मर्यादित बनोस् होली

सम्पादकीय

रङहरुको पर्व होली धुमधामले मनाइदैछ । नेपालको भौगोलिक विविधतालाई जोडेर हिमाली र पहाडी क्षेत्रमा एकदिन र तराई क्षेत्रमा अर्काे दिन होली मनाइन्छ । नेपालमा दुई दिन मनाइने होली पर्व हिजो हिमाली पहाडी जिल्लामा मनाइएको छ । भने आज तराईका जिल्लाहरुमा मनाइदै छ । फागु पूर्णिमाका दिन मनाइने होली रंगहरुको पर्व हो ।
एकआपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रङ दलेर होली मनाउने चलन परापूर्व देखिकै हो । होलीमा प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीको धार्मिक प्रसङ्ग जोडिएको पाइन्छ । होली पर्वलाई सहिष्णुता र मित्रताको प्रतीकको रुपमा लिइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा होली खेल्ने परम्परा छ । पछिल्लो समय यो पर्वमा गलत प्रचलनमा पुगेको देखिन्छ । त्यसकारण यो होली मर्यादित र सभ्य बनोस् ।
नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक हो । नेपालमा प्रायः हरेक महिना विभिन्न जाति र भाषाभाषीका विशेष चाडपर्वहरु हुन्छन् । विभिन्न समयमा मनाइने चाडपर्वले धार्मिक, साँस्कृतिक, भौतिक तथा वैज्ञानिक आधारहरु छन् । साँस्कृतिक रुपमा परापूर्व कालदेखि मनाइदै आएका चाडपर्वको आ–आफ्नै महत्व रहेको छ ।
होलीको पौराणिक कथाअनुसार यो पर्वको सुरुवात नै हिरण्यकश्यपको पालादेखि भएको मानिन्छ । सत्ययुगमा विष्णुले प्रह्लादलाई मार्न हिरण्यकश्यपले विभिन्न जालहरु बुन्दा पनि नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रह्लादलाई काखम लिएर आगोमा बस्न लगाउँदा प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्वको महत्व बढी जोडिएको छ ।
पछिल्लो समय होलीको नामा मर्यादा विपरीतका कार्यहरु मौलाउँदै गएका छन् भने धर्म, संस्कृतिलाई गलत रुपमा प्रयोग गरिने अवस्था आइरहनु राम्रो पक्ष हैन । होलीका नाममा विकृति र अराजकता पनि बढ्न थालेको छ, जसले संस्कृति जोगाउने भन्दा कुसंस्कारको विकास गराउने चिन्ता बढेको छ । यसतर्फ सबै सचेत हुनुपर्छ ।
सभ्य र अनुशासित होली खेल्ने कार्यलाई प्रोत्साहन दिदै होलीका नाममा राज्यले गतल क्रियाकलाप गर्नेलाई कानुनी दायरा ल्याउने सार्वजनिक त गरिसकेको छ । होलीलाई होलीकै रुपमा मनाउन अपिल पनि गरेको छ । होलीको उल्लासलाई बिर्सेर बिहानैबाट मदिरालगायत मादकपदार्थ सेवन गर्ने र अनावश्यक क्रियाकलाप बढी हँुदा होलीप्रतिको नकारात्मक बुझाइ बढी देखिन्छ ।
होली पर्व मनाउँदा जबरजस्तीभन्दा पनि सद्भावपूर्ण रुपमा रङ खेलेर शुभकामना आदानप्रदान गर्न जरुरी छ । सामाजिक सद्भाव खलबलाउने खालका क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गरी स्वच्छ र सद्भावपूर्ण एवम् मैत्रीपूर्ण व्यवहारमा होली मनाउनु पर्छ । सभ्य र भब्य बनाउँदै मर्यादित होलीको चिनारी दिनतर्फ सबै लाग्नु पर्छ । सबैमा होलीको शुभकाना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *