- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरआमाको डायरी

आमाको डायरी

- Advertisement -spot_img

मेरो प्यारो छोरा बिहानै भालेको डाको सँगै म झल्यास्स ब्युझिएँ । र सम्झिए तिमीले कुनै दिन मलाई सुनाएका जिन्दगीका गीतहरु । तिमीले मलाई दिने सहाराका श्लोकहरु । तिमीले एकदिन अनुहारभरी दुःख पोतेर भन्यौँ ‘आमा हामी दुईजना अब विदेश जाने भयौं र तपाईंलाई लग्न नसक्ने भयौं । नेपालको कमाइले केही नहुने भयो । जाबो दुईचार पैसाले के गरी जिन्दगी कटाउनु ।
मिठो–मिठो खान, सुन्दर घर बनाउन, लाउन, घुम्न केही पुग्दैन । दुई/चार बर्ष तपाईं यतै बस्नुहोस् अनि त्यसपछि हामी ब्यबस्था मिलाउँला तपाईंलाई एक्लै छोड्ने छैनौं । हामीसँगै राख्नेछौ । अहिलेलाई त्यो ब्यवस्था नमिल्ने भयो । हामी हाम्रै लागि जाँदैछौ । केही पीर नलिनुहोला आमा ।’
मेरो प्यारो छोरा तिम्रोभन्दा बढी मलाई राम्रोसँग थाहा थियो । तिमीले खाए नखाएको, लाए नलाएको, घुमे नघुमेको ।
तिमीलाई याद होला जब तिमी सानै थियौं, म काममा ब्यस्त हुँदा, भोक लाग्यो आमा भनेर मेरो काखमा लुट्पुटिन्थ्यांै । एकछिन है बाबुभन्दा रोएरै जित्दथ्यौ अनि मैले नदिई नखुवाई हुन्नथ्यो । तिमीलाई अघाएपछि मात्र म आफ्नो काममा जान्थे ।
हेर्दाहेर्दै तिमी तोते बोल्ने भयौं । टुकुल–टुकुल हिड्ने भयांै । हेर्दाहेर्दै म सँगसँगै हाँस्ने, खेल्ने भयौं । यहि घरमा त हो तिमी जन्मदा तिम्रो बाले र मैले तिम्रो लागि पहिलो सपना देखेको । यहि आँगन त हो तिमी तिम्रो बाको औंला समातेर हिड्न सिकेको । यहि मझेरीमा त हो तिम्रो बाले तिमस्लाई कपुरी क सिकाएको ।

मेरो प्यारो छोरा सानोमा तिमीले खेलेको आँगन, पढेर बसेको मझेरी, करेसाबारी, पाखाबारी, गैरीखेतमा चिप्लेटी खेल्दै ठूलो मान्छे भएको तिमी । अहिले यिनै तिमीलाई सानो लाग्न थाल्यो र परदेशको आँगन चाहिँ महल लाग्न थाल्यो है ! अनि यहि मेरो काखमा बसेर मेरा दूधका लाम्टाहरु चुसेर ठूलो भएको तिमी ! अहिले तिमीलाई परदेशको काखमा बसेर बियर र ह्विस्की चुस्दा मेरो दूधभन्दा बढी मीठो लाग्न थाल्यो है ? त्यसैले त फर्केर आएनौं !

जिन्दगीको पहाडबाट बगेका पसिना र जिन्दगी कै खल्ती बेचेर तिमिलाई ठूलो बनाउने तिम्रा बाको सपना थियो । त्यो सपना तिमीले साकार पा¥र्यौँ म निकै खुशी भएँ । अहिले तिम्रा बा भैदिएको भए म भन्दा नि धेरै खुशी हुनुहुन्थ्यो होला सायद । तर तिमी अहिले ठूलो मान्छे भएको तिम्रा बाले देख्न पाउनुभएन ।
मेरो प्यारो छोरा तिम्रो बाले मलाई छोडेर गएपछि मेरो मन, मुटु, हृदय कस्तो भयो होला ? एकपटक सोच त ! त्यो बेला तिमी पनि त रोएका थियौं म म सँगसँगै ! अनि फेरि मलाई नै सम्झाएका थियौं । ‘आमा नरुनुहोस् बाले छोडेर गए पनि म तपाईंलाई छोडेर कहि कतै जाने छैन गए पनि म सँगै लानेछु ।
त्यसपछि अब बितेको कुरा फर्केर आउँदैन भनेर आफ्नो मनलाई आफैले सम्झाए । तिम्रै मुख हेरेर बालाई बिर्सिए । त्यसपछि ओठमा हाँसोहरु खेल्दै थिए । आँखामा खुशीहरु भर्खरै नाच्दै थिए । लागेको थियो तिमी सधैं मेरो वरपर नै रहने छौँ ।
मेरो आशा, भरोसा, खुशी, मेरो आशीर्वाद तिम्रै काँधमा राखेर हिड्नेछौं । मेरै काखमा बसेर, घरको करेसामा उम्रिएको सागको गुन्द्रुक र पाखा बारीमा उमारेको मकैको ढिडो खाएर त तिमी ठूलो मान्छे भएका हौं ! तर अहिले तिमी मिठो खोज्छौं ?
आकाशबाट घरभित्र देखिने जून ताराको उज्यालोमा तिमीले कपुरी क पढेका हौं ! अहिले सुन्दर घर खोज्छौं ? टालो हालेको कपडा लाएर तिमी ठूलो भएका हांै ! अहिले राम्रो खोज्छौ ? यहि आँगनमा घुमेर तिमीले बाको हात समात्न सिकेका हौं ! अहिले बाहिर घुम्न खोज्छांै ?
यही आँगनीलाई थाहा छ । यो मझेरीलाई थाहा छ । यो बार्दलीलाई थाहा छ । यो बाँसघारीमा बहने हावालाई थाहा छ । त्यो बीच खेतमा उभिएको बूढो सिमललाई पनि थाहा छ । अनि यो धर्ती, यो आकाश, यो घाम, यो पानी, यो बाटो सबै–सबैलाई थाहा छ ।
तिमी कसरी हुर्किएर ठूलो मान्छे भयौं भन्ने कुरा । अहिले तिमी आकाश छुने सपना देख्छौं ? ‘यस्तो भन्न मन थियो तर भन्न सकिन । किनकी तिमी जन्मदिने आमालाई त छोडेर जाँदै थियौं ।
मैले तिम्रा सपनाहरू मारेर कसरी मलाई छोडेर नजाऊ भन्न सक्छु र ! छोराछोरीको लागि बा–आमाले जस्तोसुकै दुःखको पहाड पनि त उक्लन सक्छन् । तिमी त मलाई केही समयको लागि त छोडेर जान लागेका हौं नि !
मेरो प्यारो छोरा तिमीले मलाई छोडेर गएदेखि म एक्लो भएँ । तिमीले सपना देखेको सिरानीको माथि भित्तामा टाँसेको तिम्रो फोटो हेर्दै तिमीलाई नै पर्खेर बसे । सम्झे तिमी मेरो रगत पो हांै ! त्यसैले तिम्रै खुसी र सुखको कामना गर्न थाले ।

समय बिस्तारै हिड्दै गयो म पनि उसको पछि–पछि लागे । तिमी आउने दिन गन्न थाले । एक्लै आँगनीमा बसेर कुरिरहेँ । तिमी आउने दिन गयो, महिना गयो, बर्ष गयो ।
हरेक बिहान आँगनीमा घाम मुस्कुराउँदै आउँछ जान्छ । तर तिमी आज आउला भोलि आउला भन्दाभन्दै कहिल्यै फर्केर आएनौं । अब त दुःखको पहाडबाट चियाउने आशाको घाम नउदाउँदै डुबेर अँध्यारो भयो । यो घर, यो आँगनी, यो मझेरी, यो बाटो सबै–सबैले साथ छोड्दै गए कोहि पनि आफ्ना भएनन् ।
मेरो प्यारो छोरा आफ्नै रगत पसिना बेचेर, आधा पेट आफूले खाएर तिम्रो पेटभरी बनाइदिएँ मैले ! जुन आशा र भरोसाले तिमीलाई ठूलो मान्छे बनाए ति आशाहरु केवल मेरो भ्रम मात्र रहेछ । म त्यो खोक्रो सपनामा मात्र दौडेकी रहिछु ।
एक्लै बस्न आफ्नै शरीरले साथ दिएन र म बृद्धाश्रमतिर लागे । म हिडेको बाटो मेरो रहर हैन बरु बाध्यता र आवश्यकता थियो । जुन आवश्यकतामा तिमी मसँग थिएनौं ।
मेरो प्यारो छोरा ! मैले नजन्माएका तर मलाई सहारा दिने छोराछोरी त्यहीँ भेटाएँ मैले । तिमी त मेरो रगत, मैले जन्माएको छोरा पो थियौं क्यारे ! अहिले त घर रित्तो छ । करेसाबारी र पाखाबारी बनमाराले छपक्कै ढाकिसक्यो ।
गैरी खेत पनि बाँझै छ, अहिले त चिराचिरा परिसक्यो होला । मेरो प्यारो छोरा सानोमा तिमीले खेलेको आँगन, पढेर बसेको मझेरी, करेसाबारी, पाखाबारी, गैरीखेतमा चिप्लेटी खेल्दै ठूलो मान्छे भएको तिमी । अहिले यिनै तिमीलाई सानो लाग्न थाल्यो र परदेशको आँगन चाहिँ महल लाग्न थाल्यो है !
अनि यहि मेरो काखमा बसेर मेरा दूधका लाम्टाहरु चुसेर ठूलो भएको तिमी ! अहिले तिमीलाई परदेशको काखमा बसेर बियर र ह्विस्की चुस्दा मेरो दूधभन्दा बढी मीठो लाग्न थाल्यो है ? त्यसैले त फर्केर आएनौं !
मेरो प्यारो छोरा खै ! अब कसरी सम्झौ र तिमीलाई अनि कसरी बिर्सियो ! मेरो त अब अन्तिम अवस्था भैसक्यो । यो अन्तिम अवस्थामा तिम्रो मुख हेरेर मर्न मन थियो । तिम्रो विदेशको सुखशयलमा बसेको अनुहार हेर्न मन थियो । यो पनि अधुरो भयो ।
सायद अब भेट पनि हुँदैन होला । मेरो जस्तै अवस्था तिम्रो भोलि नआओस् । यदि आइहाल्यो भने पनि मैले मेरी आमाको अन्तिम अवस्थासम्म सहारा बनेर मेरी आमाले मेरै काखमा सास फेर्नु भएको हो ! भनेर आफ्ना सन्तानलाई सुनाउनु । यो सुनायौँ भने मेरो जस्तै अवस्था नआउला तिम्रो ।
मेरो प्यारो छोरा
उहीँ तिम्री आमा …!

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here