सल्यान, १३ मंसिर । सल्यानमा रहेका तीनवटा संस्थाले आफ्नो प्रगति विवरण स्थानीय सरकारलाई अनुगमन गराएका छन् । बुधबार त्रिवेणी गाउँपालिकाको काभ्रामा संस्थाहरुले गरेका कामहरु गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चलाउने स्थानीय अगुवाहरुलाई तथा संस्थाहरुले सहयोग गरी सञ्चालन गरेका खेती, पशुपालन लगायतको अनुगमन गराएका हुन ।
सल्यानको काभ्रा क्षेत्रमा सञ्चालित तरकारी खेती, पशुपालनको उत्पादन, ब्यापार, बजारीकरणलगायतका बिषयमा अनुगमन गरी छलफल कार्यक्रम गरिएको थियो । सल्यानमा रहेका लिवर्ड, आरआरएन, आश्मानले काभ्राका विभिन्न क्षेत्रमा कृषकको लागि ७५ प्रतिशत अनुदानमा बिउबिजन, पशुपालनको लागि बाख्राका खोर, उन्नत पशुहरुको विकास, कुपोषण बालबालिकाको लागि पोषणयुक्त खानेकुराको ब्यवस्था, बालबालिकाको निःशुल्क उपाचारलगायतको क्षेत्रमा काम गरेको संस्थाहरुले त्यस अवसरमा जानकारी गराएका थिए ।
अनुगमगनमा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले संस्थाहरुले किसानको जीवनस्तर उकास्न पहल गरेकोमा प्रशंसासमेत गरेका थिए । उनले पछिल्लो समय गरी खाने किसानको लागि कुनै न कुनै तवरबाट सरसहयोग हुने र त्यस्ता किसानको लागि स्थानीय सरकारको तर्फबाट गर्न सकिने सहयोगको लागि आफू तयार रहेको बताए । संस्थाहरुले आफ्नो तर्फबाट किसानको लागि बिउबिजन, वस्तुको उत्पादन गर्ने तरिकाहरुको ज्ञान दिएकोले अब गरी खाने पालो किसानहरुको भएको उनले बताए ।
काभ्रामा कुपोषित बालबालिका भेटिएकोले ती बालबालिकाको लागि पनि संस्थाहरुले सक्रियरुपमा काम गरेकाले त्यसको न्यूनिकरण गर्न केही राहत पुगेको र अब त्यस्ता बालबालिकाका उपचारको लागि गाउँपालिकाले पहल गर्ने उनले प्रष्ट पारे । अध्यक्ष डाँगीले पछिल्लो समय अनुदान रकम तथा केही सहयोगहरु दुरुपयोगतिर बढ्न थालेकोले त्यतातिर पनि किसानहरु सजग रहनुपर्ने बताए ।
किसानको लागि उत्पादित वस्तुको संकलनको लागि पनि संकलित क्षेत्रका ति संस्थाहरुले भवन निर्माण गरी त्यस क्षेत्रमा सहयोगसमेत पु¥याएका छन् । करिब साढे ६ लाखमा किसानको लागि कृषि उपज संकलन केन्द्र निर्माण गरिदिएको र त्यस संकलन केन्द्रमा कृषकले उत्पादन गरेका बस्तुहरुको संकलन गरी बजारीकरण गरिने कृषकहरुले बताए । संस्थाहरुले विभिन्न समूह निर्माण, किसानको लागि तालिम, बजारीकरणको लागि पहल गर्न थालिएपछि त्यस क्षेत्रका किसान यसतर्फ आकर्षित बन्न थालेका हुन् ।
आश्मानकी बिना श्रेष्ठले बिगतको अनुसन्धानमा काभ्रा क्षेत्रमा बालबालिकामा कुपोषण देखिएकोले ति बालबालिका तथा सुत्केरी आमाहरुलाई पोषणयुक्त खानेकुराको ब्यवस्थापन तथा कुपोषित बालबालिकाको पहिचाहन गरी उपचारको लागि घोराही, सुर्खेतसम्म पठाउने ब्यवस्था गरिएको बताइन् । अनुगमनमा लिवर्डका उद्धव कार्की, श्याम विक, गैर सरकारी संस्थाका झनक केसी, स्थानीय कृषकहरुको समेत सहभागिता रहेको थियो ।