Wednesday, March 27, 2024
Homeफिचरअन्तर्राष्ट्रिय अपाङ्ग दिवस

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

- Advertisement -spot_img

आज २८औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाईदैछ । अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार र उनीहरुको संरक्षणका लागि अन्तर्राष्ट्रियस्तरमा प्रत्येक वर्ष डिसेक्वर ३ मा यो दिवस मनाइन्छ । यस वर्ष पनि दिगो विकास लक्ष्य, अपाङ्गतामैत्री भविष्य मुल नाराका साथ मनाउन लागिएको यो दिवसका अवसरमा हामीले अपाङ्गताहरुको क्षेत्रमा रहेर काम गर्दै आएका अभियान्ताहरुसँग अपाङ्ग व्यक्तिहरुको अवस्था कस्तो छ ? चुनौतीहरु के–के छन् ? सरकारले उनीहरुका लागि कस्तो व्यवस्था गरेको छ ? उनीहरुको समस्याहरु कस्ता छन् ? भन्ने विषयमा रहेर प्रदेश टुडेको टुडे राउण्ड टेबलमा आलेख र कुराकानी समावेश गरेका छौं ।


अपाङ्गता भएका व्यक्ति र राज्यको दायित्व

विवेक खड्का

राष्ट्रिय जनगणना २०६८, अनुसार नेपालमा कुल जनसंख्याको झण्डै दुई प्रतिशत अर्थात् साढे पाँच लाख अपाङ्गता भएका व्यक्ति छन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिको वास्तविक तथ्याङ्क पत्ता लगाउन समस्या देखिएको छ । अर्कोतिर तथ्याङ्कमा समेटिएका बौद्धिक अपाङ्गता भएकाहरूका लागि राज्यले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिका अहम् विषय हुन आउँछ ।
नेपाल सरकारको परिभाषा अनुसार बौद्धिक अशक्तता (सिकाइ, तर्क गर्ने तथा समस्या समाधान गर्ने सीप क्षमतामा कमी) तथा दैनिक जीवनमा आवश्यक सामाजिक तथा व्यवहारिक सीपको कमी हुनाले आउने बाधा अथवा सीमितता नै बौद्धिक अपाङ्गता हो । सक्षिप्तमा भन्ने हो भने प्रायः सबैभन्दा ढिलो सिक्ने सबैभन्दा छिटो बिर्सने गुण भएका बौद्धिक अपाङ्ता भएका व्यक्ति हुन् ।
नेपालको संविधानले शारीरिक अस्वस्थता, अपाङ्गता, स्वास्थ्य स्थिति वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न नपाइने, सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका, अपाङ्गता भएका व्यक्तिलगायतका नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गरेएको छ ।
त्यसैगरी अपाङ्गता भएकाहरूका लागि निःशुल्क उच्च शिक्षा पाउने हक हुने, दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा तथा स्वर बोलाईसम्बन्धी अपाङ्गता भएकालाई साङ्केतिक भाषाको माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुने,
सामाजिक रूपले पछाडि परेका अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागी हुन पाउने सामाजिक न्यायको हक हुने, आर्थिक रूपमा विपन्न, अशक्त र असहाय अवस्थामा रहेका अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी उक्त संविधामा अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने,
अपाङ्गता भएका व्यक्तिसमेतको हक अधिकारको संरक्षण, सशक्तीकरण, विकास र समृद्धिका लागि संवैधानिक आयोगको रूपमा राष्ट्रिय समावेशी आयोगको व्यवस्थालगायतका प्रावधान संविधानमा समेटिएका छन् । नेपालमा बौद्धिक अपाङ्गताको सवाललाई सामाजिक र अधिकारका दृष्टिले हेर्ने परम्परा बसेको छैन ।
स्वयम् बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकले पनि यो समस्या रोग अथवा मानसिक समस्या वा बौद्धिक अवस्था के हो ? स्पष्ट छुट्याउन सक्दैनन् । उनीहरूको अधिकारको लागि तेस्रो व्यक्तिले बोलिदिनुपर्छ । अपाङ्गतासम्बन्धी विभिन्न संघ संस्थामा आवद्ध नभएका र विपन्न समुदायमा रहेका अपाङ्ता भएका व्यक्ति अझै पनि राज्यले उनीहरूलाई प्रदान गरेका विभिन्न सेवा, सुविधा र अवसरबाट वञ्चित छन् । उनीहरू अपाङ्गताको परिचयपत्र पाउनबाट समेत वञ्चित छन् ।
आफ्नो अधिकारका लागि अभिभावकको साथ र सहयोग अनिवार्य हुन्छ तर अभिभावकको आर्थिक अवस्था, चेतनाजस्ता करण अपाङ्गता भएका कतिपय व्यक्ति आफ्नै परिवारभित्रै अपमानित हुन्छन् ।
अधिकारभन्दा पनि सामान्य जीवनयापनका लागि परिवारले चाहेर पनि उनीहरूलाई पर्याप्त समय र स्रोेत व्यवस्थापन गर्न सक्दैन । दैनिक हेरचाहमा एकजना अभिभावक अनिवार्य हुनैपर्ने आवश्यक हुने अपाङ्गता भएका व्यक्तिलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुने परिवारले कसरी उचित व्यवस्थापन गर्न सक्छ ?
जीवन गुजाराको लागि कमाउन जानैपर्ने अवस्थाका बौद्धिक अपाङ्गता भएका, श्रवण–दृष्टिविहीन, डाउन सिन्ड्रोम, सिपी, अटिज्मलगायतका अपाङ्गता भएका व्यक्ति सहयोगीको अनुपस्थितिमा अमानवीय अवस्थाबाट गुज्रनुपरेका घटना हामीसँग छन् ।
अपाङ्गता भएका कतिपय महिला यौन हिंसामा परेका छन् । एकातिर सुस्त चेतना, शारीरिक असक्षमता र बोध अनुभूति गर्न नसक्ने, आफ्ना समस्या राख्न नसक्ने भएकाले पनि शारीरिक अपाङ्गता भएकाभन्दा बौद्धिक अपाङ्गता भएका बढी संवेदनशील हुन्छन् । अर्कोतिर यस्ता अपाङ्गता भएकाहरूको अन्तरनिहीत क्षमता पहिचान गर्न पनि समस्या हुनेगर्छ ।
बालबालिकाका लागि अपाङ्गता अनुकूलको पाठ्यक्रम, सिकाइ प्रविधि, दक्ष जनशक्ति, शिक्षक, तालिमको अभावमा ती स्रोतकेन्द्र उपलब्धिविहीन जस्तै बनेका छन् ।
बौद्धिक अपाङ्गता, अटिज्म, डाउन सिन्ड्रम, सेलेब्रल प्लासी, मनोसामाजिक अपाङ्गता, हिमोफेलियाजस्ता अपाङ्गता भएका राज्यको नजरबाट बाहिर छन् । बौद्धिक अपाङ्गता भएकालाई परिवार र समाजले बोझका रूपमा लिने र उनीहरूका विशेष आवश्यकता तथा अधिकारप्रति संवेदनशील हुन नसक्ने प्रवृत्तिले समाजमा अपाङ्गतालाई अभिशापका रूपमा लिने गरिएको छ ।
मुलुकले नयाँ संविधान पाएको छ, जसमा अपाङ्गता भएका व्यक्तिका केही मुद्दा तथा अधिकार समेटिएका छन् । जसको कार्यान्वयनमा जोड दिनुपर्छ । संस्थागत संरचनाभन्दा बाहिर रहेका अपाङ्गता भएकालाई राज्यले प्रदान गरेका सेवा तथा सुविधा उपयोग गर्ने वातावरण निर्माण गरिदिनुपर्छ र अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहजता ल्याउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।
समाजमा अपाङ्गता भएकाहरूको शिक्षा स्वास्थ्य, रोजगार र राजनीति क्षेत्रमा पहुँच पु¥याउन राज्य नै सहयोगी बन्नुपर्छ । उनीहरूको संरक्षण गर्ने दायित्व राज्यको हो राज्य नै अपाङ्गता भएका व्यक्तिको वास्तविक अभिभावक हो भन्ने प्रमाणित गर्न पनि आगामी दिनमा धेरै पहल गर्न बाँकी छ ।


कानुनी आधार अपर्याप्तता

बसन्त भट्ट

आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, ¥यालीहरू आयोजना गरिन्छ ।
अपाङ्गता भएका ब्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यममार्फत् अवलोकन र श्रवण गर्ने गर्दछन् । भने अर्कोतर्फ अपाङ्गतामैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ ।
नेपाल सरकारलगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गताका लागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र ब्यवस्था जरूरी हुन्छ,
सबैको ध्यान यसतर्फ पुग्न जरूरी छ । प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गतामैत्री शिक्षा जस्तैः व्रेललिपि अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवतजावत गर्न अपाङ्गतामैत्री संरचना जरूरी छ ।
अपाङ्गता भएका साथीहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्नसके उहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्दछ ।
तर नेपालमा अपाङ्गता भएका नागरिक समाजका सबैभन्दा पछाडी परेका छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरू रहेका छन् । दुर्घटना, रोगव्याधी, जथाभावी औषधिको सेवन,
जन्मजातको कारण, जनचेतनाको कमीलगायत विभिन्न कारणले अपाङ्गता हुने गरेको र महिलाको तुलनामा पुरूषको संख्या बढिरहेको छ । अपाङ्गता भएका ब्यक्तिहरूको हकअधिकार संरक्षण र प्रवद्र्धन गर्नको लागि कानुनी आधारहरू पर्याप्त छैन भन्दा पनि हुन्छ । भएका कानुन पनि ब्यवहारमा लागू छैनन् ।
नेपालमा सर्वप्रथम अपाङ्गहरूको क्षेत्रमा काम गर्न २०२५ सालमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष श्री ५ अधिराजकुमारी प्रिन्सेप शाहको सरंक्षकत्व र खगेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा नेपाल अपाङ्ग अन्ध संघ नवजीवन गृहको स्थापना भएको हो ।
त्यस समयमा संघको कार्यालय बानेश्वरमा घरमा भाँडा लिएर सञ्चालन गरिएको थियो । समाज सेवाको क्षेत्रमा निस्वार्थ भावले लागी सबैले सधै सम्झनायोग्य स्व.खगेन्द्र बहादुर बस्नेतलाई लिन सकिन्छ ।
उनले समाजमा अभिशापपूर्ण जीवन ब्ययतित गरिरहेका अपाङ्गहरूमा आत्मसम्मान जगाउन मात्र सफल भएनन् प्रत्येक व्यक्तिको मनमा मानिस भएपछि केही गर्नुपर्छ भन्ने पाठ सिकाउन समेत सक्षम भए ।
नेपाल अपाङ्ग संघको स्थापनाको परिकल्पना स्व. खगेन्द्रबहादुर बस्नेतबाट भएको हो । उनले गरेका निःस्वार्थ कार्यहरू आज समाज, राष्ट्र र सचेत नागरिक सबैका लागि मार्गदर्शक बनेको छ ।
अहिले अपाङ्ग संघको काठमाडौँ, झापा, जनकपुर, दाङ, बाँके र धनगढीमा शाखा सञ्चालनमा छन् भने जोरपाटीमा केन्द्रीय कार्यालय र नेपाल अपाङ्ग संघका अथ्र्रोपेडिक अस्पताल रहेको छ । स्व.खगेन्द्र बहादुर बस्नेतको सम्मानार्थ राज्यले राष्ट्रिय खगेन्द्र अपाङ्ग सेवा पुरस्कारको स्थापना गरिदिएको छ ।
स्व.खगेन्द्रबहादुर बस्नेतको जन्म वि.सं. १९८५ साल माघ ५ गते कर्नेल इन्द्रबहादुर बस्नेत र बेदराज कुमारीका माइला सन्तानका रूपमा जन्मिएका थिए । सानै उमेरदेखि अति मिलनसार, सरल मिजास र उदार स्वभावका खगेन्द्रबहादुर बस्नेत सबैका लागि प्रशंसाका पात्र थिए ।
सानै उमेरदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाको संगत पाएका खगेन्द्रबहादुर बस्नेत साहित्य, दर्शन र खेलकुदमा उत्तिकै अभिरूची राख्दथे । खगेन्द्रबहादुर बस्नेतले २००२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि त्रिचन्द्र कलेजबाट प्रमाणपत्र तह पूरा गरे ।
त्यसपछि कृषि विषयमा स्नातक गर्न भारतको इलाहबाद पुगे । खेलकुदमा सक्रिय २२ वषीय खगेन्द्रबहादुर बस्नेतलाई विस्तारै शारीरिक पीडा पैदा हुन थाल्यो । रोगको पहिचान नभएपछि अन्त्यमा घर फर्केर बसेपछि २००८ सालमा उनको कम्मरदेखि तलको भाग पूणरूपमा नचल्ने भयो ।
खगेन्द्रबहादुर बस्नेतको मनमा अपाङ्गहरूको हक, हितका लागि एउटा संस्थाको अभाव खड्किरहेको थियो । एउट उचित आश्रय निर्माण गरी अपाङ्गहरूलाई रोजगारमूलक सीप दिई सम्मानपूवक बाँच्न दिने वातावरण सिर्जना गर्न उनी दिनरात लागि रहे ।
उनको निरन्तर प्रयासको फलस्वरूप संघको उद्देश्यलाई बुझी आवश्यक सहयोग गर्ने क्रममा कृष्ण शम्सेर तथा श्री ५ अधिराजकुमारी तारा राज्यलक्ष्मीदेवी राणाबाट आफ्नो दिवगंत अपाङ्ग छोरीको सम्झनामा एक लाख प्रदान भयो ।
यसरी आर्थिक सहयोगसमेत प्राप्त भएपछि २०२६ सालमा नवजीवन गृहले अपाङ्ग पुरूषहरूको लागि आवासीय व्यस्थाको सुरूवात ग¥यो । यसलाई विस्तार गर्ने क्रममा महिलाहरूका लागि अर्को घर भाडामा लिई २०३१ सालदेखि आवास व्यवस्थाको समेत सुरूवात भएको हो ।
संस्थाको प्रारम्भिक चरणमा स्वास्थ्य मन्त्रालयले थप आर्थिक सहयोग प्रदान गर्न थाल्यो । सो क्रममा नेपालका अपाङ्गहरूका लागि शिक्षा, स्वास्थ्य र व्यवसायिक तालिमको आवश्यकता महसुस गरी नयाँ शिक्षा नियमावली २०२८ अनुरूप विशेष शिक्षा परिषद् गठन गरियो ।
२०३० सालदेखि कार्यान्वयनमा आएको विशेष शिक्षा परिषद्अन्तर्गत अपाङ्गहरूलाई शैक्षिक, व्यवसायिक तालिम प्रदान गर्न थालियो । देशका धेरै भागबाट नेपाल अपाङ्ग संघमा भर्ना हुनेहरूको क्रम बढ्दै गयो । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको प्रचारप्रचार हुन थाल्यो ।
अन्तर्राष्ट्रियस्तरमा जापानमा पहिलो पटक आयोजित अपाङ्गहरूको एशिया फेसिपिक गेममा नेपालले सहभागी हुने मौका प्राप्त ग¥यो । संघले आफ्ना प्रशिक्षित अपाङ्गहरूलाई सो खेलमा सहभागी गराई अभूतपूर्व सफलता हासिल ग¥यो ।
अपाङ्गहरूले विदेशमा समेत राष्ट्रको गौरव बढाएपछि उनीहरूको सबैका लागि चासोको विषय बन्न पुगे । सोही क्रममा शाही परिवारबाट सो खेलमा संलग्न खेलाडीहरूसहित संघका अध्यक्ष बस्नेत र प्रो गणेशराज सिंहलाई दर्शन भेट भयो ।
भेटको अवसरमा अध्यक्ष बस्नेतले राष्ट्रको गौरव र इज्जत राखेर फर्केका अपाङगहरूको आफ्नो आश्रय नभएको जानकारी गराए । उनको अनुरोधलाई स्वीकार गरी संघ आफैले खरिद गरेरको ५६ रोपनी जग्गामा भवन निर्माणको जिम्मा दरबारले लियो । जोरपाटीस्थित नारायणटारमा त्यो बेला ३ लाखमा जग्गा खरिद गरिएको थियो ।
संघको भवन निर्माण भएपछि अध्यक्ष बस्नेतको पहलमा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त हुन थाल्यो । सन् १९७६ मा एक अन्तर्राष्ट्रिय संस्थाका संस्थापक विश्व प्रसिद्ध समाजसेजक समूह क्याप्टेन लियो नार्द चेसायरसँग भेट भएपछि अध्यक्ष बस्नेतले आवश्यक सहयोगका लागि अनुरोध गरे ।
सो समूहले १९८३ मा चेसायर गृहको स्थापना गरिदियो । सो गृहबाट अति अशक्त अपाङ्गहरूले सेवा प्राप्त गरी रहेका छन् । १५ वर्षमाथिका अपाङ्गहरूका निमित्त सञ्चालित सो गृहमा ३२ बेडको क्षमता रहेको छ । जसमध्ये अति अशक्तका लागि २५ प्रतिशत र अन्यका लागि ७५ प्रतिशत सिट छुट्याइएको छ ।
त्यसैगरी विश्वका टुहुरा, अनाथ बालबालिकाको सेवामा जुटेको विश्व प्रसिद्ध संस्था एसओएस बालग्रामका संस्थापक डा. हरमन माइनर नेपाल भ्रमणमा रहदा अध्यक्ष बस्नेतले भेट गरी उहाँबाट समेत सहयोग प्राप्त गर्नुभयो ।
सो संस्थाबाट प्राप्त सहयोगबाट आहिले सयौं अपाङ्गहरूले नवजीवन केन्द्र हाताभित्र भौतिक चिकित्सा सेवा, शिक्षा एवं व्यवसायिक तालिम प्राप्त गरिरहेका छन् ।
शारीरिक अशक्तताका बावजुद अध्यक्ष बस्नेत हरेक क्षेत्रमा कर्मठ व्यक्ति थिए । मन, बचन र कर्मले समाजसेवामा लागेका बस्नेतले आफ्नो सम्पूर्ण सम्पत्ति अपाङ्गहरूकै हकहितका लागि समर्पण गरे ।
अविवाहित बस्नेतले देशका समग्र अपाङ्गहरूलाई नै आफ्नो सन्तानको रूपमा स्थापित गरे । अति अशक्त भएर पनि उनमा रहेको लगनशीलता र साहसप्रति दरबारको समेत चासो रहन्थ्यो । यसरी नेपाल अपाङ्ग संघको संस्थापक अध्यक्ष तथा सम्पूर्ण अपाङ्गहरूको आस्थाका प्रतिक खगेन्द्र बहादुर बस्नेतको २०३४ साल पुस १ गते निधन भयो ।
उनको निधनपश्चात् उहाँको स्मानार्थ नेपाल अपाङ्ग संघमा उहाँको नाम जोडी नेपाल अपाङ् संघ खगेन्द्र नवजीवन केन्द्र राखिएको छ । स्व. खगेन्द्रले आफ्नो जीवन समयमा अपाङ्गहरूका लािग जुटाइ दिनुभएको गाँस, बास र कपासबाटै आज हजारांै अपाङ्गहरू आत्मगौरवका साथ जीवनयापन गरिरहेका छन् ।
अपाङ्गता भएकाहरूलाई माया, सद्भाव, समान हेराई अनि हौसलाको खाँचो छ । उहाँहरूको आत्मविश्वास सदैव कायम रहोस् अनि सिर्जनात्मक अनि संरचनात्मक कार्यमा उहाँहरूको निरन्तर अर्थपूर्ण सहभागिता होस् ।
आफ्नो जीवनयापनका लागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ । सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थाहरूको पनि अपाङ्गता भएका साथीहरूको जीवनयापन सीप र आम्दानीको सिर्जना गर्नेतर्फ ध्यान दिन पर्दछ ।
(लेखकः नेपाल अपाङ्ग संघ घोराहीका कोषाध्यक्ष हुन् ।)


अपाङ्ग नीति छ, कार्यान्वयन छैन

प्रतिमा शर्मा

सरकारले हरेक अपाङ्गहरूका लागि विभिन्न नीतिहरू निर्माण गरेको छ । नेपालको संविधान २०७२ मा अपाङ्गताको आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न, सेवा सुविधा र अवसरबाट बञ्चित गर्न नपाइने र अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशिताको आधारमा उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सरकारले पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकारका लागि झण्डै ३७ वटा ऐनहरू निर्माण गरी उनीहरूका सेवा सुविधाहरूसमेत उल्लेख गरेको छ ।
सरकारद्वारा अपाङ्गहरूका लागि विभिन्न ऐन तथा नीतिहरू निर्माण गरेपनि अहिलेसम्म उनीहरूको अवस्था र व्यवस्था अनुसार कुनै पनि नीति तथा कार्यक्रमहरूप्रति सरकारले चासो दिन सकेको छैन । शारीरिक रूपमा अशक्त भएकै कारण समाजले हेर्ने दृष्टिकोण, उनीहरूमाथि पर्ने सामाजिक, मानसिक, आर्थिक, भौतिक र संवेगात्मक असरहरूलाई मध्यनजर गर्दै बनाइएका नीति तथा कानुनहरू कार्यान्वयनमा आउन नसक्दा अहिले पनि अपाङ्गहरूको अवस्था दयनीय छ ।
प्रत्येक वर्ष डिसेम्वर ३ मा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइने गरेको भएपनि अपाङ्ग व्यक्तिहरूको पहँुचमा यस्ता कार्यक्रमहरू पुग्न सकेका छनैनन् । विशेषगरी दृष्टिविहीन र बहिरा व्यक्तिहरू आफू अपाङ्ग भएकै कारण अहिले पनि समाजमा मानसिक र सामाजिक यातना झेल्नु पर्ने अवस्था रहेको छ ।
दृष्टिविहीन व्यक्तिहरू आँखा नदेख्ने भएकै कारण घरपरिवारबाट अपहेलित बन्नुपरेको छ । त्यसैगरी बोल्न र सुन्न नसक्ने बहिरा व्यक्तिहरू अझ बढी कष्ट र पीडा झेलिरहेका छन् । न उनीहरू परिवारबाट माया, साथ, सहयोग र उत्प्रेरणा पाउन सकेका छन्, न हुनै अवसरहरू ?
बहिरा व्यक्तिहरू बोल्न र सुन्न नसक्ने हुँदा समाजले विभिन्न किसिमका नाम र उपनामबाट बोलाउने, लाटो भन्दै गिज्याउने, पिट्ने, बेवास्ता गर्ने जस्ता दुव्र्यवहार सहनुपर्ने अवस्था अहिले पनि यथावत नै छ । सरकारले बहिरा व्यक्तिहरूका लागि दोभाषे र सञ्चारको व्यवस्था गर्ने, दृष्टिविहीनहरूका लागि ब्रेललिपिको व्यवस्था गर्ने,
अन्य व्यक्तिहरूलाई सोही अनुसारका आवश्यकता परिपूर्ति गर्ने नीति निर्माण गरेको वर्षौँ भइसक्यो । तर अहिलेसम्म कुनै पनि अपाङ्ग व्यक्तिहरूले उनीहरूको आवश्यकता अनुसार सेवा सुविधा पाउन सकेका छैनन् ।
सरकारका उच्च पदस्थका व्यक्तिहरूले अपाङ्गहरूका लागि विभिन्न भाषण र आश्वासन बारम्बार दिने गर्दछन् तर उनीहरूको बास्तविक समस्या, आवश्यकता, ईच्छा, चाहना बुझ्न भने चाहदैनन् । के उनीहरू समाजका कुनै हिस्सा होइनन् ? उनीहरूप्रति सरकारको कुनै दायित्व छैन ? कार्यान्वयन नहुने नीति किन निर्माण गरिन्छन् ? किन आश्वासन दिदै अपाङ्गहरूलाई अपहेलना गर्ने गरिन्छ ?
सरकारले सर्वप्रथम कुनै पनि अपाङ्गता भएका व्यक्तिहरूको पारिवारीक आर्थिक अवस्था कस्तो छ भनी प्रत्यक्ष रूपमा बुझ्न जरूरी छ । यस्तै बहिरा व्यक्तिहरूका लागि सर्वप्रथम सञ्चार र दोभाषेको आवश्यकता हुन्छ ।
यसप्रति सरकारले विशेष ध्यान दिन आवश्यक छ । त्यसैगरी उनीहरूको दोस्रो आवश्यकता भनेको शिक्षा हो । त्यस्तै तेस्रोमा रोजगार । उनीहरूको ज्ञान, सिप र क्षमताका आधारमा सरकारले उनीहरूलाई अनिवार्य रूपमा रोजगारको व्यवस्था गर्न जरूरी छ ।
अपाङ्गहरू हेर्दा हट्टाकट्टा भएपनि उनीहरूका समस्या धेरै हुन्छन् । अपाङ्ग भएकै कारण परिवारले शिक्षा, स्वास्थ्यबाट टाढा राखेर काममा लगाउने, समाजमा स्वतन्त्र भएर हिड्डुल गर्न नदिने, घर कुरूवा बनाउने, उनीहरूका समस्या, ईच्छा, आवश्यकताहरू बुझ्न नचाहने, काममै लगाउने, उनीहरू प्रति कुनै चासो नदिनेजस्ता व्यवहार देखाउने गर्दछन् ।
अपाङ्ग व्यक्तिहरूलाई न परिवारको माया मिल्न सकेको छ, न सरकारले प्रदान गर्नुपर्ने सेवा सुविधा । यसर्थ सरकारले हरेक अपाङ्ग भएका व्यक्तिहरूका लागि नीति निर्माण गर्ने मात्र होइन । यसलाई कार्यान्वयनमा ल्याई हरेक क्षेत्रलाई अपाङ्गमैत्री बनाउन जरूरी छ । यसका लागि यहाँका सम्बन्धित निकायका सबै सरोकारालाहरूले समेत ध्यान दिन जरूरी छ ।
(शर्मा राप्ती बहिरा संघ दाङकी
कार्यकारी निर्देशक हुन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here