घोराही, २८ मसिर । जिल्लामा सञ्चालन भएका क्रसरको अनुमगन गरिने भएको छ । गत वर्ष पनि जिल्ला समन्वय समितिले क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै उद्योग मापदण्ड विपरीत सञ्चालन भएको फेला पारेको थियो । जिल्लामा झण्डै ३० वटा क्रसर उद्योग सञ्चालनमा छन् ।
‘उद्योगहरुको अनुगमन गर्ने निर्णय भएको छ’ जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘कानून बमोजिम नभए कारवाही हुन्छ ।’ उनका अनुसार अब केही सयममा अनुगमनको काम हुन्छ । त्यसैगरेर बैठकले अवैध रुपमा संकलन गरेर राखेको नदीजन्य पदार्थको लिलाम बिक्रीको लागि स्थानीयतहलाई जिम्मा लगाउने निर्णय गरेको छ । ‘स्थानीयतहले कानूनी प्रक्रियामा ल्याएर संकलन गरेका नदीजन्य पदार्थको लिलाम गर्ने बैठकले निर्णय गरेको छ’ जिल्ला समन्वय समितिका अधिकृत बासुदेव आचार्यले भने । बैठकमा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिले नदीजन्य पदार्थको अभावको कारण विकास निर्माणको काममा समस्या भएको गुनासो गरेका थिए । चालु आर्थिक वर्षको दोस्रो चौमासिक शुरु भएपनि विकास निर्माणको काम सुस्त नै छ । विकास निर्माणको काम अघि बढ्न नसकेपछि नागरिकबाट स्थानीय सरकारको आलोचना समेत शुरु भएको छ । बैठकमा स्थानीयतका प्रमुखहरुले नदीजन्य पदार्थको उत्खनन्मा जेसीवि प्रयोग गर्न पाउने आवाजसमेत उठाएका थिए । बैठकले तुलसीपुरको बेलझुण्डीमा निर्माणाधिन खेलकुदको पूर्वाधारको लागि प्रारम्भिक वातावरण मूल्यांकन गरेको खोलाबाट जेसीवि लगाएर कच्चा पदार्थ ल्याउन अनुमतिसमेत दिएको छ । बैठक जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, घोराही, तुलसीपुर उपमहानगरपालिका प्रमुख र अन्य गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता थियो ।