देउखुरी, १० भदौ । देउखुरी क्षेत्रमा रहेका मुक्त कम्लहरीहरुले आफूहरुलाई रोजगारी प्रदान गर्न सरोकारवालासँग आग्रह गरेका छन् । सोमबार लमही नगरपालिकाले मुक्त कम्लहरीहरुसँग गरेको छलफल कार्यक्रममा उनीहरुले रोजगारी सिर्जना गर्न आग्रह गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा उनीहरुले सरकारी तथा गैर सरकारी संघसंस्थामा आफूहरुलाई रोजगारी प्रदान गरिनुपर्नेमा जोड दिएका छन् ।
सोसाईटी वेलफेयर एक्सन नेपाल (स्वान) लमहीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड नेपालगञ्ज बाँकेको
आर्थिक सहयोगमा लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा मुक्त कम्लहरीहरुले आफूहरु दासताको जीवनबाट मुक्त भएपनि सिप अनुसारको रोजगारी पाउन नसक्दा पुरानै अवस्थामा रहेको बताए ।
सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका अध्यक्ष कृष्णकुमार चौधरीको अध्यक्ष एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्लहरी महिलाहरुले रोजगारीको विषयमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले मुक्त कम्लहरीहरुको आर्थिक अवस्था सुधारका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।
‘स्थानीय सरकारले मुक्त कम्लहरीको जीवनस्तर सुधारका लागि रोजगारमूलक कार्यक्रम ल्याउँदै छ’ उनले भने ‘अब तपाईहरु आर्थिक अवस्थाबाट गुज्रिनुपर्ने अवस्था छैन् ।
नगरप्रमुख केसीले रोजगारीमा जोडिन सिप र ज्ञानमा दक्षता हासिल गर्नसमेत आग्रह गरेका छन् । ‘योजना बनाएर राम्रो एउटा लक्ष्य बोकर बनाउनुहोस्, हामी सहयोग गर्छाैं रोजगारको लागि, नगर प्रमुख केसीले भने ।
नगरपालिकाले आफ्नो नगर क्षेत्र भएका सम्पूर्ण मुक्त कम्लहरीलाई रोजगारी सिर्जना गर्नको लागि दीर्घकालिन योजना अगाडि सारेको बताए । कार्यक्रमको सहजकर्ता जागेश्वर शर्मा घिमिरे रहेका थिए । कार्यक्रमको सहजीकरण स्वान संस्थाका सामाजिक परिचालिका विमला चौधरीले गरेको थिइन् ।