दाङ, १२ चैत । गर्मी मौसम शुरु भएसँगै जिल्लामा आगलागीको जोखिम बढ्दै गएको हो । आगलागीबाट हुन सक्ने जोखिमलाई संयमता अपनाउन नसक्दा एकदिनमा दाङका विभिन्न ठाउँका सात घर स्थानमा समेत आगलागी भइसकेको छ ।
आगलागीकै कारण सोमबार एक नाबालिकाले ज्यान गुमाउनु परेको छ । आगलागीबाट मानवीय क्षतिसँग धनजनको समेत ठूलै क्षति हुने गरेको छ ।
चैत महिनाको यो सातामा मात्रै आगलागीबाट एकजनाको मृत्यु भएको छ भने आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
एकैदिन सात ठाउँमा आगलागी हुँदा ३६ लाख ९९ हजार बराबरको क्षति भएको छ । सोमबार दाङमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । आगलागीमा परी राप्ती गाउँपालिका वडा नम्बर १ बगाह सोतीका हिमाल रानाको एक महिनाकी छोरी संगीताको मृत्यु भएको हो ।
घरमा हिमालका तीन वर्षिय छोरा अमितले सलाई कोरी खेल्नेक्रममा सुतिरहेकी संगीताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोमा परी गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गर्मी मौसम शुरु भएसँगै आगलागीका जोखिम बढ्दै गएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । गर्मी बढेको छ, गर्मी मौसमसँगै आगलागीका जोखिम बढेको छ, बालबालिकाको निगरानी राख्नुस्, कतिपय घटना बालबालिकाका कारण पनि आगलागीका घटना घटेका छन् जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले भने– आगलागीका घटना हुुने बित्तिकै प्रहरीलाई खबर गर्नुुस्, जतिसक्दो छिटो आगो नियन्त्रणका लागि प्रयास गर्नेछौँ ।
