आयुर्वेदिक शिक्षा आवश्यकः महरा

फिचर मुख्य खबर

तुलसीपुर, १८ असार । संघीय संसदका सभामुख कृष्ण बहादुर महराले राष्ट्रको फाइदाका लागि स्थानीय जडिवुटीहरुको परिचालन गर्नुपर्ने बताएका छन् । वर्तमान समयमा राष्ट्रिय गौरवको रुपमा आयुर्वेदिक चिकिस्ता क्षेत्र विस्तार हुँदै गएकाले यसका लागि जडिवुटी तथा स्थानीय श्रोत र साधनको प्रयोग भरपर हुनुपर्ने बताए ।
राप्ती आयुर्वेद चिकित्सालयले आयोजना गरेको आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्वोधन गर्दै महराले यस्तो बताएका हुन् । महराले पछिल्लो समय स्वास्थ्य उपचारका लागि विभिन्न प्रविधि उपकरणहरु आएको भए पनि आयुर्वेद उपचार नै सबैका लागि सर्वोत्कृष्ट उपचार पद्धति भएको बताएका हुन् ।
हरेक नेपाली दीर्घजीवि र निरोगी बन्नका लागि सर्वप्रथम आयुर्वेदलाई नयाँ मोडलको रुपमा विकास गर्नुपर्ने बताए । राष्ट्रियस्तरमा रहेका जडिवुटी तथा स्थानीय स्तरमा पाईने स्रोत र साधनको प्रयोग गर्दै जाने हो भने आयुर्वेदिक उपचार पद्धतिको विकास गर्न सकिने उल्लेख गरे ।
नेपालको आयुर्वेदिक उपचार, आयुर्वेदिक शिक्षाको सम्भावना एकदमै बढी छ महराले भने ‘यसका लागि सर्वप्रथम जनताको चाहना र सरकारको चाहना हुनुप¥यो । आयुर्वेदिक शिक्षालयमा मात्र नभई माविस्तरका विद्यालयहरुमा समेत पाठ्यक्रम निर्धारित गरी पठनपाठन सञ्चालन गर्नुपर्ने बताए ।

नेपालको आयुर्वेदिक उपचार, आयुर्वेदिक शिक्षाको सम्भावना एकदमै बढी छ

तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रलाई स्वास्थ्य उपचारको केन्द्रको रुपमा विकास गर्नका लागि नीजि तथा सामुदायिक अस्पतालसँगको सहकार्यता गर्ने तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रमका प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेदविज्ञ डा.बुद्धिप्रसाद पौडेलले सातै प्रदेशमा ५० शैंयाको आयुर्वेद अस्पताल स्थापना गरिनुपर्नेमा जोड दिए ।
साथै उनले प्रत्येक स्थानीय तहमा आयुर्वेद चिकित्सकसहितको आयुर्वेद स्वास्थ्य संस्था स्थापना, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रको लागि बजेट सुनिश्चित गर्नुपर्ने बताए ।
नेपाल संस्कृत विश्वविद्यालय तथा आयुर्वेदिक संस्थानका डिन सञ्जय पोख्रेलले आयुर्वेदिक चिकित्साको ज्ञान आम नागरिकमा जबसम्म हुँदैन तबसम्म आयुुर्वेदिक चिकित्सा सेवा सफल नहुने दाबी गरे । उनले संघ र प्रदेश सरकारले यस क्षेत्रको समस्या, अवस्था र चुनौतीका विषयमा विशेष चासो दिनुपर्ने माग राखे ।
कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख आश्मा केसीले विशेषगरी स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुले आयुर्वेदिक उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताईन । आयुर्वेदिक क्षेत्रमा जनशक्ति, बजेट र औषधीको व्यवस्थापनमा निकै समस्या भएकाले यसको व्यवस्थापनमा प्रदेश र संघले विशेष ध्यान दिनुपर्ने माग राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *