उद्यमीमार्फत फेरिएको जीवनशैली

समाज

घोराही, १५ बैशाख । ‘छिमेकीहरु घरमा ढुक्क भएर सुत्थे । म त्रिपाल हावाले उडाउँछ भनेर रातभर पकडेर बस्थे । कसैले दुई रुपैयाँ पत्याउदैनथ्यो ।’ यो भनाइ हो घोराही मुक्त कमैया बस्तीकी शोन्तला चौधरीको ।
ग्रामीण महिला उत्थान केन्द्र आत्मनिर्भर लघुवित्त संस्था लिमिटेडले आयोजना गरेको केन्द्र प्रमुखहरुसँग वार्षिक समीक्षा गोष्ठीमा चौधरीले आफ्नो विगत यसरी नै बताएकी थिइन् ।
‘साझ खाए, बिहान के खाउ, बिहान खाए साझ के खाउ भन्ने चिन्ता हुन्थ्यो’ उनले भनिन् ‘त्यसैक्रममा ग्रामीण महिला उत्थान केन्द्रका मेडमहरु जानु भो, जसको सहयोगले अहिले सफल उद्यमी बन्न सफल भएको छु ।
पाँच रुपैयाँबाट बचत गर्न शुरु गरेकी चौधरीले अहिले चार कोठाको घर, फर्निचर, पसल भएको बताइन् ।’ ‘त्यो समयमा पाँच रुपैयाँ बचत गर्न पनि धेरै नै गाह्रो हुन्थ्यो’ कार्यक्रममा उनले भनिन् ‘हिजो आज बचत गर्ने बानी परिसक्यो ।’ अहिले आफूलाई सफल उद्यमी भनेर चिनाउदा निकै खुशी भएको बताईन् ।
‘म कमैया परिवारको मान्छे, यस्तो अवसर कहाँ पाउनु ?’ उनले भनिन् ‘ग्रामीण महिला उत्थान केन्द्रले समुह गठनसँगै बचत गर्न लगाएपछि मेरो जीवनशैली नै फेरिएको छ, आज यसरी मञ्चमा निर्धक्क बोल्न सक्ने भएको छु ।’
संस्थाले विश्वास गरेर ऋण दिएपछि व्यवसाय गरेको बताइन् । पहिलेको दिनमा निरासै निरासमा दिन बित्ने गरेको बताइन् । हिजोआज कहिकतै गएपनि व्यवसाय के भए होला ?
घाटा हुन्छ भन्ने मात्रै मनमा आउँछ’ उनले त्यो बेला खुशी हुँदै भनेकी थिईन् ‘पसल छोड्नै मन लाग्दैन, अहिले पनि सम्झेको छु ।’ हिजोआज व्यवसायकै कारण खाना खाने पनि फुर्सद नभएको उनले बताइन् । संस्थाले ऋण दिएपछि श्रीमान श्रीमती नै व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो ।
संस्थाबाट शुरुमा पाँच हजारबाट लगानी गरेकी हिजोआज घोराही उपमहानगरपालिका वडा नं १६ की पार्वती थापाले पाँच लाखको कारोबार गर्छिन । उनले गाई फार्म दर्ता गरेर सफल उद्यमीसमेत भईसकेकी छन् ।
‘छवटा गाई पालेको छु त्यो पनि आधुनिक गोठमा’ उनले खुशी व्यक्त गर्दै भनिन् ‘मासिक सत्तरी, असी हजार रुपैयाँ आम्दानी गर्छु ।’ उनले गाई मात्र पाल्दैनिन् गाईबाट जम्मा भएको मलले १० कठ्ठा जग्गामा तरकारी खेती पनि गर्छिन् ।
‘समूहमा हामी ४१ जना छौँ’ उनले भनिन् ‘संस्थाले ऋण दिएपछि सबैले विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गरेका छौँ ।’ समूहमा कसैले बंगुरपालन गरेको, कसैले तरकारी खेती, कुखुरापालन गरेको उनले बताईन् ।
व्यवसायबाट भएको आम्दानी बचत गर्ने र पैसा दुरुपयोग नभएको उनले बताइन् । महिलाहरु उद्यमी भएपछि घर परिवार व्यवस्थित भएको, एकजनाको चोखो आम्दानी बच्ने गरेको उनले बताइन् ।
सोन्तली र पार्वती मात्र होइन् ग्रामीण महिला उत्थान केन्द्रमार्फत ऋण लिएर सयौँ महिलाहरु सफल उद्यमीको रुपमा परिचित छन् । संस्थाबाट ऋण लिएर कसैला बाख्रापालन, कसैले बंगुर व्यवसाय गरेर सफल उद्यमी भएका छन् भने विभिन्न व्यवसाय गरेर आत्मनिर्भरसमेत बनेका छन् ।
संस्थामा ४ हजार ७ सय वढी सदस्यहरु आवद्ध छन् भने २ सय ३७ वटा केन्द्र छन् । यसैक्रममा संस्थाले केन्द्र प्रमुखहरुलाई भेला गराएर वािर्षक समीक्षा गरेको थियो । कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरुले संस्थाको लगानीले आफूहरु सफल उद्यमी बन्न सफल भएको र उद्यमीहरुको अवस्था हेरेर लगानी बढाउन सुझाव दिएका थिए ।
त्यस अवसरमा वर्ष उत्कृष्ट सफल केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो । संस्थाले घोराही–१३ अन्नपूर्ण महिला उत्थान केन्द्र, घोराही–१६ को बयरबटुवामा रहेको नवपालुवा महिला उत्थान केन्द्र, घोराही–१५ भरतपुरमा रहेको सगरमाथा महिला उत्थान केन्द्र, घोराही–१८ रझेनामा रहेको स्वर्गद्वारी महिला उत्थान केन्द्रलाई उत्कृष्ट केन्द्रको रुपमा पुरस्कृत गरेको थियो ।
आत्मनिर्भर लघुवित्तीय संस्थाकी अध्यक्ष तिर्सना चौधरीको अध्यक्षतामा एवं नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, पत्रकार नारायण विवशलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *