गढवा, १२ मंसिर । गढवा गाउँपालिकाले यस बर्षका विकास योजनाहरु कार्यान्वयन गर्न उपभोक्ताहरुलाई धमाधम तालिम दिइरहेको छ । शुक्रबारदेखि सुरु भएको तालिम वडा नम्बर ३, ४ र ५, वडा नम्बर ८ कोइलाबास र वडा नम्बर ६ र ७ मा सम्पन्न भै सकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । विकास निर्माणका योजनाहरु सम्पन्न गर्न उपभोक्ता समितिहरुलाई विगतको जस्तै झञ्जट ब्यहोर्न नपरोस् र योजनाहरु समयमै पारदर्शी ढंगले सम्पन्न होउन, विकास योजना कार्यान्वयनमा सुशासन कायम होस् भनेर तालिम सञ्चालन गरिएको अध्यक्ष यादवले बताए । हालसम्म ६७ वटा उपभोक्ता समितिका तीनसय बढी पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । मंगलबार गढवा गाउँपालिकाले आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारीहरुलाई विकास निर्माण योजना सञ्चालन तथा कार्यान्वयनसम्बन्धी अनुशिक्षण कार्यक्रममा उपस्थित भएका ३३ वटा उपभोक्ता समितिका ६० जना बढी पदाधिकारीहरु बडो उत्सुकताका साथ विकास योजना निर्माण र त्यसको फरफारक गर्ने तरिका थाहा पाउन वडा नम्बर ६ र ७ को कार्यालय परिसरमा भेला भएका थिए । गढवा गाउँपालिकाले यसबर्ष सबै वडाहरुमा विकास निर्माणका योजनाहरुलाई सहज ढंगले कार्यान्वयन गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिन थालेको हो ।
कार्यक्रम पछि विकास निर्माणका योजनाहरुमा काम गर्ने र त्यसको फरफारक गर्ने तरिका थाहा पाउन उपस्थित भएका अधिकांश उपभोक्ता समितिका पदाधिकारीहरुले क्रमागत ढंगले यसरी काम गर्नुपर्ने थाहा पाएको बताए । अब हामी प्रकृयागत ढंगले आफ्ना विकास योजनाहरुलाई कार्यान्वयन गर्न सक्छाँै तालिमका सहभागी अधिकांश उपभोक्ताले बताए । बिगतमा पनि यसरी सिकाइ भएको भए योजना कार्यान्वयन गर्न र बजेट निकासी गर्न सहज हुने आम उपभोक्ता समितिका पदाधिकारीहरुको धारणा छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको अनुशिक्षण अभिमुखीकरणमा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उपभोक्ता समितिलाई योजना सञ्चालन गर्दा तथा बजेट निकासा गर्दा झञ्जट नहोस्, भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ति चौधरीले योजनाहरु पारदर्शी हुनुपर्ने र पटक–पटक अनुगमन पनि गरिने बताए । कार्यक्रममा गाउँपालिकाका लेखा फाँटका कर्मचारी सुरेश पौडेल, योजना अधिकृत मुक्तिराम सुवेदी, सव–इन्जिनियर चन्द्रप्रकाश वलीलगायतले उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिएका थिए । गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बालचन्द्र हमाल ठकुरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना अधिकृत मुक्तिराम सुवेदीले गरेका थिए ।