अवैध हतियार बुझाउन सरकारको आग्रह

मुख्य खबर

दाङ, ३० फागुन । सरकारले सर्वसाधारणलाई ३५ दिनभित्र अवैध हतियार बुझाउन आह्वान गरेको छ । मन्त्रीपरिषद् बैठकले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउनका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सम्पूर्ण अवैध हतियार बुझाउन आह्वान गरिएको जानकारी दिए ।
सरकारले जनतासँग भएका अवैध हतियारहरु नजिकका प्रहरी, सेना वा सशस्त्र प्रहरीलाई बुझाउनका लागि आह्वान गरेको छ । सरकारले ३५ दिनभित्र हतियार बुझाएको खण्डमा अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुने पनि निर्णय गरेको छ । नेत्रबिक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणासँगै सरकारले यस्तो निर्णय गरेको हो ।
०६२÷०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रको विश्लेषणपछि यस्तो निर्णय सार्वजनिक भएको हो । सरकारले उक्त समूहलाई लक्षित गरेर निर्णय सार्वजनिक गरेको स्रोतको भनाइ छ ।
यसैबीच संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले जनाएको छ । साथै प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको सरकारका प्रबक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *