उपभोक्ता अधिकारलाई ख्याल गर्न आग्रह

फिचर मुख्य खबर

तुलसीपुर, ८ कार्तिक । चाडपर्वमा उपभोक्ता अधिकारलाई विशेष ध्यान दिन तुलसीपुर उद्योग वाणिज्य संघले ब्यवसायीहरूलाई अनुरोध गरेको छ । वाणिज्य संघको बिहीबार बिहान सम्पन्न भएको नियमित बैठकले चाडपर्व नजिकिँदै जाँदा बजारमा कुनैपनि दैनिक उपभोग्य सामानहरूको अभाव हुन नदिन पनि ब्यवसायीहरूलाई अनुरोध गरेको छ ।
वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुने गरेको भन्दै तत्काल स्थानीय सरकार र सरोकारवालालाई समयमै सचेत रहेर ब्यवस्थापन गर्न मागसमेत गरेको छ ।
बजारमा उपभोक्तहरूको किनमेल गर्नेहरूको भिडभाड हुने, देउसी–भैलो खेल्ने समूहको समेत बाक्लो उपस्थिति रहने हुँदा त्यसतर्फ समेत विशेष ध्यान दिन स्थानीय प्रशासनसँग अनुरोध गरेको छ ।
बैठकमा बोल्ने वक्ताहरूले स्थानीय सरकारले सम्भाब्यता अध्ययन नै नगरी हचुवाको भरमा आवश्यक भन्दा धेरै कर लगाएको भन्दै उपमहानगरपालिकालाई तत्काल निर्णय सच्याउन अनुरोध गरेका छन् । उनीहरूले उपमहानगरले बोलीमा एउटा र ब्यवहारमा अर्को काम गर्दै जाँदा ब्यवसायीहरू चर्को कर तिर्न बाध्य भएको गुनासो गरे ।
मेयर सापसँग एउटा कुरा हुन्छ कर्मचारीले निर्णय गर्दा अर्कोतिर मोडिदिन्छन् अनि समस्या झन जटिल बन्दै जान्छ एकजना ब्यवसायीले भने ।
बैठकमा तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहललाई संघका सल्लाहकार एवं तुलसीपुरका उद्योगपति नारायण खनालले एक लाख एक हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरे । निर्माणाधीन सभाहलको काम ७५ प्रतिशत सकिएको छ ।
बैठकले संघका महासचिव रूपबहादुर खत्री सहयोगी बचत संस्थाको अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियोे । बैठकमा संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बिमल रिजाल, सल्लाहकारहरू सुरेश हमाल, नारायण खनाल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव रूपबहादुर खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *