देउखुरी, १२ फागुन । अबको शिक्षा जीवन उपयोगी हुनुपर्ने शनिबार लमहीमा आयोजित एक कार्यक्रममा सहभागी भएका वक्ताहरुले बताएका छन् । साथै सहभागीले अबको शिक्षा भनेको बुझ्ने मात्र नभएर बुझाउने, गर्ने मात्र नभएर गराउने र जीवन बुझाउने शिक्षा हुनुपर्ने बताएका छन् ।
लमहीमा रहेको रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयले ‘अबको शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुले यस्तो बताएका हुन् । शनिबार लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवं निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार यादव गिरीले विद्यालयमा सिकाइने जुन शिक्षा विद्यार्थीको अनुहारमा देखिन्छ त्यो नै उत्कृष्ट शिक्षा भएको बताए । शिक्षक विद्यार्थीसँग भिज्नुपर्ने, शिक्षक विद्यार्थीको हरेक समस्यालाई आफ्नै सम्झिन सक्ने हुनुपर्ने, साथै विद्यार्थीका लागि सबै जिम्मेवारी दायित्ववोध गर्न सक्ने शिक्षक हुनुपर्ने पाठ्यक्रमले नै परिकल्पना गरेको समेत गिरीले बताए ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका अधिकांश शिक्षकहरुले शिक्षालाई रचनात्मक बनाएर शिक्षण सिकाइ गर्नुपर्ने बताएका थिए । शिक्षण सिकाइलाई रचनात्मक बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावक सबैको उत्तिकै महङ्खवपूर्ण भूमिका हुनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका छन् । विद्यार्थीका समस्या बुझ्ने मात्र शिक्षक भएको भन्दै शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ सहभागी शिक्षकले बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनय कुमार मिश्रको अध्यक्षता एवं निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार यादव गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढा, विक्रान्त ज्ञवाली, पूर्ण बहादुर ओली, रामसुरत यादवलगायतले व्यक्त गरेका थिए । विद्यालयका प्राध्यापक राजु यादवको विषय प्रवेश र सहप्राध्यापक बसन्त न्यौपानेको स्वागत रहेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण शिक्षक निमानन्द गैरेले गरेका थिए ।