आज श्रीकृष्ण जन्माष्टमी

मुख्य खबर समाज

तुलसीपुर, ६ भदौ । हिन्दू धर्मालम्बीहरूको विशेष चाड श्री कृष्ण जन्माष्टमी पर्व दाङलगायत नेपाल अधिराज्यभर मनाईदै छ । प्रत्येक वर्ष भाद्र अष्टमीका दिन मनाईने यो पर्व विशेषगरी भगवान श्री कृष्णको जन्मोत्सवको रूपमा विधिपूर्वक पूजाआजा गरेर मनाइने परम्परा गरेको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा दाङमा पनि शुक्रबार भगवान श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाईदै छ । ज्ञान, कर्म र भक्तयोगका प्रतिक मानिने श्रीकृष्णको जन्म भाद्र अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई जन्माष्टमी र रातलाई महोरात्री भनिने गरिन्छ ।
जन्माष्टमीका दिन जिल्लामा रहेका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ब्रत बसी रातभर जाग्राम बस्ने प्रचलन समेत रहेको छ ।
धार्मिक ग्रन्थहरूमा उल्लेख गरिए अनुसार दानव र आसूरी प्रवृत्तिको नास गरी मानव जातिको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारको श्रीकृष्णको जन्म भएको मानिन्छ ।
मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षा गर्दै मानव जातिलाई भयमुक्त बनाएको धार्मिक विश्वाससमेत रहेको छ । श्रीकृष्णको पूजाआजा गर्नाले सुख, शान्ति र मनोकांक्षाहरू पूरा हुने धार्मिक विश्वाससमेत रहिआएको छ ।

शैक्षिक संस्था बन्द

यसैबीच श्रीकृष्ण जन्माष्टमीको अवसरमा तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरू बन्द हुने भएका छन् ।
तुलसीपुर उपमहानरपालिका युवा तथा शिक्षा समितिको बिहीबार बसेको बैठकले तुलसीपुर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरू बन्द रहने निर्णय गरेको हो ।
त्यस्तै घोराही उपमहानगरपालिकाले पनि स्थानीय बिदाबाट कट्टी हुने गरी सामुदायिक तथा निजी विद्यालयलाई बिदा दिएको जनाएको छ । घोराही नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले एकदिन बिद्यालयमा बिदा दिने निर्णय गरेको प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

थारूहरूको अष्टिम्की पर्व

थारू समुदायले श्रीकृष्ण जन्माष्टमी पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् । थारू समुदायले यस पर्वलाई आफ्नो मौलिक चलन र परम्परा अनुसार मनाउने गर्दछन् । दाङलगायत तराईका थारू समुदायमा श्रीकृष्ण जन्माष्टमीलाई अष्टिम्की पर्वको रूपमा मनाउँछन् ।
यसदिन थारू समुदायका महिला दिदीबहिनीहरू बिहान निराहार ब्रत बस्ने गर्दछन् । दिउँसो गाउँको मुली अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाउने गर्दछन् ।
अष्टमीको साँझपख ब्रतालुहरु नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ–आफ्नो घरमा तयार गरिएको पूजा सामग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन् ।
झिसमिसे रातमा पूजा सामग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर मतहवाको घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गर्दछन् ।
अष्टिम्कीको दोस्रो दिन बिहानै उठेर अघिल्लो दिन पूजा गरिएको पूजा सामग्री लिएर खोला तथा नदीमा सेलाई ब्रत समाप्त गर्ने गर्दछन् । यसै दिन थारू समुदायमा विवाहित भएका चेलीहरूलाई उपहार पठाइदिने चलन छ समेत रहेको छ । जसलाई थारु समुदायले अग्रसान भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *