अनुदान रकम फराकिलो बनाइनुपर्ने

मुख्य खबर समाज

तुलसीपुर, ९ जेठ । सरकारले माहुरीपालक किसानहरुलाई प्रदान गर्ने अनुदान फराकिलो हुन नसकेको गुनासो गरेका छन् । माहुरीपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गए पनि अनुदान साँघुरो हुने गरेको उनीहरुले बताएका छन् ।
व्यवसायलाई दीर्घकालिन बनाउन सरकारले अनुदानको लगानीलाई फराकिलो बनाउनुपर्ने माहुरीपालन महासंघका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । ‘सरकारले माहुरीपालक किसानलाई अनुदान त दिन्छ तर सीमित कोटा मात्र हुँदा सबै किसानसम्म अनुदान पुग्न सकेको छैन्’ उनले भने ।
माहुरीपालनबाट पनि कृषकहरुको भविष्य बलियो हुने भएको भन्दै उनीहरुले यसका लागि सरकारी अनुदान बलियो र फराकिलो हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार तुलसीपुरमा आयोजित कार्यक्रममा मह पनि आर्थिक समृद्धि हुने एक आधार भएकोले माहुरीपालन व्यवसायमा किसानलाई सरकारले निराशाभन्दा पनि आशाको मार्गमा लैजानुपर्ने बताए । कार्यक्रममा मौरीपालन महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोद हमालले लगनशीलता र मेहनत मात्र खर्चिएर नहुने बताउँदै माहुरीपालक किसानहरुले सरकारले यसमा विशेष ध्यान दिन आवश्यक भएको बताए ।
‘समाजमा माहुरीपालनको माध्यमबाट स्थापित हुन निकै चुनौती, यसका लागि हामीहरु सरकारसँग बारम्बार जुधिरहनु पर्ने अवस्था रहिआएको छ ।’ उनले भने ‘स्थानीय सरकार र जनप्रतिनिधिहरुले आश्वासन दिने तर चासो नदिने जस्ता व्यवहारले माहुरीपालक किसानहरु निरास हुनु परेको छ ।’
यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको विशाल माहुरी फर्मले बुधबार सार्वजनिक सुनुवाई गरेको छ । फर्मले गरेको लगानी र कृषि ज्ञान केन्द्रबाट प्राप्त अनुदानको खर्च विवरणको सार्वजनिक सुनुवाई गरेको हो ।
फर्मका सञ्चालक चेतमान भण्डारीको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा विशाल माहुरी फर्मका सञ्चालक भण्डारीले आफ्नो २ लाख ४९ हजार ५ सय र सरकारबाट प्राप्त अनुदान २ लाख गरी ४ लाख ४९ हजार ५ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मौरीपालन महासंघका अध्यक्ष विष्णुराज श्रेष्ठ, कोषाध्यक्ष भिमकान्त देवकोटा, मौरीपालन महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोद हमाल,
संजीवनी माहुरी फर्मका सञ्चालक नारायणप्रसाद पौडेललगायतले माहुरीपालन व्यवसाय बढ्दै गए पनि सरकारको अनुदान फराकिलो बन्न नसकेको बताए । कार्यक्रमको सहजीकरण धनबहादुर ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *