एकताको सन्देश दिने तीज

विचार

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) आउन एकसाता मात्रै बाँकी हुँदा बजारमा चहलपहल बढिरहेको छ । ग्रामीणस्तरमा पनि तीजको रौनकताले छोइसकेको छ । संस्कृति र परम्परा राष्ट्रका सम्पत्ति हुन् ।
हरितालिका तीज पर्वलाई पनि निकै महत्वका साथ लिने गरिन्छ । अविवाहित हिन्दू नारीहरुले सुयोग्य पति पाउँ भनि र विवाहित नारीले श्रीमानको आयु लामो होस् भनेर तीज पर्वमा ब्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन दर खाने परम्परा छ भने तीजको दिनमा नाचगान गरेर धुमधामका साथ तीज पर्व मनाउने गरिन्छ ।
तर पछिल्लो समय तीज पर्व पनि अलि भड्किलो बन्दै गएको हो की ? भन्ने विभिन्न क्रियाकलापले देखाउने गरेको छ । एक महिना अघिबाट दर खाने, विभिन्न किसिमका गहना प्रदर्शन गर्ने, ठूला–ठूला आवाजमा गीत बजाएर नाच्ने आदि गतिविधिहरु तीज पर्वमा पछिल्लो समय देखिन थालेपछि यो पर्वको महत्व घटेर जाने हो की ? भन्ने चिन्तन गर्न थालिएको छ ।
पर्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै गर्दा पुराना कला, संस्कृति लोप भएर जाने हो भन्ने कुरा चिन्तन, मननको विषय बनेको छ । त्यतिमात्र नभई पछिल्लो समय तीजका गीतमा समावेश गरिने शब्दले पनि समाजलाई नकारात्मक दिशातर्फ लैजाने हो की भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
रितिरिवाज र परम्परा देखावटी शैलीमा भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउनुपर्छ । तर त्यसो हुन नसक्दा हाम्रा चाडपर्व विकृत बन्दै गएका छन् । तीजलाई कसरी हामीले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं त ? पर्वलाई तडकभडकभन्दा पनि संस्कारयुक्त कसरी बनाउने ? आदि विषयलाई आजको राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । 


बसुन्धरा गौतम
पत्रकार

हरितालिका पर्व नेपालीको जनजिब्रोमा तीज पर्वका रुपमा छ । तीजको धार्मिक र साँस्कृतिक, सामाजिकसँगै महिला स्वतन्त्रताको आवाज बुलन्द गर्ने स्वतन्त्रता पर्वको रुपमा पनि महत्व रहेको छ ।
यसो हेर्दा तीज हिन्दू महिलासँग मात्र जोडिएको जस्तो लागेपनि वास्तवमै तीजले सिङ्गो नेपाली समाजलाई बाँधेर लगेको छ । धर्मसँग जोडिएर धार्मिक आस्था बोकेकाहरुले ब्रत बस्ने, पूजाआजा गर्ने गरेपनि नाचगान अर्थात् साँस्कृतिक माहोलमा सिङ्गो नेपाली समाजको प्रतिविम्व पाउन सकिन्छ ।
साँस्कृतिक कार्यमा जुनसुकै जात, धर्म, लिङ्ग, वर्ग, वर्ण, भाषाभाषी उमेरका मानिसलाई जोड्ने यसको सबैभन्दा सुन्दर पक्ष भनेकै साँस्कृतिक पक्षलाई मान्न सकिन्छ । यसले सिङ्गो समाजलाई जोड्नलाई भूमिका खेलेको पाइन्छ ।
यसले सिङ्गो नेपाली समाजलाई जुरुक्क उठाउन र राष्ट्रिय एकताको सन्देश दिन सक्ने सामाथ्र्य राख्छ भने त्यो तीज पर्वले मात्रै राख्छ भन्न सकिन्छ ।
तर बिडम्वना मान्नुपर्छ केही दशक यता हाम्रा संस्कार, संस्कृति, चालचलन, मुल्य, मान्यतामा एकप्रकारको प्रहार नै भैरहेको छ । यसबारेमा बेलैमा सोच्न जरुरी छ ।
हिन्दू महिलाको मात्र नभएर सिङ्गो नेपाली महिला सिङ्गो नेपाली समाजलाई बोक्ने र जोड्ने समाथ्र्य राख्ने तीज पर्वमाथि चारैतिरबाट प्रहार भैरहेको छ ।
वास्तवमा तीज नेपालीहरुको स्वतन्त्रताको पर्व हो भन्ने कुरा हामीले हिमालयकी छोरी पार्वतीको कथाबाट पनि बुझिसकेका छौँ । जतिबेलाको समाज जहाँ महिलाहरु घरभित्रै भात, भान्सामा सीमित थिए, शिक्षाबाट समेत बञ्चित थिए ।
खुला समाजमा खुलेर हिड्नलाई पनि त्यति बेलाको समाजले बन्देज गरेको थियो । बाटोघाटो, यातायात सञ्चारका कुनै पनि आजको जस्तो विकसित साधन र माध्यम पनि थिएन । महिला घरभित्र बस्दथे ।
आफ्नो श्रीमानलाई शिर ठाडो पारेर घरपरिवारका माझ ऊसँग खुलम–खुल्ला रुपमा बोल्नलाई पनि छुट थिएन । जस्तोसुकै थिचोमिचो, अन्याय, अत्याचार पनि महिलाले सहनुको विकल्प थिएन त्यसबारे मुख खोल्ने, बोल्ने ठाउँ थिएन, उजुरी गर्ने ठाउँ थिएन, न्याय माग्ने ठाउँ थिएन ।
त्यस्तो अवस्थामा रहेका महिलाहरुलाई वर्षमा एकदिन छुट थियो जहाँ घरमा वर्षभरिका पीडा, बेदना, व्यथा, अन्याय, अत्याचारलाई गीतका भाकाहरुमा मिसाएर दिदीबहिनीसँगै बसेर पोख्ने र मनलाई हलुङ्गो बनाउने हुन्थ्यो ।
अहिलेको जस्तो स्रोत साधन, बाटोघाटो केही नभएको उतिबेलाको समाज जहाँ आफ्ना बाबाआमा, दाजुभाइ, दिदीबहिनी, साथीसङ्गी र सिङ्गो जन्मघरसँगको पुनर्मिलन गराउने भनेकै तीज पर्व थियो । तीजमा माइत जानलाई छुट थियो । विरह र वेदनाका भाखाहरुलाई गाउनलाई छुट थियो ।
जहाँ महिलाहरुले सासूका व्यवहार, श्रीमानको व्यवहार, परिवारको व्यवहार मात्र होइन वर्ष दिनसम्म उनले भोगेका, आईपरेका सबै समस्या गीतमै गाउँथे, गीतमै बिसाउँथे र गीतमै मन बुझाउँथे । यसबाट के भन्न सकिन्छ भने तीज त महिलाहरुको स्वतनत्रताको पर्व रहेछ ।
त्यति मात्र होइन कर्म घरमा पुगेका छोरीचेलीलाई मीठो मसिनो खान र एकसरो लाउनलाई पनि त्यतिबेला तीज नै पर्खनुपर्ने वर्ष भरिमा माइतीबाट पाएको २ जोड घरबाट दिएको २ जोड गरि ४ जोर कपडाले हिउँद, वर्षा, गर्मी चाडपर्व थेग्नु पर्ने अवस्था थियो ।
अहिलेको जस्तो जतिबेला जे चाह्यो त्यही पाउने कुरा थिएन । स्रोत साधन सोच सबैले अहिलेको जस्तो सम्भव पनि थिएन । एकसरो लाउनलाई पनि महिलाले तीज कुर्नुपर्ने, मीठो मसिनो खानलाई पनि तीजको अघिल्लो दिनको माइतीमा गएर खाने दरलाइ पर्खनु पर्दथ्यो ।
यी सबै पक्षले गर्दा पनि तीज पर्व महिलासँग विशेषरुपमा जोडिएको पर्व मान्न सकिन्छ । तर अहिले समय फेरिएको छ । अवस्था फेरिएको छ । महिलाको अवस्थामा परिवर्तन आएको छ ।
समाज बदलिएको छ । स्रोतसाधन, यन्त्र उपकरणले असम्भव भन्ने कुरा केही छैन । त्यसको प्रभाव यदाकदा हाम्रा चाडपर्वहरुमा पनि देखिन थालेको छ । हिजो घरमा सीमित रहेका महिलाको आजको संसार खुला छ, समाज खुला छ ।
महिलाका भूमिका फेरिएका छन् यी सबैका कारण हिजो घर र माइतीसँग मात्र जोडिएका महिला आज सिङ्गो समाज राष्ट्र राज्यका सबै निकाय, संघसंस्था, कार्यालय सबैमा जोडिएका छन् ।
यसले पनि हिजोको जस्तो माइतीमा गएर दर खाने कुरा अब सम्भव छैन । भूमिका पेशा, व्यवसाय र सम्बन्धका आधारमा महिलाको समाज पनि हिजोको जस्तो साँघुरो छैन । अब महिलाको समाज पनि फराकिलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *