उपमहानगरमा ‘क्यासलेस’

मुख्य खबर

तुलसीपुर, ५ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरको कार्यालयलाई क्यासलेस बनाउने भएका छन् ।
उपमहानगरपालिकाले आगामी साउन १५ गतेभित्र आर्थिक कारोवार पूर्णतः बैकिङ प्रणालीमा गर्नका लागि काम अगाडि बढाएको छ । ‘अहिले काउन्टर निर्माणको काम भइरहेको छ, एक सातामै सञ्चालनमा आउनेछ’ मेगा बैंक तलसीपुर शाखाका म्यानेजर राजन भण्डारीले बताए ।
आर्थिक पारिदर्शीताका साथै जनतालाई बैकिङ प्रणालीप्रति अभ्यस्त बनाउनका लागि यस्तो गर्न लागिएको नगर प्रमुख पाण्डेले बताए । उनले क्रेडिक कार्ड बोक्नेहरुले स्वैप मेसिनबाट र अन्यले उपमहानगरपालिका कार्यालयभित्र रहेको मेगा बैंकको काउन्टरबाट पैसा तिर्न सकिने पनि बताए ।
उपमहानगर भित्र शाखा राख्नका लागि बैंकहरुलाई आह्वान गरिएको थियो । आह्वान गरिएका बैंकहरुमध्ये मेगा बैंकले नगद संकलन काउन्टर राख्ने भएको हो ।
वित्तीय अधिकृत ललित बहादुर घर्तीका अनुसार उपमहानगरका १९ वटै वडामा स्वैप मेसिन राख्ने प्रक्रिया पनि अगाडि बढेको छ । ‘पहिलो चरणमा तुलसीपुर कार्यालयमा क्यास काउन्टर र स्वैप मेसिन जडान हुन्छ त्यसपछि वडा–वडामा लगिनेछ’ अधिकृत घर्तीले भने ।
उनका अनुसार उपमहानगरपालिका भित्रै सेवाग्राहीको सहजताका लागि एटिएम मेसिनसमेत राखिने भएको छ ।
सेवाग्राहीहरुलाई कार्डको प्रयोगतर्फ आकर्षित गर्नका लागि कार्ड प्रयोग गर्नेहरुलाई केही प्रतिशत छुट दिने योजनामा उपमहानगरपालिका रहेको प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।
उपमहानगरलाई पेपरलेस बनाउनका लागि घटना दर्ता र कर संकलन अनलाईनमार्फत गर्न थालिएको छ भने घर, जग्गा नक्सा पासलाई पनि यो आर्थिक वर्षबाट अनलाइनमा लैजाने गरी तयारी भइरहेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *