आर्थिक समृद्धिका लागि सहकारी

मुख्य खबर

तुलसीपुर, १० असोज । समाजको आर्थिक समृद्धिका लागि सहकारी महत्वपूर्ण संस्था भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् । आर्थिक सशक्तिकरण र अर्थोपार्जनका लागि पछिल्लो समय सहकारी लोकप्रिय संस्था बन्दै गएको भन्दै उनीहरुले लगानी थप फराकिलो बनाउनुपर्ने बताएका छन् । टरिगाउँ महिला साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभाका अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।
संस्थाका अध्यक्ष भगवती धितालको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अवसरमा उनीहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउका लागि विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्न माग राखेका छन् ।
सहकारीले सामाजिक विकासका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै उनीहरुले सहकारी विकास र यसको सवलीकरणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले सहकारी संस्थाहरु नै पछिल्लो समय बेरोजगारी युवायुवतीलाई रोजगार प्रदान गर्दै आएको बताए । कृषिबाट परिवारको अर्थोपार्जन गर्न चाहनेहरुका लागि कर्जा लगानीको समेत व्यवस्था गरिएको भन्दै समाजको विकासका लागि सहकारी महत्वपूर्ण संस्था भएको उनले बताए ।
सहकार्य गरेर अगाडी बढे आम्दानीका अवसरहरु प्रशस्त भेटिने भन्दै उनले सहलगानी गरी सीपमूलक व्यवसाय गर्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा शेयर सदस्य सुशीला दाहाल, भीम बहादुर बस्नेत, जिल्ला सहकारी संघ दाङका लेखा समिति सदस्य नारायण भण्डारी, महिला नेतृ विमला वली, वडा नं. १२ का वडा सदस्य मान बहादुर केसी,
सिर्जना महिला सहकारी संस्थाका अध्यक्ष सुलोचना केसी, धनौरी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टेक बहादुर पाण्डे, महिला मानवअधिकारकर्मी शुष्मा रिजाललगायतले वर्तमान समयमा सहकारी संस्थाको महत्व र यसको आवश्यकताका बारेमा शेयर सदस्यहरुलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुलाई सम्मानसमेत गरिएको छ । ६० वर्षमाथिका वृद्ध महिला शेयर सदस्यहरु र असल बचतकर्ताहरुलाई सम्मान गरिएको हो ।
संस्थाकी उपाध्यक्ष बालिका पाण्डेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाकी प्रबन्धक सुनिता भण्डारीले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण लेखा समिति संयोजक पुष्पा लामिछानेले गरेकी थिईन् ।
नयाँ सञ्चालक समिति
यसैबीच सहकारी संस्थाले नयाँ सञ्चालक समिति गठन गरेको छ । भगवती धितालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बालिका कुमारी केसी, सदस्यमा ओम कुमारी खत्री रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा ममता चौधरी, घना अधिकारी, हुर्मता बुढाथोकी, सविता चौधरी, बिमला चन्द, अनिता बस्नेत, सुशीला कुमारी खड्का र रीता शाह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *