असारे खर्चले फ्रिज

विचार समाज सम्पादकीय

आर्थिक वर्ष भर्खरै सकिएको छ । आर्थिक वर्ष सकिदै गर्दा धेरै बजेट विभिन्न कार्यालयबाट फ्रिज (रकम फिर्ता) भएको छ । दाङमा पनि यो वर्ष विभिन्न जिल्लागत र आयोजनाका कार्यालयहरुको गरेर झण्डै पौने २ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । त्यो रकम खर्च नभएर फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयलले गरेको सार्वजनिक अनुसार जिल्लाको विकासमा लागि आएको विभिन्न शीर्षकको १ अर्ब ६२ करोड २५ लाख ८३ हजार ६५ रुपैयाँ यस वर्ष फ्रिज हुनुले विकासका लागि असार कुर्नु र समयमै विकासको चासो नहुनु नै हो ।
जिल्लामा आएको १९ अर्ब ७२ करोड ६४ लाख ९५ हजार ४ सय ६१ बजेटमध्ये १८ अर्ब १० करोड ३९ लाख १२ हजार ३ सय ९६ मात्रै खर्च भएको छ । यो ९१ दशमलव ७७ प्रतिशत खर्च देखाइएको छ । विगतका वर्षको भन्दा यस वर्षको खर्च पनि बढ्न सकेन । विकासका लागि आर्थिक वर्ष सकिदै लाग्दा ताकेता हुने सबै रकम एक दुई महिनामै खर्च गर्न खोच्ने पुरानो प्रवृतिले यसवर्ष पनि निरन्तरता पाउँदा जिल्लाको विकासमा आएको ठूलो रकम फिर्ता हुनु राम्रो होइन । बर्सेनी जिल्लामा आएको रकम यसैगरी फर्कने वातावरण पनि सम्बन्धित कार्यालयहरुले गराउनु हुँदैन । साउनदेखि आर्थिक वर्ष सुरु हुन्छ भने असोजदेखि नै काम गर्ने संस्कारको विकास गर्नसके मात्रै जिल्लाको विकासको लागि आएको सबै पैसा जिल्लामै खर्च हुने अवस्था आउन सक्छ । सरोकारवाला पक्षले असोजदेखि नै कामको वातावरण निर्माण गरेर आएको रकमलाई सदुपयोग गर्नतर्फ लाग्नु उत्तम हुन्छ । जिल्लामा गौरबका आयोजनाले समेत पूरा रकम खर्च गर्न नसकेको देखिएको छ । भने बढी रकम आउने विकासे अड्डाहरुको रकम सबै खर्च हुन सकेको छैन । असारको महिनामा मात्रै जिल्लामा ३ अर्ब रकम खर्च भएको देखिनुले पनि असारे विकासले तिव्रता नै पाएको पुष्टि हुन्छ । यो सस्कारलाई तत्काल सुधारेर लैजानु पर्छ ।
विकास सबैलाई अनिवार्य छ । विकास विनाको राष्ट्रको परिकल्पनासमेत छैन । यसर्थ विकासका लागि आएको बजेटलाई सही सदुपयोग गरेर विकासमै लगाऔँ । विकासलाई हतारमा हैन फुर्सदमा गर्ने परिपाटी बसालौँ र रकम सदुपयोग गरौँ । असारे विकास र रकम दुरुपयोगलाई तत्काल रोकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *