आधारभूत सेवा प्रवाहमा जिम्मेवार बन्न आग्रह

मुख्य खबर

घोराही, १४ चैत । दाङका विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना साझेदारी मञ्चको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले घोराही उपमहानगरलाई यस्तो आग्रह गरेका हुन् ।
कृषिको अनुदान वास्तविक किसानले पाउन नसेकको, कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै त्यसलाई सुधार्न र किसानको पक्षमा काम गर्न सुझाव दिएका हुन् । त्यसैगरी, स्वास्थ्य चौकीहरुमा आवश्यक औषधीको पर्याप्तता गराउन, विद्यालयमा दरबन्दी अनुसार शिक्षक राख्न, खानेपानी र शौचालयको व्यवस्था राम्रो गराउन र पाठ्यपुस्तकहरु समयमै विद्यालयमा पु¥याउन सरोकारवालाहरुले आग्रह गरेका हुन् ।
त्यसैगरी, घोराही सिमेन्ट उद्योगले सरकार र जनतासँग गरेका प्रतिवद्धतालाई पूरा गराउनसमेत स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योगबाट निस्कने धुलो, धुवाँ र आवाजले नागरिकहरुको दैनिकी र स्वास्थ्यमा गम्ीभर असर गरिरहेको भन्दै नियमन गर्नसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मुनाल घिमिरे, टंक सुनारलगायतले नागरिकहरुको दैनिकीसँग जोडिएका सवाललाई सुधार्दै लैजान सुझाव दिएका हुन् ।
कार्यक्रममा सरोकारवालाहरुको जवाफ दिदै घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले सबै क्षेत्रलाई सुधार्ने प्रयास गरिरहेको बताए । ज्ञान, सिप, प्राविधिक र अनुदान सहयोगलाई वास्तविक किसान पहिचान गरेर वितरण गर्ने, स्वास्थ्यमा औषधीको अभाव हुन नदिने र उपचारलाई प्रभावकारी बनाउने, शिक्षालाई बाल विकासबाटै सुधार गर्ने, शिक्षकहरुलाई जिम्मेवार बनाउने र विपद् जोखिमलाई कम गर्न आवश्यक नीति र पूर्वतयारी अपनाईएको जानकारी दिए ।
कार्यक्रममा उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले स्थानीय र स्थानीय सरकारको सोंचलाई एकीकृत गरी विकास तथा समृद्धिसँग जोड्ने योजनाका साथ काम गरिरहेको बताइन् । कार्यक्रममा नवीन चौधरी र रजनी चौधरीले पारस्परिक जवाफदेहिताका विषयमा जानकारी दिदै सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *