अल्झनमा प्रतिष्ठान

सम्पादकीय

प्रतिष्ठान स्थापना भएको लामो समयसम्म पनि क्रियाशील नभएपछि यहाँका सरोकारवालाहरुको चासो बढेको छ । दाङमा स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्णरुपमा सञ्चालन हुन नसकेको र राप्ती उपक्षेत्रीय अस्पताल सञ्चालनमा समस्या भएपछि दाङ उद्योग वाणिज्य संघसहितका सरोकारवालाहरु तातिएका हुन् । संघले सरोकारवालाई एकैथलोमा राखेर निकासका लागि पहल समेत थालेको छ । प्रतिष्ठान सञ्चालनमा अल्झन उत्पन्न भएपछि प्रतिष्ठान र अस्पतालको नेतृत्वमा समेत समस्या छ । क्रियाशील नहुँदा प्रतिष्ठिानको कार्य सम्पादन प्रभावकारी देखिएको छैन । निकायहरु बीचको विवाद पनि पनि केही विवाद देखिनै रहेको छ । मन्त्रालयले प्रतिष्ठानले सञ्चालन गरेको कर्मचारी भर्नाको परीक्षालाई रोक्न निर्देशन दिएपछि समस्या बढ्दै गएको देखिन्छ । अस्पतालले आफ्ना पूर्वाधार प्रतिष्ठानलाई हस्तान्तरण गर्न मानेको छैन । प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको अधिकार तथा अस्तित्वको विवाद यथावत छ । जसका कारण प्रतिष्ठान क्रियाशील बन्न सकेको छैन । केहिको निहित स्वार्थका लागि अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्या परेको भन्दै विभिन्न सरोकारवाला निकायहरुले पनि चासो देखाउन थालेका छन् । उद्योग वाणिज्य, नागरिक समाज, जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु, राजनीतिकर्मी यो विषयमा चासो देखाउन थालेका छन् । प्रतिष्ठानका पदाधिकारी ऐन अनुसार कार्यसम्पादनमा सक्रिय हुँदा अस्पताल प्रशासनले आफ्नो अस्तित्व र सहभागिताको सुनिश्चितता खोजेपछि दुई निकायबीच विवाद देखिनु पनि त्यति सान्दर्भिक र उचित हैन । प्रतिष्ठान र अस्पतालबीच आ–आफ्नो सञ्चालन प्रक्रियामा सैद्धान्तिक, कानुनी र ब्यवस्थापकीय नीति होला सोहि नीति अनुसार दुबै निकायले समन्वय र सहकार्य गर्न आवश्यक देखिन्छ । दुबै निकाय आफ्नो अधिकार र नीतिमा ब्यक्तिगत स्वार्थको लागि अडिनु राम्रो हैन । संस्थाको स्थायीत्व, कार्य सञ्चालनलाई प्रभावकारी बनाउने दायित्व अस्पताल र प्रतिष्ठानका पदाधिकारीहरुको हो । उनलाई सरोकार राख्ने निकायले सहयोग गर्ने वातावरण बनाइनुपर्छ । ब्यक्तिको स्वार्थका लागि सैद्धान्तिक विवाद निकालेर आन्दोलन र आवश्यकताले स्थापना गरेको संस्थालाई बरवादी गराउन हुँदैन । गराउन पनि दिनु हुँदैन । ग्रामीण क्षेत्रलाई स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले स्थापना भएको प्रतिष्ठानलाई स्थायित्व गराउन र त्यसलाई क्रियाशील बनाउन सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *