अलपत्र सिसी क्यामरा

फिचर मुख्य खबर

तुलसीपुर, १६ असार । दाङका बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामराहरु अलपत्र अवस्थामा देखिएका छन् । मर्मत सम्भार नहुँदा प्रयोगविहीन बन्दै अलपत्र अवस्था देखिएका हुन् ।
बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जडान गरिएका सिसी क्यामेरा बिग्रिएको लामो समय भैसक्दासमेत मर्मत सम्भार हुन सकेका छैनन् । सिसी क्यामरा समयमै मर्मत नहुँदा अहिले यहाँको बजारक्षेत्र असुरक्षित बन्दै गएको छ भने जडित सिसी क्यामराहरु प्रयोगविहीन अबस्थामा भएका छन् ।
तुलसीपुर बजारक्षेत्रलाई सुरक्षित बनाउनका लागि जडान गरिएका सिसी क्यामेराहरु बिग्रिएर काम नलाग्ने भएपछि झण्डै बर्षदेखि नै प्रयोग हुन सकेका छैनन् ।
विशेषगरी रात्रिकालिन समयमा हुने विभिन्नखाले घटनाहरुलाई मध्यनजर गर्दै जडान गरिएका क्यामराहरु मर्मत सम्भार नभई बिग्रदा तुलसीपुर बजार असुरक्षित बन्दै गएको सरोकारवालाकै भनाई रहेको छ ।
मुख्य बजारका रुपमा रहेको वीरेन्द्र चोक, विपी चोक र तुलीपुरको नयाँ बसपार्कमा जडान गरिएका सिसी क्यामरा बिग्रिदा विस्तारै चोरीका घटनाहरुसमेत बढ्दै गएका छन् ।
सर्वसाधारणहरुको अत्याधिक भिडभाड हुने क्षेत्रमा शान्ति सुरक्षा र अपराधजन्य गतिविधिलाई मध्यनजर गरी जडान गरिएका क्यामेराहरु बिग्रिएको लामो समय भैसक्दासमेत मर्मत सम्भारका लागि ध्यान दिन नसक्दा सञ्चालनमा समस्या आएको नियमनकारी निकायको भनाई छ ।
जडित क्यामराहरुको नियन्त्रण तथा परिचालन तुलसीपुर ईलाका प्रहरी कार्यालयमा भएपनि क्यामरा मर्मतको विषयमा प्रहरीसमेत चुपचाप रहेको छ । प्रहरीले स्थानीय सरकार र क्यामरा जडानको समन्वय गरेर तुलसीपुर उद्योग वाणिज्यसँगले यसमा चासो दिनुपर्ने तर्क गर्दै आएको छ ।

सर्वसाधारणहरुको अत्याधिक भिडभाड हुने क्षेत्रमा शान्ति सुरक्षा र अपराधजन्य गतिविधिलाई मध्यनजर गरी जडान गरिएका क्यामेराहरु बिग्रिएको लामो समय भैसक्दासमेत मर्मत सम्भारका लागि ध्यान दिन नसक्दा सञ्चालनमा समस्या आएको छ ।

सार्वजनिक सुरक्षाका लागि प्रयोगमा ल्याईएका उक्त क्यामराहरुको मर्मतका लागि समय–समयमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघमा कुरा राखेको भएपनि यसको समाधान हुन नसकेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले बताए । सबै क्यामराहरु अहिले बिग्रिएको अवस्थामा छन्,
यसले गर्दा रात्रिकालिन समयमा सुरक्षा चुनौति बढेको छ , उनले भने ‘पटक–पटक हामीले उपमहानगरपालिकालाई भनिरहेका छौँ सायद अबको केही दिनमै यसको मर्मत हुन्छ ।’
आर्थिक वर्ष ०७१÷७२ मा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर उपमहानगरपालिका, व्यवसायीहरुको पहलमा सिसी क्यामरा जडान गरिएको थियो । बजार क्षेत्रलाई सुरक्षित बनाउनका लागि सिसी क्यामरा जडानमा विशेष भूमिका खेलेको अवस्थामै बिग्रिए पनि यसको मर्मतमा चासो नदेखिनुले चुनौती थपिदिएको व्यवसायीहरु बताउँछन् ।
तत्कालिन समयमा तुलसीपुर उद्योग वाणिज्य संघ र व्यवसायीहरुको २५ प्रतिशत लगानी र तुलसीपुर उपमहानगरपालिकाको ७५ प्रतिशत गरी झण्डै पाँच लाखको लागतमा सिसी क्यामरा जडान गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले जानकारी दिए ।
त्यो बेलामा प्रति क्यामरा ८५ हजारका दरले खरिद गरी जडान गरिएको हो, उनले भने ‘तर अहिले बजेट अभावका कारण मर्मत हुन नसक्दा जडित क्यामेराहरु बीचमा अलपत्र परिरहेका छन् । मंहगो रकम खर्चिएर जडान गरिएका क्यामराहरु बिग्रिएर समयमै मर्मत नहुँदा तुलसीपुर नगर निगरानीविहीन भएको उनको तर्क छ ।
सिसी क्यामराले काम नगर्ने भएपछि रातको समयमा बजार क्षेत्र असुरक्षित बन्दै गएको तुलसीपुरका व्यापारी ललित कँडेल बताउँछन् । कहिलेकाहिँ पसलबाट घर जान ढिला भयो भने बाटोमा अलि डर लाग्छ उनले भने
‘लाखौँ, करोडौँ लगानीमा सञ्चालन गरिएका व्यापार, व्यवसाय कतिबेला कसले लुटेर लैजाने हो भन्ने क्रास व्यापारीहरुमा छ, हामी मात्र होईन साथमा र हातमा केही नहुनेहरुलाई पनि चोर डाँकाहरुबाट जीउधन जोगाउन मुस्किल परिरहेको छ ।
बजारक्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा कहाँ कतिवेला कसलाई के हुने भन्ने विषय सम्बन्धित सरोकारवालाहरु समक्ष पु¥याउँदासमेत कुनै उपाय नलागेको उनी बताउँछन् ।
यसैबीच तुलसीपुर उपमहानगरले भने दक्ष प्राविधिक र पर्याप्त बजेट नहुँदा विग्रिएका सिसी क्यामराको मर्मत सम्भारमा समस्या आएको बताएको छ ।
नयाँ आर्थिक वर्षमा यसको मर्मत सम्भारका लागि बजेट विनियोजित भएसँगै मर्मत गरिने तुलसीपुर उपमहानगरका समाज कल्याण अधिकृत टोप बहादुर डाँगीले बताए । आर्थिक अभाव र प्राविधिकको समस्या देखाउँदै उपमहानगरसमेत समस्या समाधानमा चुप रहेको छ ।
स्थानीयबासी, उद्यमी, व्यापारी तथा सरोकारवाला व्यक्तिहरुले मर्मत सम्भारका लागि अनुरोध गर्दासमेत यसको समाधान भने अझै हुन सकेको छैन । लामो समयसम्म अलपत्र अवस्थामा रहेका क्यामराहरुको मर्मतका लागि कुनै पनि निकायले ध्यान दिन नसक्दा तुलसीपुर बजारक्षेत्र असुरक्षित बन्दै गएको छ भने सुरक्षा निकायका सरोकारवाला र स्थानीयतहलाई नागरिकप्रति शान्ति सुरक्षाको विषय चुनौतिपूर्ण बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *