एक करोडको लगानीमा पार्क

मुख्य खबर समाज

सल्यान, २१ मंसिर । सल्यानको पवित्र धार्मिक तिर्थस्थल शंखमुलमा पार्क निर्माण हुन लागेको छ । जिल्लाकै प्रसिद्ध रहेको धार्मिकस्थलमा एक करोडको लगानीमा ठूलो शंखसहितको पार्क निर्माण हुन लागेको हो ।
छत्रेश्वरी गाउँपालिकाले जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त पार्क निर्माण कार्य अगाडि बढाएको हो । शुक्रबार पार्कको शिलान्याससमेत गरिएको छ ।
सल्यान जिल्लाकै पवित्र धार्मिक तीर्थस्थल शंखमुलमा एक करोडको लगानीमा ठूलो शंखसहितको पार्क निर्माण कार्य सुरू भएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन् ।
राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइदेखि ५ सय मिटरको दूरीमा पार्क निर्माण हुन लागेको छ । प्राविधिक ढाँचा अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले पार्क निर्माणका लागि १ करोड १४ लाख ४६ हजार ९ सय २८ रूपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
विनियोजन गरिएको बजेटबाट भ्याटसहित प्राकृतिक निशान जेभी सिद्धार्थनगर रूपन्देहीले ९५ लाख १२ हजार १ सय ८३ रूपैयाँमा पार्क निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर रन्जन चन्दले बताए ।
पार्कमा ढुङ्गेधारा, कुण्ड, शिव भगवानको मूर्ति, आकर्षक गार्डेन, पानीका फोहरा, चौतारी, चेन्जिङ रूम, शौचालय, विश्रामस्थल लगायतका संरचनाहरू निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।
पार्क निर्माण भएपछि उक्त पवित्र एवं धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्ने गाउँपालिकाको विश्वास छ । शंखमुललाई थप धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नको निम्ति गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
अध्यक्ष केसीले छायाँ क्षेत्रमा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग पतन भइसकेपछि महादेवले नुहाएको उक्त मूललाई संरक्षण गरी पार्क बनाउँदा थप प्रचारप्रसार हुने विश्वास समेत व्यक्त गरे ।
धर्मशास्त्र अनुसार उक्त क्षेत्रमा सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व परिक्रमा गर्दा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंगहरू छायाँ क्षेत्रमा पतन भइसकेपछि महादेवले सोही शंखमुलमा नुहाएको जनविश्वास समेत रहेको छ ।
प्रत्येक वर्ष महाशिवरात्री तथा अन्य समयमा ठूलो मेला लाग्ने र मुलमा नुहाउनेको ठूलो भिड लाग्ने हुँदा उक्त क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पार्क निर्माण गर्न लागिएको हो । ०७८ असार मसान्तसम्म काम सम्पन्न गरिसक्ने सम्झौता अुनसार पार्क निर्माण कार्य सुरू भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *