अन्धोपन सर्वेक्षण सुरु

मुख्य खबर समाज

दाङ, २१ साउन ।
दाङमा अन्धोपन सर्वेक्षणको सुरु भएको छ । नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यक्रम अनुसार लमही नगरपालिका वडा नम्बर ५ आदर्श टोलबाट अन्धोपनको सर्वेक्षण सुरु गरेको हो । यो सँगै देशमा पुनः तेस्रो पटक अन्धोपन सर्वेक्षण शुरु गरिएको छ । प्रदेश नम्बर ५ को दाङ र बाँकेमा एकैसाथ सर्वेक्षणको काम सुरु भएको हो । सर्वेक्षणमा तालिम प्राप्त नेत्र विशेषज्ञसहितको टोली परिचालन भएको छ । ५० बर्षभन्दा माथि उमेर समूहका महिला तथा पुरुषको आँखाको दृष्टि, लेन्स पर्दाको जाँच गर्नुका साथै मधुमेहका कारण आँखा स्वास्थ्यमा पर्न गएको असरको बारेमा तथ्याङ्क लिने, आँखा स्वास्थ्य समस्या भएर उपचारमा संलग्न हुन नसकेका बिरामीहरुलाई उपचारको लागि उत्पे्ररित गर्ने काम गरिने छ ।
आँखाका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराईने सर्वेक्षणमा खटेका लमही आँखा अस्पतालका नेत्र विशेषज्ञ सुरेश रसाइलीले जानकारी दिए । सन् २०२० सम्म उपचारबाट निको हुने अन्धोपनको समस्या हटाउन तथा दृष्टि सबैका लागि भन्ने नारालाई सार्थक पार्ने उद्देश्यले सर्वेक्षण गर्न थालिएको हो । नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यक्रम अनुसार अन्धोपनको सर्वेक्षणको काम सुरु गरिएको र पहिलो चरणमा प्रदेश नम्बर ५ बाट कामको थालनी गरिएको नेपाल नेत्रज्योति संघ दाङका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । फत्तेबाल आँखा अस्पताल बाँके, राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर र रण अम्बिका आँखा अस्पताल लुम्बिनीका १६ जना तालिम प्राप्त नेत्र अधिकृत तथा विशेषज्ञहरु खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *