गढवा, २४ पुस । वन्यजन्तु चोरी शिकारी तथा यसको अवैध व्यापारको संवेदनशीलता सम्बन्धी सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सोमबार राजपुर गाउँपालिकाको बेलामा भएको छ । तराई भूपरिधि (ताल) हरियो वन कार्यक्रमअन्तर्गत वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको आयोजनामा कार्यक्रम भएको हो । वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको सभापतित्व तथा राजपुर गाउँपालिकाको अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा देउखुरी क्षेत्रमा बढ्दै गइरहेको चोरी शिकारी तथा यसको अवैध व्यापार नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन सामुदायिक वनका अगुवा, डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीसहितको संयन्त्रण बनाएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले वन र जीवन एकअर्कामा अन्तरसम्बन्धित भएकोले हामी हाम्रो र हाम्रा सन्तति तथा जीवको लागि सामुदायिक वनको संरक्षण गरेमात्र वन्यजन्तुको संरक्षण गर्न सकिने बताए । देउखुरीमा वन्यजन्तुको आवासका लागि प्रशस्त मात्रामा वन रहेकोले यसको संरक्षणमा स्थानीय निकाय तथा सम्बन्धित सरोकारवालाहरु गम्भीर भएर सोच्नुपर्ने समय आएको बताए । अन्तरक्रिया कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बिष्णु बुढाले चोरी शिकारीमा गरिब तथा बेरोजगार युवाहरुको संलग्नता बढी पाइने भएकोले यस्तो व्यक्तिहरुको पहिचान गरी दीगो जीविकोपार्जन लागि क्षमता अभिवृद्धि गरी आयआर्जनमा टेवा पु¥याउने खालको कार्यक्रम ल्याउनुपर्ने बताए । त्यसैगरी राजपुर गाउँपालिकास्तरीय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामवरण यादवले वन्यजन्तुको चोरी शिकारी तथा अवैध व्यापार नियन्त्रणका लागि सम्बन्धित वन तथा डिभिजन वनका कार्यालय जिम्मेवार हुनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा बेला सवडिभिजन वन कार्यालयका रामाज्ञप्रसाद शाह, राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, बेला प्रहरी चौकीका सई भुपेन्द्र खड्का, जङग्रहवा प्रहरी चौकीका विकास खड्का, बेला स्वास्थ्य चौकीका सचिन्द्र यादव, दुर्गा सामुदायिक वनका अध्यक्ष सुरेन्द्र पुन, गाउँपालिकास्तरीय सामुदायिक वन महासंघका अध्यक्ष रामबरण यादव, जङ्ग्रहवा पशु स्वास्थ्य कार्यालयका अनन्तराज रेग्मीलगायत सामुदायिक वनमा गठित चोरी शिकारी नियन्त्रण प्रतिरोध इकाई समितिका संयोजकहरुको सहभागिता रहेको थियो वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका कोषाध्यक्ष ओम प्रकाश यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन ओभा पाठकले गरेका थिए ।