आगलागीको पीडा

सम्पादकीय

्दाङमा आगलागीको विपद शुरु हुन लागेको छ । आगलागीको उच्च जोखिममा रहेको दाङमा मंसिरमै आगोले ठूलो क्षति पु¥याएको छ । एकै दिन दुईवटा आगलागीको घटनाले सबैलाई पीडा दिएको छ । बंगलाचुलीमा भएको आगलागीले तीनजना एकै घरका बालबालिकाहरुको ज्यान लिएको छ । भने तुलसीपुरमा भएको आगलागीले जुत्ता, चप्पलको गोदाम नै नष्ट भएको छ । यी दुई घटनाले शुक्रबार दाङलाई स्तब्ध पारेको छ । बिहीबार दाङमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्युको घटना नसेलाउँदै आगलागीको विपत्तिले सबैमा पीडा थपेको छ ।
बंगलाचुली–८ का नवराज पुनको घरमा आगलागी हुँदा उनका तीन सन्तान आगोले लगेको छ । घर सम्पत्ति बस्तुभाउ सबै आगोको सिकार भए । पुन परिवारले आगलागीकै कारण २ छोरी र एक छोराले ज्यान गुमाउनु दुखद् हो । सामान्य सहजता र सजकता अपनाउन नसक्दा आगोले ठूलो पीडा दिएको छ । घरमा भएको सोलारको ब्याट्री पड्किएर आगलागीमा परी घरमा सुतिरहेका पुनका ७ बर्षका छोरा कृष्ण बहादुर पुन, ५ बर्षकी छोरी अस्मिता पुन र २ वर्षकी छोरी अञ्जु पुनले ज्यान गुमाउनु पर्ने अवस्थाले चिन्तित र दुःखदायी बनाउनु स्वभाविक हो । यो अवस्था आउन हुन्थेन । यसका लागि हामी सबै सहज र सजक भइदिएको भए आगलागीजस्ता विपद्हरुबाट बच्न सकिने हुन्छ । बालबालिकाहरुलाई एक्लै घरमा छोड्नुले पनि उद्धार नहुँदा उनीहरुले ज्यान गुमाउनु पर्ने अवस्था कहि कतै आउनु हुँदैन । दाङ आगलागीको बढी सम्भावना भएको जिल्ला हो । यसमा सबै चनाखो बन्नुपर्छ । केही हाम्रा कमजोरी र केही राज्यका नीतिका कारण पनि पटक–पटक आगोको पीडा खेपिरहनु पर्ने बाध्यता आउँछ । गाउँ बस्तीमा अग्नी नियन्त्रणका साधनहरु नहुँदा बढी पीडा दिन्छ । शहरी क्षेत्रमा सबै सुविधा हुँदाहुँदै पनि दमकलसमेत छिर्न नसक्ने सडक हुँदा यस्ता समस्याले विकराल बनाउँदै आएका छन् । स्थानीय तहले आगलागी नियन्त्रणका लागि नयाँ नीति बनाएर जानु पर्ने र ठूलो क्षति हुनबाट बचाउने तर्फको तयारी गर्न सक्नुपर्छ । स्थानीय सरकार विपद्मा चनाखो भएमा मात्रै नागरिक विपद्बाट जोगिन सक्छन् । नीति बनाउने नीति कार्यान्वयन नगर्ने, दुई मिटरका बाटामा पनि घर निर्माणको इजाजत दिने गर्दाले विपद्हरुको सामना गरिरहनु पर्ने अवस्था छ । तुलसीपुरमा शुक्रबार लागेको आगो निभाउनलाई तीन घण्टा लाग्यो । त्यसको एउटा मात्रै कारण आगो निभाउन प्रयोग हुने दमकल सडकमा छिर्न नसक्नु पनि हो । त्यसकारण घर अगाडिको सडकलाई दमकल, एम्बुलेन्स जस्ता अतिआवश्यक साधन गुड्न सक्ने वातावरण बनाउन र विपद्लाई न्यूनीकरण गर्नेतर्फ लागौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *