रति एभरेष्ट एकाडेमीले धन्यवाद ज्ञापन गरेको छ ।
