असल चरित्रले समृद्ध समाजः पोख्रेल

फिचर मुख्य खबर राजनीति समाज

घोराही, २२ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले असल चरित्रले मात्रै समृद्ध समाजको विकास हुने बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय घोराहीले निर्माण गर्न लागेको भवनको शनिबार शिलान्यासपछि सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सामाजिक विकासका लागि असल मानवीय चरित्रको आवश्यकता रहेको औँल्याए ।
‘विकासका लागि सकारात्मक समाज निर्माणको आवश्यकता छ, सकारात्मक समाज निर्माणका लागि असल चरित्रको खाँचो छ’ उनले भने– ‘खराब सोच र खराब चरित्रले समृद्धिको परिकल्पना गर्न सकिदैँन् ।
असल चरित्रविना समाज अघि बढ्न नसक्ने उनले बताए । ‘आध्यात्मिक मात्रै नभई सबै चिन्तनहरूको प्रयोग हुन आवश्यक छ’ उनले भने– ‘सकारात्मक सोच बोकेरे हिडौँ, तबमात्रै समृद्धिको परिकल्पना गर्न सकिन्छ ।’ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मातृशक्तिले चलेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सामाजिक चरित्र निर्माणमा त्यसले ठूलो भूमिका खेल्ने बताए ।
‘आमाको माया र आमाको प्रेमले सन्तान्तको भविष्य निर्धारण गरेको हुन्छ’ उनले भने– ‘ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले पनि मातृशक्तिको ठूलो भूमिका खेलेको छ ।’
मुख्यमन्त्री पोख्रेलले सामाजिक क्षेत्रबाट थालिएको भवन निर्माणलाई सरकारी बजेटबाट भन्दा पनि सामाजिक अभियानबाटै अघि बढाउँदा राम्रो हुने बताए । ‘सबै कुरा सरकारी प्रयासबाट हुन्छ भन्ने छैन्, सामाजिक तवरले पनि ठूला–ठूला विकास गर्न सकिन्छ’ उनले भने–‘सामाजिक अभियानबाटै यति ठूलो लगानीमा भवन निर्माण हुनु निकै सकारात्मक हो ।’
सरकार अभिभावक भएकाले भवन निर्माणमा आउन सक्ने आर्थिक अभावको पीर नगर्न पनि आग्रह गरे । ‘भवन निर्माणकै क्रममा आर्थिक अभावबाट अलपत्र अवस्था भने आउन दिदैनौँ’ उनले भने– ‘सरकार सदैव साथमा छ, अहिलेका तीनैतहका सरकारले यस्ता सामाजिक कामलाई साथ र सहयोग गर्छन् भन्नेमा ढुक्क हुनुस् ।’
ब्रह्माकुमारी नेपालका निर्देशक परनिता दिदीले दाङमा ठूलो लगानीमा भवन निर्माणले सकारात्मक सन्देश फैलिएको बताइन् । ‘समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि हामीले थालेको अभियानमा सरकारको पनि साथ जरूर छ, उनले भनिन्–
‘हाम्रो एक्लो प्रयासले मात्र कहाँ सम्भव हुन्छ र ?’ उनले भवन दाङ कै सम्पत्ति भएको भन्दै सबैलाई सहकार्यमा जुट्न अपिल गरेकी छन् । भवनलाई साझा सम्पत्तिका रूपमा विकास गर्दै सामाजिक जागरण ल्याउनमा सदुपयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

आध्यात्मिक पुनर्जागरण केन्द्रको शिलान्यास

यसैबीच दाङको घोराहीमा आध्यात्मिक पुनर्जागरण केन्द्र बनाउन भवनको शिलान्यास गरिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मधुवन टोलमा निर्माण गर्न थालेको भवनको मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेका हुन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साढे सात कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा बन्ने भवनको मुख्यमन्त्री पोख्रेलले शिलान्यास गरे ।
देवराज पाण्डेको परिवारले दान दिएको उक्त जग्गामा पाँच सय बढी अट्ने सभा हल, दुई सयजना बास बस्ने मिल्ने आवासीय भवन, कुलत र तनाबलाई व्यवस्थापन गर्न परामर्श केन्द्र, शैक्षिक कक्षा सञ्चालनका लागि भवन बन्ने छ । करिब साढे १५ करोड रूपैयाँको लागतमा बन्ने उक्त भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक बर्षमा ४० लाख रूपैयाँ विनियोजन गरेको छ ।
साथै भवन निर्माणका लागि विभिन्न व्यक्ति र संस्थाहरू दान रकमसमेत उपलब्ध गराईरहेका छन् । भवनलाई दाङको साझा सम्पत्ति बनाउने र विकासको आधारका रूपमा स्थापित गरिने विश्वविद्यालयले जनाएको छ । भवनलाई आध्यात्मिक, पर्यटकीय, धार्मिक र शैक्षणिकरूपमा प्रयोग गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *