उपमहानगरमा संशोधनसहित विधेयक पारित

मुख्य खबर

तुलसीपुर, २८ चैत । तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । नगर सभाको बैठकले संशोधनसहित छवटा विधेयक पारित गरेको छ ।
नगर सभामा विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गरेको तुलसीपुर विकास बोर्ड गठन सम्बन्धी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बाल संरक्षण तथा सम्वद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गरेको नगर स्वास्थ्य विधेयक संशोधनसहित पास गरेको छ ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव पनि बहुमतले पारित गरेको छ । सभाले तुलसीपुर विकास बोर्ड गठनको विधेयक पारित गरेसँगै ऐन बनाएर अगाडि बढ्ने छ ।
विधेयकमा उल्लेख भए बमोजिम यसभन्दा अगाडि सञ्चालनमा रहेका उपमहानगरपालिका र तत्कालिन गाविसमा रहेका विभिन्न कोषहरुलाई एकीकृत गरेर परिचालन गर्नका लागि वोर्डमा व्यवस्था गरिएको छ ।
विधेयकमा विभिन्न दातृ निकायले सहुलियत दरमा उपलब्ध गराएको ऋण सहयोग उपमहानगरपालिकाका निम्न वर्गका जनताको आर्थिक विकास, सामाजिक विकास, उद्यशीलता र रोजगारी विकासका लागि परिचालन गरिने व्यवस्था पनि गरिएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाको शिक्षा विधेयक पनि संशोधनसहित पारित गरिएको छ । शिक्षा विधेयक पारित भएसँगै शिक्षासँग सम्बन्धित विभिन्न अन्यौलहरु हटेर जाने विश्वास लिएको शिक्षा समितिका संयोजक देवराज विकले बताए ।
नगर सभाले पारित गरेको नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा उल्लेख भए अनुसार विपद् व्यवस्थापनका लागि उपमहानगरपालिकाले छुट्टै आकस्मिक कोषको व्यवस्था गर्ने भएको छ ।
उपमहानगरपालिकाले वार्षिक बजेटबाट स्वीकृति रकमका साथै प्रदेश र संघका साथै विभिन्न दान दातव्यबाट प्राप्त रकमसमेत कोषमा राखेर विपद् व्यवस्थापनको काम गर्नेछ । यसका साथै कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएमा संकटग्रस्त क्षेत्रका रुपमा समेत घोषणा गर्ने प्रावधान विधेयकका राखिएको छ ।
नगरसभाले तुलसीपुर उपमहानगरपालिकाको बाल संरक्षण नीति र नगर स्वास्थ्य विधेयकसमेत पारित गरेको छ । नगर सभामा नगरसभा सदस्य सुरेश श्रेष्ठ, अजय बुढाथोकी, मदन बस्नेत, घनश्याम गौतम र युवा करारालगायतले विभिन्न विधेयकमा संशोधन प्रस्ताव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *