ई–रिक्सा नियन्त्रणमा

मुख्य खबर समाज

तुलसीपुर, २५ पुस । दाङमा मापदण्ड विपरीत सञ्चालनमा आएका ई–रिक्सालाई प्रहरीले नियन्त्रण गर्न थालेको छ । प्रहरीले मापदण्ड विपरीत सञ्चालनमा आएका ई–रिक्सा र अटोहरुलाई मापदण्डबाट सञ्चालन गराउने भन्दै कडाइ गर्न थालेको हो । जिल्लाको तुलसीपुर क्षेत्रमा यो अभियान चलाइएको छ । तुलसीपुरका बजार र गाउँ–गाउँमा सञ्चालन भैरहेका ३ सय ८१ बढी ई–रिक्सा र तीन पाङ्गे्रलाई चेकजाँच पछि नियन्त्रणमा लिइएको छ ।
तुलसीपुरबाट करिव ३ सय ८१ अटो ब्यवसायीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी लाईसेन्स नभएका, दर्ता नभएका, रुट परमिट र लाईभ ज्याकेट नलगाई सवारी सञ्चालन गरिरहेकालाई प्रहरीले नियन्त्रणमा लिइको हो । आवश्यक छानबीनका लागि नियन्त्रणमा लिईएका तुलसीपुर ट्राफिकले बताएको छ । यसैबीच ई–रिक्सा व्यवस्थापनका लागि कार्यविधि बनाएर जाने सहमति गरिएको छ । मंगलबार तुलसीपुरमा बसेको सरोकावालाहरुको बैठकले अबको १५ दिनभित्र तुलसीपुर उपमहनगरपालिकालाई ई–रिक्सा सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गर्न आग्रह गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले त्यस्तो सहमति कायम गरेको हो ।
मंगलबार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले अटो व्यवस्थापन गर्न भन्दै सवारी चालक लाईसेन्सविना नै सञ्चालन हुँदै आएका ३ सय ८१ वटा नियन्त्रणमा लिएपछि बसेको सरोकारवालाहरुको बैठकले अबको १५ दिनभित्र तुलसीपुर उपमहानगरपालिकाले अटो सञ्चालनसम्बन्धी कार्यविधि बनाउने र त्यसैको आधारमा अटो व्यवस्थापन गर्ने सहमति भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत आनन्द सारुले कार्यविधि नहुँदा नियम विपरीत सञ्चालनमा आएका अटोहरुलाई कारवाही गर्न अप्ठेरो परेको हुँदा पहिले कार्यविधि बनाएर व्यवस्थापनको प्रक्रिया सुरु गर्ने सहमति भएको बताए । बैठकपछि दाङ जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले एक महिना भित्रै सम्पूर्ण अटोहरुको विमा लगायतको प्रक्रिया गरिसक्ने सहमति भएको बताए । बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाही, जिल्ला ट्राफिक कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कँवर, नमस्ते यातायात प्रालिका अध्यक्ष भानुभक्त पार्धे, छहरा यातायात प्रालिका अध्यक्ष विकास वलीलगायतले अटो व्यवस्थापन गर्ने बारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । तुलसीपुरमा हाल सातसय बढी अटोरिक्सा सञ्चालनमा रहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *