उद्यम गर्ने युवालाई लगानी गर्छाैः नगरप्रमुख पाण्डे

मुख्य खबर

तुलसीपुर, २६ असार । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उद्यमशील काम गर्न खोज्ने युवालाई विना ब्याज लगानी गर्ने बताएका छन् । युवाहरु रोजगार खोज्नमा भन्दा पनि रोजगार सिर्जना गर्नमा अग्रसर हुनुपर्ने कुरामा उनले जोड दिए । ‘हामीले जागिर खाने होइन सिर्जना गर्नुपर्दछ’ उनले भने ।
तुलसीपुरले विकास प्राधिकरण मार्फत ३ करोड रकम उद्यमशीलतामा खर्च गर्न लागेको उनको भनाई छ । उद्यमशीलताको काम अगाडि बढाउनका लागि पैसा मात्रै सबथोक नभएको बताउँदै नगरप्रमुख पाण्डेले आँट, साहस र मेहनतले उद्यमशीलताको विकास हुने कुरामा जोड दिए ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले आयोजना गरेको उद्यमशीलता तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले तालिम लिएर रमाउने भन्दा पनि त्यसलाई व्यवहारमा लागू गर्न ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उद्यमशीलताले मात्रै देशलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन सम्भव हुने बताए ।
युवाहरु अलमलमा भन्दा पनि लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले काममा आधारमा उद्यमशीलताको विकास हुने कुरामा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष सुरेश रावत, तुलसीपुर गौशाला संरक्षण सहकारीका अध्यक्ष मोहन भण्डारी, उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेले आजका युवाहरुले रोजगारका लागि अरुको मुख ताक्ने भन्दा पनि आफै रोजगारी सिर्जना गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
तुलसीपुर उपमहानगरका ६५ जना युवाको सहभागिता रहेको तालिममा ७ दिनसम्म उद्यमशीलता सम्बन्धी विभिन्न तालिम दिइएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका अधिकृत चक्रबहादुर खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *