विजौरी, २५ असार ।
आयुर्वेद चिकित्सा र औषधीको उत्पादनका लागि सोमबार तुलसीपुरमा छलफल कार्यक्रम भएको छ । प्रदेशस्तरको आयुर्वेद औषधि उत्पादनको सम्भाब्यता अध्ययनका लागि सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले छलफल कार्यक्रम गरेको हो ।
छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले आयुर्वेद पद्धतिको उपचारका बारेमा ब्यापक प्रचार तथा त्यसका प्रभावका बारेमा जानकारी दिन सक्नुपर्ने बताएका थिए । क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरीका प्रमुख डा. रामकामेश्वर शाहको अध्यक्षतामा कार्यक्रम भएको होे ।
आयुर्वेद पद्धतिबाट प्रभावकारी उपचार प्रक्रिया अगाडि बढ्न नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै सहभागी बक्ताहरुले आयुर्वेद शिक्षण अस्पताललाई सक्रिय बनाउन आग्रह गरेका थिए । संस्कृत विश्वविद्यालयले बेलझुण्डीमा शिक्षण अस्पताल स्थापना गरे पनि आवश्यक जनशक्तिको अभावमा समस्या भएको भन्दै सरकारले त्यसको सञ्चालनमा ध्यान दिुपर्ने बताएका थिए ।
कार्यक्रममा चिकित्सालय विकास समितिका अध्यक्ष भैरव मजगैयाँ, सदस्य बंशीकुमार शर्मा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका प्राचार्य डा. सुनिल शाह, जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश ओली, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
