आधुनिक बसपार्क

फिचर मुख्य खबर समाज

तुलसीपुर, २८ असोज । पछिल्लो समय दाङमा रहेका बसपार्कहरू व्यवस्थित र सुविधायुक्त बन्न थालेका छन् । विगत लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका तुलसीपुर, घोराही र लमहीका बसपार्कहरू व्यवस्थित र आधुनिक भइरहेका छन् । करोडौ लगानी गरेर बसपार्कहरू आधुनिक र व्यवस्थित बनाईदै छ । बसपार्कको अव्यवस्थित समस्यालाई समाधान गर्न बसपार्कहरू व्यवस्थित बनाउन स्थानीय सरकारहरू लाागेका हुन् ।
विगत लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको तुलसीपुरको नयाँ बसपार्क बनेको छ । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बसपार्कको नयाँ संरचना तयार पारेको हो ।
बसपार्क व्यवस्थित भएसँगै बजार क्षेत्र र यातायात क्षेत्रलाई व्यवस्थित गर्न नगर विकास समितिको ऋण कोषमार्फत करिव साढे १० करोडको लागतमा आधुनिक बसपार्क निर्माण गरेको इन्जिनियर पवनकुमार योगीले बताए ।

बसपार्क व्यवस्थित भएसँगै बजार क्षेत्र र यातायात क्षेत्रलाई व्यवस्थित गर्न नगर विकास समितिको ऋण कोषमार्फत करिव साढे १० करोडको लागतमा आधुनिक बसपार्क निर्माण गरेको इन्जिनियर पवनकुमार योगीले बताए ।

करिब पाँच बिगाह क्षेत्रफलको जग्गामा विभिन्न सेवा सुविधासहितको आधुनिक बसपार्क निर्माण भएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर योगीले बताए । उनका अनुसार करिब तीन सय गाडी अटाउने क्षमता रहेको बसपार्क अहिले व्यवस्थापनको लागि विभिन्न पार्टीलाई जिम्मासमेत दिइसकिएको छ ।
यात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले बसपार्कका विभिन्न स्थानमा आधुनिक यात्रु प्रतिक्षालय निर्माण गरिएको छ । यस्तै आराम भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले बताए ।
त्यसैगरी अपाङ्ग भएका व्यक्ति र महिलाहरूलाई लक्षित गर्दै अपाङ्गमैत्री र महिलामैत्री शौचालय, मिटिङ हल, पार्किङ, शुद्ध खानेपानी, सोलार बत्ती टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका विभिन्न सुविधासहितका व्यवसायिक क्षेत्रको समेत निर्माण गरिएका छ । यस्तै बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोकासमेत राखिएको छ ।


घोराहीमा खानेपानी सहज

घोराहीमा रहेको बसपार्कलाई पनि व्यवस्थित बनाउँदै लैजान थालिएको छ । खाल्डाखुल्डी र धुलाम्य हुने बसपार्क क्षेत्र पक्की बनेको छ भने शौचालय, प्रतिक्षालाय, बिजुली बत्ती, चमेना गृहलगायतका विभिन्न सुविधाहरू व्यस्थित बन्दै गएको घोराही उपमहानगरका नगर प्रमुख नरूलाल चौधरीले बताए । उनले अहिले तत्काल बसपार्कमा पिउने पानीको समस्या समाधान गर्नुपर्ने भएकाले खानेपानी व्यवस्थापनको काम हुँदै गरेको बताए ।
‘हाम्रो बसपार्कले थोरै ठाउँ ओगटेको छ’ उनले भने ‘यो संरचनालाई व्यवस्थित बनाएर सञ्चालनमा ल्याईरहेका छौँ, तत्कालका लागी केही समस्या छैन ।’ उनले जनसंख्या दिनप्रतिदिन बढ्दै गएपनि नागरिकहरूबाट बसपार्क संरचना र पूर्वाधारप्रति कुनै जनगुनासो तथा विवादका विषयहरू बाहिर नआएकाले केही वर्षसम्म यही संरचनामा बसपार्क सञ्चालन हुने उनी बताउँछन् ।


बसपार्क पक्की हुँदै

लमहीमा रहेको बसपार्कले पनि बिस्तारै आफ्नो मुहार फेर्दै जान थालेको छ । सडक व्यापारी, पसले, सवारी पार्किङकै कारण लामो तथा छोटो दूरीका सवारीले भोग्नुपरेको समस्यालाई समाधान गर्ने तयारी भईरहेको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए ।
उनले बसपार्क क्षेत्रभित्र रहेका खाल्डाखुल्डी पुर्ने कामको सुरूवात अबको केही दिनमा गरिने उनले जानकारी दिए । ‘हामीले लमहीको बसपार्कलाई पक्की बनाउने गृहकार्य गसररहेका छौँ’ उनले भने ‘यसका लागि टेन्डर खोल्ने प्रक्रिया अगाडि बढ्दै छ ।’
बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानका लागि उक्त क्षेत्रका बस्ती खाली गर्नुपर्ने प्रमुख कुरा भएको बताउँदै उनले यसका लागि सर्वदलीय र सर्वपक्षीय समिति गठन गरिने जानकारी दिए । धुलो, धुँवा र खाल्डाखुल्डीलाई व्यवस्थित गराउन बसेका बस्तीलाई नियन्त्रण गर्न नसकिएको उनको भनाई छ ।
‘हप्ता दिन अघि गएर त्यहाँका बस्ती हटायो तर अर्को हप्ता पुनः ठेला र बस्ती बसाउनेहरू पहिलेकै अवस्थामा देखिन्छन्’ उनले भने ‘यसलाई नियन्त्रण गर्नु निकै समस्या भएको छ ।’ तत्काललाई बसपार्कको क्षेत्र विस्तार गर्न नसकिने बताउँदै उनले भएको क्षेत्रलाई मर्मत र व्यवस्थापन गरी पूर्वाधारमैत्री बनाउने तयारी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *