ऋणमा डुबेको शान्ति उद्यान

फिचर मुख्य खबर

तुलसीपुर, १३ मंसिर । तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कले जुन किसिमको सफलता प्राप्त गर्नुपर्ने त्यो हुन नसक्दा यसको पूर्वाधार निर्माणमा समस्या देखिएको छ । स्थापना कालदेखि यहाँसम्म आईपुग्दा राप्तीको शान्ति उद्यानको नाममा सात लाख रुपैयाँ ऋणसमेत रहेको समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए । खर्च अनुसार आम्दानी नहुँदा अहिले पनि उक्त ऋण समितिले तिर्न नसक्ने अवस्था रहेको उनले बताए । अर्कोतिर व्यवस्थापनमा भएको कमजोरीका साथै तुलसीपुर उपमहानगरपालिकाले समेत यसको पूर्वाधार विकासमा ध्यान नदिदा लामो समयदेखि यो उद्यानले सोचे अनुरुपको फड्को मार्न नसकेको अध्यक्ष भण्डारीको भनाइ रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा रहेको यो उद्यानको कुल क्षेत्रफल १५ विगाह १४ कठ्ठा रहेको छ । उद्यानको बाहिरी भागमा पर्खाल निर्माण गर्ने कामले पूर्णता पाएपनि यसको भित्रि भागमा पूर्वाधार विकासमा भने कुनै किसिमको सफलता मिलिरहेको छैन ।
तुलसीपुर उपमहानगरले समेत यसको पूर्वाधार विकासमा ध्यान दिन नसकेको राप्ती शान्ति उद्यान पार्क समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए । उपमहानगरपालिकाले तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारण अघि ल्याए पनि सम्भावना बोकेको पार्कको विकासको लागि कुनै बजेटसमेत विनियोजन गर्न नसकेको र ध्यानसमेत नदिएको भण्डारीले बताए । उल्टो पार्क समिति हालसम्म सात लाख ऋणमा डुबेको बताउँदै भण्डारीले भने सम्भावना भएको पार्कको विकासमा कसैको ध्यान नपुग्दा यस्ले जुन फड्को मार्नुपर्ने थियो त्यो हुन नसकिरहेको उनले बताए । पार्कको सौन्दर्यका साथै यसको थप महत्व झल्काउन विभिन्न किसिमका पूर्वाधार निर्माणको योजना बनाईएको छ । त्यो निर्माणको लागि बजेटको व्यवस्था नहुँदा लामो समयदेखि पूर्वाधार निर्माणका योजनाहरु अत्रपत्र जस्तै बनेको भण्डारीले बताए । आयस्रोतको अभावको कारण हाल भएका कर्मचारीहरुलाई समेत तलब खुवाउन समस्यासमेत हुने गरेको उनले बताए ।

उपमहानगरपालिकाले तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारण अघि ल्याए पनि सम्भावना बोकेको पार्कको विकासको लागि कुनै बजेटसमेत विनियोजन गर्न नसकेको र ध्यानसमेत दिएको छैन ।


हाल समिति पार्कको विकासको लागि मास्टर प्लान तयारीको अन्तिम चरणमा रहेको र मास्टर प्लान तयार भए योजना तथा कार्यक्रम माग गर्न केही सजिलो बन्ने आफूहरुले अपेक्षा गरेको भण्डारीले बताए । हाल पार्कभित्र पिकनिक स्थल, बगैचा, चिल्ड्रेन पार्कको व्यवस्था रहेको र त्यो पनि अझै पूर्ण हुन नसकेको उनको भनाइ रहेको छ । चिडियाखाना निर्माण गर्ने प्रकृयामा समिति लागे पनि राज्यको विभिन्न नीतिका कारण केही समस्या भएकोले चिडियाखाना निर्माणमा केही समय लाग्ने र त्यसको लागि आफूहरु लागिरहेको उनले बताए ।
गएको असारदेखि मंसिरसम्म पार्क अवलोकन तथा पिकनिकको लागि १० हजार ९ सय १ जना व्यक्तिहरु पार्कमा प्रवेश गरेकोमा त्यसमध्ये १ सय ७५ वटा समूह पिकनिक कै लागि पार्कमा प्रवेश गरेको तथ्याङ्क पार्क समितिसँग रहेको छ । पार्कमा पिकनिक तथा अवलोकनको लागि जिल्लाभित्रबाट मात्रै नभएर नेपालगंज, टिकापुर, चितवन, बुटवललगायतका स्थानबाट आएको बताउँदै भण्डारीले भने जिल्लासँगै देशका अन्य जिल्लाहरुमा समेत यसको प्रचारप्रसार पुगेकोले यसको पूर्वाधार विकासमा उपमहानगरपालिकाले समेत ध्यान दिनुपर्ने बेला आएको उनले वताए । साथै चिडियाखाना सञ्चालनमा ल्याउन सके पार्कको विकासमा समेत मद्दत पुग्ने उनले बताए । यसको विकास तथा पूर्वाधार निर्माणमा ध्यान दिए पार्क दाङको मात्र नभएर देशकै पर्यटकीय स्थल बन्न सक्ने समेत सम्भावना बोकेको अध्यक्ष भण्डारीले बताए । हाल पार्कभित्र चिल्ड्रेन पार्कको व्यवस्था भएपछि विभिन्न विद्यालयहरुको लागि पार्क एउटा गन्तव्य स्थान बन्न पुगेकोले चिल्ड्रेन पार्कको समेत थप व्यस्थापनमा ध्यान दिन जरुरी देखिएको भण्डारीको भनाइ रहेको छ । हाल चिल्ड्रेन पार्कमा बालबालिका लागि रेल, पिङ, चिप्लेटी, झुलुङ्गे पिङलगायत बालबालिकाहरुका खेल सामाग्रीहरुको व्यवस्था गरिएको छ । त्यसैगरी पार्कमा वुद्धको स्तम्भ, स्विमिङ पुलको निर्माण गरिने तयारी समेत थालिएको भण्डारीले बताए । त्यसको लागि उपमहानगरपालिका, वडा कार्यालय प्रदेश सरकारलगायत केन्द्र सरकारसँग पनि विभिन्न समयमा छलफल भएकोले आउँदा दिनमा पार्कले गति लिनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *